गोल्डेन न्यूज संवाददाता
समर्पण बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष अर्जना प्रधानको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष अर्जना प्रधानद्वारा प्रस्तुत संस्थाको आ.व.०७१÷०७२ को वार्षिक प्रतिवेदन र आ.व.०७२÷०७३ को कार्ययोजना एवं बजेट सर्वसम्मत पारित गरेको थियो । संस्थाका कोषाध्यक्ष कल्याणी श्रेष्ठद्वारा प्रस्तुत संस्था आ.व. ०७१÷०७२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसावलाई पनि आवश्यक छलफल गरी साधारण सभाले सर्वसम्मतिले पारित गरेको थियो । साथै संस्थाको लेखा समितिले संयोजक शान्ता श्रेष्ठद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको थियो । साधारण सभामा शेयर सदस्यहरुमध्ये उत्कृष्ट खुत्रुके वचतकर्ताको रुपमा जया बाँस्तोला, उत्कृष्ट आवधिक बचतकर्ताको रुपमा मिठाईदेवी थैव तथा उत्कृष्ट ऋणिको रुपमा शान्ति पौडेललाई संस्थाका सल्लाहकरहरु महेश पराजुली तथा तारा काफ्लेले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै संस्थाका सल्लाहकार महेश पराजुलीले सहकारी संस्थाले ६ वर्षमा गरेको प्रगतिको उच्च मूल्यांकन सहित शेयर सदस्यहरु लाई उच्च प्रतिफल वितरण गरी सहकारीका सात सिद्धान्तलाई परिपालन गर्न सफल भएको बताए । सल्लाहकार तारा काफ्लेले महिलाहरु मात्र शेयर सदस्य भएको यस सहकारी संस्थाले छोटो समयमा गरेको प्रगतिको सराहना गर्दै शेयर सदस्यहरुलाई आफूले गर्ने सम्पूर्ण कारोवार आफ्नै सहकारी संस्था मार्फत गर्नुपर्ने विचार व्यक्त गरेका थिए । सहकारी संस्थाका सचिव बेलकुमारी पराजुलीले सञ्चालन गरेको साधारण सभामा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हिरा बाँस्तोला, सहकारीका सात सिद्धान्त पाठ कार्यसमितिका सदस्य विन्दु श्रेष्ठ एवम् धन्यवाद ज्ञापन कार्यसमिति सदस्य शान्ति श्रेष्ठले गरेकी थिइन । कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई वरिष्ठ सल्लाहकार योगेन्द्र प्रधानले शेयर प्रमाणपत्र प्रदान गरेका थिए ।
Post a Comment