गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेस पश्चिमाञ्चल क्षेत्रीय समितिको आयोजनामा भएको व्यवसायिक सुरक्षा तथा स्वास्थ्य सम्बन्धी दुई दिने क्षेत्रीयस्तरको तालिम आइतबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा टे«ड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा शनिबारदेखि सुरु तालिमको समापन केन्द्रीय सहकोषाध्यक्ष जनार्दन निरौलाले गरे ।
तालिमको समापन गर्दै निरौलाले श्रम ऐनसँग सामाजिक सुरक्षालाई प्राथमिकता दिइनुपर्ने बताए । रोजगारदाताले सामाजिक सुरक्षाको विषयलाई बेवास्ता गर्ने गरेको बताउँदै जुनसुकै सरकार भएपनि श्रम ऐनको कार्यान्वयन का लागि संघर्षरत रहनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङ, तालिमका सहभागीहरूको तर्फबाट उषा राना, टेकनाथ पन्थीलगायतले बोलेका थिए । तालिममा पश्चिमाञ्चल विकास क्षेत्रका १४ जिल्लाका ३५ जना सहभागी थिए भने केशव भट्टराईले प्रशिक्षण दिएका थिए । क्षेत्रीय अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मधुकर काफ्लेले गरेका थिए ।
Post a Comment