गोल्डेन न्यूज संवाददाता
चाडपर्व सुरु भएसँगै नेपाल प्रहरीले सुरक्षा चेकजाचमा कडाई गरेको छ । चाडपर्व बिशेष सुरक्षा योजना अन्तर्गत चेकजाचमा कडाई गरिएको हो चाडपर्वको बेला हुन सक्ने अपराधिक घटनालाई लक्षित गरी चेकचाज, गस्ती बढाईएको छ भने प्रहरी तैनाथी पनि बढाईएको कास्की प्रहरीले जनाएको छ । पोखरा सहित आसपासको क्षेत्र, ग्रामिण भेग र राजमार्ग क्षेत्रमा सुरक्षा निगरानी बढाईएको छ । पोखराका अति ब्यस्त स्थानहरु चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, पृथ्बीचोक लगायतका क्षेत्रमा नियमित प्रहरी परिचालन गरिएको छ ।
मानिसहरुको बढी भिडभाड हुने स्थान र आर्थिक कारोबारका क्षेत्रमा सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ । प्रहरीको सुचिमा रहेका बिभिन्न अपराधिक मनोबृतिका ब्यक्तिहरुमाथि पनि निगरानी बढाईएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले बताए । विशेष सुरक्षा योजना अन्तर्गतनै पोखरासँग जोडिएका राजमार्गसँगै नगर क्षेत्रमा पनि कुकुरको प्रयोगबाट चेकजाच थालिएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक विरेन्द्र गोदारको नेतृत्वमा आईतवार पोखरा – बुटवल सिद्धार्थ राजमार्गमा कुकुर सहित बिशेष सुरक्षा चेकजाच गरिएको थियो । राजमार्ग क्षेत्रबाट बिभिन्न सवारी साधनमार्फत अपराधिक मनोबृतिका मानिस सहित गैरकानुनी बस्तुहरु भित्रन नपाउन् भन्ने उद्देश्यले चेकजाचमा कडाई गरिएको प्रहरी निरीक्षक गोदारले जानकारी दिए ।
त्यस्तै पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा पनि कुकुरको प्रयोगबाट विशेष चेकजाच गरिएको थियो । यो क्रम आगामी दिनमा पनि जारी रहने प्रहरीले जनाएको छ । प्रहरीले बिभिन्न स्थानमा आकस्मिक चेकजाच पनि थालेको छ ।यसैगरी स्थानीयको सहकार्यमा अपराध न्यूनिकरणको लागि वडा प्रहरी कार्यालय रामबजारले घरदैलो अभियान थालेको छ । सुरक्षासँग सम्बन्धित जानकारीमूलक पर्चा सहित आईतवारबाट घरदैलो अभियान सुरु गरिएको हो ।
अपराधिक घटना भएपछि प्रहरी गुहार्नुभन्दा त्यस्ता घटना हुन नदिन स्थानिय आफै सचेत भए सम्य समाज निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले सुरक्षा सचेतनाको लागि नागरिक सँगको संयुक्त अभियान सुरु गरिएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले पिसपोखरा डटकमलाई बताए । अभियानको क्रममा रामबजार क्षेत्रका बिभिन्न स्थानमा सचेतनामुलक पोष्टर टासिएको छ भने घरघरमा गई जानकारी मुलक पर्चा बितरण गरिएको छ । पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठले चाडपर्वको वेला हुन सक्ने अपराधिक घटना नियन्त्रणको लागि माताहातमा सुरक्षा युनिटहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताए । संवेदनशिल स्थानहरुमा सुरक्षा तैनाथी बढाईएको उनले बताए ।
Post a Comment