0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका ९ दरबारथोक मार्ग ३ स्थित चण्डी मन्दिरमा भव्य दशै पूजा गरिने भएको छ । आज मंगलबार २६ गतेबाट कार्तिक ४ गतेसम्म यस्तो पूजा गरिन लागेको हो । कार्यक्रम अन्तर्गत लगातार पूजा, भजन कृतन लगायतका गतिविधि हुने छन् । कलस यात्रा भने पहिलो दिने विहान ७ वजे सुरु हुने नवदुर्गा पूजा मूल आयोजक समितिका संयोजक गंगामाया सुवेदीले जानकारी दिइन् । दशैं नजिकिंदै गर्दा विभिन्न मन्दिरहरुमा देवदेवीका मूर्तिहरु बनाउने चटारो पनि बढ्न थालेको छ । चण्डी मन्दिरमा पनि देवदेवीका नवनिर्मित मुर्तिलाई सिंगारपटार गरी सजाएर राखिएको छ । धर्म, संस्कृति र परम्पराका माध्यमबाट समाजलाई आध्यात्मिक मार्गतर्फ अग्रसर गराउने उद्देश्यले मन्दिरमा यसप्रकारका गतिविधि गर्न लागिएको चण्डीमाई सेवा समितिका अध्यक्ष तेजवहादुर भुजेलले जानकारी दिए । चण्डीमाई देवी निकै शक्तिशाली रहेको र खडेरी परेको समयमा पानी माग्दा बर्षा भएको विगतको इतिहास समेत रहेको चण्डीमाई सेवा समितिका सदस्य पूर्ण भुजेलले जानकारी दिए ।
 
आफ्नो वरपर रहेका देवीदेवताको विधिपूर्वक पूजापाठ गर्दा त्यसप्रति समर्पित भक्तजनको गृहस्थ समस्याहरु समाधान हुने र महत्वाकांक्षा पूरा हुने विश्वास यस क्षेत्रमा रहेको छ । पोखरा उपमहानगरपालिका नयाँ बजार स्थित क्षेत्रीय संग्रहालयको आडमा रहेको घुमाउने चौतारी नजिक विक्रम सम्वत् १९१५ मा चण्डीमाई देवीको पूजाआरधना गरिंदै आएको इतिहास भएकोमा विक्रम सम्वत् १९७५ मा पुरानो कर कार्यालय अर्थात् हालको अख्तियार कार्यालय रहेको स्थानमा देवीलाई सारिएको थियो । तर पछिल्लोपटक २०१६ सालमा दरबारथोक मार्ग ३ मा देवीलाई पुनः सारिएको हो । वडा नम्वर ९, ८ र ४ का भक्तजनको भीड बढी मात्रामा यो मन्दिरमा लाग्दै आएको छ । मन्दिरमा वैशाख १ गते हरेक वर्ष विशेष पूजा हुने गरेको छ ।
 
गुप्तकालिका मन्दिरमा दुर्गा पूजाको तयारी

कास्कीकोट गुप्तकालिका मन्दिरमा यस वर्षपनि विश्व शान्तिको कामना गर्दैं नव दुर्गा पूजाको तयारी पुरा भएको छ । गुप्तकालिका मन्दिरमा नव दुर्गा सुरु भएको घटस्थापनाका दिन देखि विधिवत रुपमा कोटमा पाणा पूजारहरु सहित दशमीसम्म गुप्तकालिका मन्दिरमा बसेर वैधिक तथा तान्त्रिक पूजा गरिने पूजा समितिका संयोजक कृष्ण प्रसाद उपाध्यायले जानकारी दिए । कास्कीकोटमा रहेको गुप्त कालिका मन्दिरमा पूजा गर्न वर्षौं हजारौं भक्तजनहरुको उपस्थिति रहने गर्दछ । मन्दिरमा मालश्री संगै ठूलो धोप सानो धोप तथा नगरा बजाउने प्रचलन रहेको छ, जुन १७औं शताव्दिदेखिका रहेका छन् ।
हरेक दिन हरेक देवीको विशेष पूजाको साथमा विश्व शान्तिको कामना सहित पूजा पाठ गरिने र पोखराको रामघाटदेखि लगिएको फूल पत्रहरु कोटमा भित्र्याउने गरिन्छ । सातौं दिनमा कुवँर जातिको सैनिक कलाको लोपउन्मुख खेल सराङ खेलमा १७औं शताव्दिका हातहतियार ढाल तरवार खुडा खुकुरीहरुको प्रदर्शन समेत गरिने पूजा समितिका सचिव तथा कास्की कोटका इतिहासकार ठाकुर प्रसाद त्रिपाठीले बताए । आठौं दिनमा काल रात्रिको मध्यरातमा  विशेष पूजा गरी नवमीमा देशका विभिन्न ठाउँबाट पञ्चवली लिएर पूजा गर्न आउने गर्दछन् । १०औं दिनमा गुप्तकालिका मन्दिरमा टीका लगाएपछि अन्य ठाउँमा लाउने चलन रहेको छ । पछिल्लो समय सरकारले यस्ता पौराणिक मठ मन्दिरको संरक्षणमा ध्यान नदिंदा पौराणिक तथा एतिहासिक गुप्तकालिका मन्दिर संरक्षणको पर्खाइमा रहेको छ ।


Post a Comment

 
Top