0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रपति डा रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराए । व्यवस्थापिका–संसद्को आइतबार भएको निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । उनी नेपालको संविधान जारी भएपछि प्रधानमन्त्री पदमा आशिन हुने पहिलो प्रधानमन्त्री भएका छन् ।       सोही समारोहमा राष्ट्रपति डा यादवले नवनिर्वाचित प्रधानमन्त्री ओलीको समुपस्थितिमा कमल थापा र विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त उपप्रधानमन्त्री थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष हुन् भने गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष हुन् ।
यसैबीच नवगठित मन्त्रि परिषद्मा मन्त्रालयको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कमल थापालाई उपप्रधान सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । विजय गच्छदारले उपप्रधान मन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्रीको जिम्मेवारी पाएका छन् । मंगलबार नैै सपथ खाएका हरिबोल गजुरेललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, सोमप्रसाद पाण्डेलाई उद्योग र अग्नी खरेललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । रामकुमार सुब्बा र सत्यनारायण मण्डलले जिम्मेवारी पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन् । प्रधानमन्त्रीसहित दुई उपप्रधान र ५ मन्त्रीले राष्ट्रपति रामवरण यादव समक्ष सपथ ग्रहण गरेका हुन् । ओली नेतृत्वको मन्त्री मण्डलमा थापा र गच्छदार बाहेक एमाओवादी र एमालेको तर्फबाट पनि उपप्रधानमन्त्री बनाइने र साना दल नेकपा मालेका महासचिव सिपी मैनाली समेत उपप्रधानमन्त्री सहित सरकारमा आउन चाहेकोले उपप्रधानमन्त्रीको संख्या धेरै हुने भएको छ । यसअघि सुशिल कोइराला नेतृत्वको सरकारमा २ जनामात्र उपप्रधानमन्त्री थिए । एमालेबाट विद्यादेवी भण्डारी, भीमबहादुर रावल र विष्णु पौडेल मध्ये १ जनालाई प्रपप्रधानमन्त्री बनाउने चर्चा चलेपनि एमाओवादी बाट को उपप्रधानमन्त्री बन्ने भन्ने ढुङ्गो लागेको छैन । तैपनि कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी मध्ये एक लाई उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाइने सम्भावना छ । सत्तारुढ दलबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको जिम्मेवारी कसलाई दिने भन्ने सहमति जुट्न बाँकी रहेकोले पनि मन्त्री मण्डल विस्तारमा ढिलाई हुने भएको छ ।
यसैबीच जीवनसंगिनी राधिका शाक्यसहित सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्दै गर्दा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहारमा थकान र तनावको मात्रा बढी देखिन्थ्यो । दुई महिनायता मधेसमा जारी संघर्ष र तीन सातायताको भारतीय नाकाबन्दी बीच नयाँ सत्तासमीकरण निर्माण गरेका उनी सायद त्यसैको दबाबमा थिए । देशको ३८ औं कार्यकारीको कुर्सी सम्हालेलगत्तै ओलीले मधेसमा जारी आन्दोलनको समाधान आफ्नो प्राथमिकतामा रहेको बताए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले विगतका सरकारभन्दा अलग छवि निर्माण गर्दै प्रस्तुत हुने संकेत दिए । ‘संविधान स्वीकार गरेर नै उहाहरु हिजो चुनावमा सामेल हुनुभएको छ,’ असन्तुष्ट मधेसी दलतर्फ संकेत गर्दै ओलीले भने,–‘केही चासोहरु हल भइसकेका छन् । बाँकीलाई हामी सार्थक वार्ता र संवादबाट नै हल गर्न अग्रसर छौं ।’
ओलीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले देशभरिका विभिन्न जिल्लामा रहेका ३ सय ५० तुइनलाई दुई वर्ष्भित्र झोलुंगे पुलले विस्थापित गर्ने निर्णय गरेको छ । सोमबारै सरकारका प्रवक्ता घोषित कानुनमन्त्री अग्निप्रसाद खरेलले मन्त्रिपरिषद् बैठक निर्णय सुनाउँदै भने,–‘विभिन्न जिल्लामा तारको सहायताले जोखिमपूर्ण यात्रा गरी ठूला नदी वारपार गर्नुपर्ने अवस्था अन्त्य गर्न यो निर्णय गरिएको हो ।’ मन्त्रिपरिषद्ले झोलुंगे पुल निर्माणका लागि ३ अर्ब २५ करोड रुपैया लागत अनुमान गर्दै बजेट छुटयाउने निर्णय गरेको छ । इन्धन र पारवहनको अभाव पूर्ति गर्न अघिल्लो मन्त्रिपरिषद्ले बिहीबार परराष्ट्रमन्त्रीको नेतृत्वमा मूख्य सचिव सदस्य रहेको वार्ता संयोजनको जिम्मालाई ओली मन्त्रिपरिषद्ले निरन्तरता दिने भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री कमल थापाले भारतसग संवादको अगुवाई गर्ने जानकारी प्रवक्ता खरेलले दिए । तर मधेसी मोर्चासग संवाद गर्न गठित तीन दलीय वार्ता कमिटीको जिम्मेवारी भने सरकारले नलिने जनाउ दिएको छ । वार्ता टोलीमा रहेका प्रवक्ता खरेलले भने, ‘त्यो सरकारले गठन गरेको टोली होइन । तीन ठूला दलले गठन गरेको हो ।’ तत्कालीन वनमन्त्री तथा कांग्रेस नेता महेश आचार्य, खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेको वार्ता टोलीको पहलमा संविधान संशोधनको तयारी भएको थियो । मन्त्रिपरिषद्ले वार्ताको पहल लिने भने पनि संविधान संशोधनबारे केही उल्लेख गरेको छैन । यसैगरी सरकारले प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने भएको छ । त्यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि गुरुयोजना बनाउने, त्यसअन्तर्गत सुरक्षित बस्ती विकास, आधुनिक सहर निर्माण र आवश्यकता हेरी परिवर्तन गर्नेसमेत निर्णय गरेको छ । शीतल निवासमा शपथ ग्रहणपछि प्रधानमन्त्री ओली लैनचउरस्थित सहिद स्मारक गई सहिदहरुप्रति सम्मान व्यक्त गरे । त्यसपछि सिंहदरबार आएर पदभार ग्रहण गरे । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन जावलाखेल स्थित समारोहमा सहभागी भएपछि उनी चम्पादेवीस्थित पुष्पलाल पार्कमा गई पुष्पलालको प्रतिमामा माल्यार्पण गरे । फर्केर पुरानो पार्टी मुख्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा झुकेर श्रद्धा अर्पण गरे । यसेबीच चिनियाँ प्रधानमन्त्री लि खछ्यिाङले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा ’हृदयदेखि बधाई दिंदै’ कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका छन् । उनले नेपाल र चीन निकै निकट सम्वन्ध रहेको मित्र मुलुक हुन् भन्दै नेपालको विकास र समृद्धिमा चीनको साथ र सहयोग रहने स्पष्ट पारेका छन् । ’नेपाल(चीन सम्बन्ध एक अर्कामा धेरै परीक्षण भएर यहाँसम्म आएको अटुट मित्रता हो, जुन निकै बलियो छ,’ प्रधानमन्त्री लिले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । चीनले नेपालको शान्ति तथा विकास कार्यमा सहयोगी रहने पनि उनले बताएका छन् । दुवै मुलुकले एकअर्का मुलुकको चासोमा सँधै साथ र सहयोग रहेको समेत  उल्लेख छ ।


Post a Comment

 
Top