गोल्डेन न्यूज संवाददाता
एमाओवादीका नेता झलकपाणि तिवारीले आफ्नी आमा रुक्मिना तिवारीको स्मृतिमा एक लाख एघार हजार एक सय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। तिवारीले लेखनाथ–४ जल्दारेडाँडामा रहेको अमरज्योति गाउँफर्क माविमा सोमबार रुक्मिना तिवारी छात्रवृत्ति अक्षयकोष, २०७२ स्थापना गरेका हुन्। गरिब तथा जेहेन्दार छात्रछात्राहरुको पठन–पाठनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको नेता तिवारीले जानकारी दिए। तिवारीका अनुसार विशेष रुपमा प्राथमिक तहका विद्यार्थीहरुलाई लक्षित गरी छात्रृवत्ति अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषको संरक्षकमा नेता तिवारी र उनकी श्रीमति सीता तिवारी रहेको अमरज्योति गाउँ फर्क माविका प्रधानाध्यापक दोमादर सापकोटाले जानकारी दिए।
]अक्षयकोष घोषणा कार्यक्रममा स्थानीय समाजसेवी हरि अधिकारी, देवेन्द्र रानाभाट, नेकपा एमालेका प्रतिनिधि नारायण बराल र एमाओवादी प्रतिनिधि मेघराज भण्डारीले तिवारीको कार्यले सामाजिक उत्प्रेरणा पैदा गरेको बताए। कार्यक्रममा नेता तिवारीले ‘आफ्नो बाल जीवन निकै कष्टकर रुपमा बितेको’ भन्दै आफूले जस्तै गरिबीका कारण बालबालिकाले औपचारिक शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरेको बताए।
Post a Comment