0
एकीकृत नेकपा (माओवादी)ले प्रमुख दलबीच बिगतमा १६ बुँदे सहमति गर्दा भएको ‘भद्र सहमति’का आधारमा सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको छ । नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शुक्रबार बसेको स्थायी समितिको बैठकले विगतको सहमतिका आधारमा सरकार गठन प्रक्रियालाई अगाडि बढाउनुपर्ने र त्यसमा प्रमुख दलको सहभागिता हुनुपर्ने निर्णय गरेको हो । बैठकले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सहज रूपमा कार्यान्वयन गर्न पनि प्रमुख दलको सहमति र सहकार्य हुनु आवश्यक रहेको भन्दै बहुमतीय प्रक्रियाले अगाडि बढ्दा मुलुकको हित नहुने निश्कर्ष निकालेको छ । 
 
यस्तै राष्ट्रिय स्वाधीनता, जनजीविका, तराई मधेसमा जायज माग राखी आन्दोलनमा केन्द्रित भएका राजनीतिक दल तथा समूहको मागलाई सार्थक सम्बोधन गर्नुपर्ने, थारू, मधेसी, आदिवासी, मगर समुदायले उठाएको मागलाई सम्बोधन गर्नुपर्ने लगायतका आठबुँदे शर्तसमेत अगाडि सारिएको एमाओवादीका सचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।
 
यस्तै एमाओवादीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बैठकले प्रमुख दलबीच भएको विगतको सहमतिलाई आधार मानेर सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको बताए । राष्ट्रिय आवश्यकता र चाहनालाई सम्बोधन गर्न, बहुमतीय प्रक्रिया भित्र पनि सहमति प्रक्रिया अगाडि बढाउनुपर्नेमा आफूहरूको धारणा रहेको उनले जानकारी दिए ।

Post a Comment

 
Top