0
चितवन निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका लागि नेपाली सेना र निकुञ्ज प्रशासनले बेलाबेलामा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । स्मार्ट, पैदल, हवाई तथा सवारी गस्ती सञ्चालन गरेको निकुञ्जले यो पटक ‘रियल टाइम गस्ती’ सञ्चालन गरेको छ । निकुञ्जको संरक्षणलाई चुस्त पार्न नयाँ प्रविधिसहितको गस्ती सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँबरले जानकारी दिए । अहिलेको गस्तीमा भने कुनै पनि कर्मचारी वा सेनाले छल्न सक्दैनन् उनले भने । “कहीँकतै गस्ती गएको भनेर बस्ने, अन्तै जाने हुन सक्छ, अहिले सुरु भएको यो गस्तीमा भने त्यस्तो गर्न सकिँदैन”कुँवरले भने– “गस्तीमा निस्किएको व्यक्ति कहाँ छ, के गर्दै छ भन्ने कुरा सबै गुगल अर्थमार्फत आइपुग्छ । प्रत्यक्ष हेर्न सकिन्छ ।” रेडियो सेटमार्फत वास्तविक र तत्कालै भइरहेको गस्तीबारे जानकारी लिन सकिने भएकाले यसलाई रियल टाइम गस्ती भनिएको उनले जानकारी दिए । अहिले जुनसुकै कुनाबाट पनि इन्टरनेट भएपछि गुगल अर्थबाटै गस्तीबारे सबै जानकारी दिन सकिनेछ । गस्तीमा निस्किएको व्यक्ति कहाँ छ, उसले कुनकुन क्षेत्र घुम्यो, कति किमी हिँड्यो भन्ने कुरा रेडियो सेटमार्फत जानकारी आउँछ । उक्त जानकारी गुगल अर्थबाट सजिलै हेर्न सकिनेछ । तस्कालै तस्बिर समेत खिचेर पठाउन सकिने उक्त प्रविधि छ । यो प्रविधि नेपाली सेनाले भित्र्याएको हो ।
 
सेनामार्फत निकुञ्जमा ल्याइएको यस्तो प्रविधि निकुञ्ज क्षेत्रमै पहिलो भएको दाबी प्रमुख संरक्षण अधिकृत कुँवरले दाबी गरे । यसअघि यहाँ स्मार्ट गस्ती कार्यक्रम चलाइएको थियो । निकुञ्जको कुनकुन क्षेत्रमा कतिजना गस्तीमा हिँडेका छन् भनेरसमेत गुगल अर्थबाट जानकारी पाउने भएकाले संरक्षण कार्यलाई प्रभावकारी बनाउन यो गस्ती सहयोगी हुने निकुञ्जको विश्वास छ । निकुञ्जले गएको तीन पटकसम्म शून्य चोरी सिकार वर्ष बनाइसकेकाले त्यसलाई कायम राख्न चुनौती भइरहेका बेला यो नयाँ कार्यक्रम सञ्चालन गरेको हो । चितवन निकुञ्ज संरक्षित  वन्यजन्तुको प्रमुख बासस्थान हो । यहाँ बाघ, गैँडा, हात्ती, गोही, भालुलगायत जनावर छन् ।    विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा पाउनेमध्ये दोस्रो स्थानमा चितवन राष्ट्रिय निकुञ्ज पर्छ । भारतको काजिरङ्गा पहिलो हो । चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छ भने काजिङ्गामा दुई हजार ५५२ गैँडा छ । रासस



Post a Comment

 
Top