गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सहमतिय सरकार गठन नभए संविधान कार्यान्वयन कठिन हुने बताएका छन् । प्रधानमन्त्री सुशिल कोइरालाले सरकार गठनको ढोका खुल्ला गरेपछि राष्ट्रपतिले सहमतीय सरकार गठनको लागि आव्हान गरेको भोलिपल्ट शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सरकार गठनमा दलहरुको समझदारी अत्यावश्यक रहेको बताए । राजनीतिक दलहरुको बिचमा समझदारी जरुरी रहेको र नभए संबिधान कार्यान्वयनका लागि पनि कठिन हुने उनको तर्क छ । सरकार गठन अघि एमालेसँग भएको समझदारीकै आधारमा कोइरालाको राजीनामा आएको भन्दै उनले एमालेले सहमतीय सकार गठनमै जोड दिने बताए । संविधानको ब्यबस्था अनुसार सहमतिमा नभए प्रक्रियामा जाने भएपनि सहमतिकै आधारमा अघि बढ्नुको विकल्प नरहेको उनले स्पष्ट पारे । अहिलेको अवस्थामा एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्नुपर्छ भन्ने जनभावना पनि रहेको दावि गर्दै उनले अवको सरकार एमालेको नेतृत्वमा बन्नुपर्छ भन्नेबारे छलफल गरिरहेको जानकारी दिए । पार्टी अध्यक्ष केपी ओलीनै प्रधानमन्त्री हुने र त्यसका लागि एमालेले संस्थागत ढंगले औपचारिक रुपमै निर्णय गर्ने पोखरेलले बताए ।संविधान संशोधनको बिषयमा उनले कार्यन्वयनमा नजादै संशोधनको लागि हतार गर्न नहुनेमा जोड दिए । जारी गरेको संबिधान कार्यान्वयनमा तदारुकता देखाउनुपर्नेमा ख्यालै नगरी संशोधन गर्न खोज्नु उचित नहुने उनले प्रष्ट्याए । अर्को प्रसंगमा उनले भारतले नेपालमाथि हेपाहा प्रबृति देखाएको आरोप लगाए । नयाँ संबिधानले विश्वले स्वागत गरिरहेका बेला भारतले भने असन्तुष्टि जनाउनु गलत भएको पोखरेलले बताए ।
Post a Comment