0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री किरण गुरुङले पार्टी अध्यक्ष के.पी.ओली प्रधानमन्त्री बने पछि नयाँ नेपाल निर्माणको अभिभारा एमालेमा आएको बताएका छन् ।
 
नेकपा एमाले जिल्ला कमिटी कास्कीले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा प्रकाशन गर्न लागेको पार्टीको मुख पत्र घोषणाको तयारीबारे आयोजना गरेको कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य गुरुङले एमालेले सरकारको नेतृत्व गरेको विषयलाई खुसीका साथ जिम्मेवार बोध गरेको बताए । नयाँ संविधान मार्फत जनआन्दोलन को उपलब्धी, लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गर्दै उनले एमालेले अब विकास निर्माण र भूकम्प पश्चातको क्षतिको पुनःनिर्माणको अगुवाई गर्ने धारणा राखे । देश विकास गर्ने जिम्मेवारी अब एमालेको हो,उनले भने–‘अब एमाले जे बोल्छ त्यो गरेर देखाउनु पर्छ ।’ उनले भाषण होइन एमालेका नेता कार्यकर्ताले अब काम गरेर देखाउनु पर्ने बताए ।
 
अधिकारका लागि आन्दोलन गर्ने समय सकिएकोले अब सबै दल मिलेर देशको समृद्धि र आर्थिक विकासमा लाग्नुपर्ने उनको भनाई थियो । एमालेको नेतृत्वमा सरकार गठन भएकोमा आम नेपाली जनताप्रति आभार प्रकट गर्दै उनले एमालेको नेतृत्व दुरदर्शी नभएको भए संविधान नबन्ने ठोकुवा गरे । पार्टी अध्यक्ष के.पी.ओलीको चट्टानी अडानले संविधान बन्न नदिने तत्वलाई परास्त गरेको दावी गर्दै नेता गुरुङले राजनीतिक दललाई भारतले एक हुन नदिनु हामी सबैको लागि चुनौतीको विषय भएको बताए । भारतीय पक्षको हेपाहा प्रवृत्ति पहिलैदेखि भएको आरोप लगाउँदै उनले भारतीय पक्षले लगाएको नाकावन्दी कुटनीतिक रुपबाट समाधान गर्ने बताए । उत्तरी क्षेत्रको नाका खोल्दैमा सबै समस्या समाधान नहुने ठोकुवा गर्दै उनले पेट्रोलियम पद्धार्थको आयातमा वैकल्पिक व्यवस्था आवश्यक भएको बताए ।
 
नेकपा एमाले केन्द्रीय कमिटिका वैकल्पिक सदस्य मानबहादुर जिसी, राष्ट्रिय प्रतिनिधि परिषदका पूर्व सदस्य पुण्य पौडेल, जिल्ला कमिटि कास्कीका कार्यवाहक अध्यक्ष मन बहादुर गुरुङ, सचिव दामोदर वैरागी, प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी लगायतका वक्ताले मन्तव्य राखेका थिए ।



Post a Comment

 
Top