0
गोल्डेन न्यूज संवाददाता
पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न होटल क्षेत्रको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले बिहीबारबाट पोखरामा सुरु भएको पाँच दिने आधारभूत टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेण्ट तालिम सोमबार सम्पन्न भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले तालिममा सहभागी ७५ जनाको प्रमाणपत्र एकमुष्ट होटल प्रतिनिधि समाजका अध्यक्ष दीपेन्द्र पहारीलाई हस्तान्तरण गरेका थिए । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा सिटीईभीटी अन्तर्गतको पोखरा स्कूल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेण्टको सहकार्यमा तालिम भएको हो । होटल प्रतिनिधि समाजले तालिमलाई सघाएको थियो । तालिममा होटलका व्यवस्थापक, कर्मचारी र मजदूरको सहभागिता रहेको थियो । पोखरा स्कुल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेण्टका प्रमुख हर्कलाल श्रेष्ठले यसप्रकारका तालिम आयोजना गर्न आगामी दिनमा पनि आफ्नो संस्थाले सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । तालिम अवधिभर सहभागीलाई पर्यटन जागरण, पर्यटन उद्योग, संचार दक्षता, अतिथिको आशा, कामदारको सकारात्मक सोचाई, पर्यटकको महत्व र पर्यटकलाई कसरी सकारात्मक रुपमा प्रभावित पार्ने लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
 
सो अवसरमा बोल्दै प्रजिअ राउतले तालिम भन्ने वित्तिकै ज्ञान, सीप र स्वभावको कुराले बढी प्राथमिकता पाउने बताउँदै सोही अनुसार सहभागीहरुले सिकाई प्राप्त गरेको विश्वास व्यक्त गरे । उनले होटल क्षेत्रमा ठूलो लगानी रहेको स्मरण गर्दै अहिलेको इन्धन अभावमा व्यवसायीले भोग्नुपरेको अफ्ठ्यारो प्रति आफू चिन्तित रहेको बताए । पर्यटक कम आएको अवस्थाले व्यवसायी हतोत्सायी जस्तो देखिएको आफूले कतिपय कार्यक्रममा पाएको बताउँदै उनले आसावादी भएर दृढताका साथ अगाडि बढ्न आग्रह गरे । सो अवसरमा संघका अध्यक्ष भरतराज पराजुलीले होटल क्षेत्रमा इन्धन अभावले ठूलो समस्या निम्तिएको बताउँदै अर्वांैको लगानी जोगाउन पनि सरकार गम्भीर बन्नुपर्ने भनाई राखे । सन् २०१५ पर्यटन क्षेत्रका लागि दुर्भाग्यको वर्ष रहेको भनाई पनि उनले राखे । संघका सल्लाहकार लक्ष्मीबहादुर भट्टराईले होटल क्षेत्रलाई उद्योग सरहको सुविधा दिन माग गरे । संघका अर्का सल्लाहकार मेहरमान श्रेष्ठले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागीसँग आग्रह गरे । सो अवसरमा संघका प्रथम उपाध्यक्ष विकल तुलाचन, होटल प्रतिनिधि समाजका अध्यक्ष दिपेन्द्र पहारी र संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले पनि भनाई राखेका थिए । 



Post a Comment

 
Top