अन्जली रम्तेल
लिच्छवीकालीन शासब अंशुवर्माले बनाएको कैलाशकूट भवनको भव्यताबारे इतिहासमा निकै चर्चा गरिएको भेटाउँछौँ । तर यथार्थमै कस्तो थियो त ? परिकल्पना मात्रै गर्न सक्छौं । कलाकार हरिप्रसाद शर्माले केही ऐतिहासिक दस्तावेजको अध्ययन, कल्पना र इतिहासविद्सँगको छलफलबाट तयार पारेको चित्र हामी देख्न सक्छौँ नेपाल कला परिषद् बबरमहलमा । यो ऐतिहासिक दस्तावेजलाई चित्रमा हेर्ने सुनौलो अवसर पनि हो । एकैसाथ दश हजार मानिस अटाउन सक्ने भनिएको उक्त दरबारका खम्बा र दलिनमा समेत रत्न जडिएको थियो भनिन्छ । प्रदर्शनीमा राखिएको चित्रमा चिनियाँ यात्री हुएन साङ्ले आफूले देखेका कुरा टिपोट गरिरहेका देखिन्छन् । यसैगरी भगवान् शिवका विभिन्न अवतारका चित्र भवनका भित्तामा अङ्कित छन् ।
इतिहासको महत्वपूर्ण घटना मानिएको तिब्बतका सम्राट् स्रङचन गम्पो र नेपालीकी राजकुमारी भृकुटीको प्रथम साक्षात्कारको भव्य समारोहको दृश्यलाई समेत कलाकार शर्माले आफ्नो अर्को तस्बिरमा उतारेका छन् । तस्बिरमा नेपालबाट लगिएका अक्षोभ्य बुद्ध र लोकेश्वरको मूर्तिका साथै महत्वपूर्ण ग्रन्थ तथा बहुमूल्य रत्नको भेट सम्राट्समक्ष चढाउँदै गरेको देखिन्छ । राजकुमारीसँगै नेपालबाट गएका बौद्ध भिक्षु शीलभद्र तथा राजकुमार नरेन्द्रदेव प्रधानमन्त्री तारगोचनकै छेउमा उभिएका छन् । तिब्बतको भव्य दरबारमा भएको समारोहको परिकल्पनामा चित्रकारले बनाएको यो चित्रमा दरबारको द्वारबाट सुन्दर ल्हासा उपत्यकाका सहर, गुम्बा र हिउँले ढाकेका हिमाल पनि देखाइएको छ । अरनिको नामबाट चर्चित नेपालका बलबाहु ८० कालिगढसहित चीन जान लागेका बेलाको दृश्यलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । सत्र वर्षे युवक अरनिकोको बिदाइका लागि उपस्थित भएकालाई उनीहरुको स्थानीय नेवारी वेशभूषामा देखाइएको छ । राजा अनन्त मल्लले चीनका बादशाहका लागि पठाउन तयार पारिएका उपहार र पत्र लिएर भारदार कुरिरहेको देख्न सकिन्छ ।
यस चित्रमार्फत् करिब सात सय वर्षअघिको वातावरणलाई देखाउने कोसिस गरिएको छ । राजा प्रताप मल्लले स्वयम्भू चैत्यको दुवैतर्फ अनन्तपुर र प्रतापपुर शिखर शैलीका मन्दिर निर्माण गरिसकेपछि चट्याङ नपरोस् भन्नका लागि बज्र चढाउँदै गरेको दृश्य अर्को चित्रमा देख्न सकिन्छ । तान्त्रिक विधिबाट गरिएको सो पूजामा दर्शनार्थीको समेत निकै भीड देखिन्छ । नेपालको इतिहासमा निकै महत्वपूर्ण घटनाका रुपमा लिइने कुमारी पूजाको सुरुवात गर्ने मल्लकालीन राजा जयप्रकाश र तलेजु भवानीले पासा खेलिरहेको आकर्षक चित्र पनि देख्न सकिन्छ । भवानीले मानव रुप धारण गरी राजासँग पासा खेल्न आउने क्रममा राजाले आफूमाथि कुदृष्टि राखेको थाहा पाएपछि उनी आउन छाडिन् । त्यसपछि राजा जयप्रकाशले क्षमा पूजा गरेपछि सपनामा भवानीले रजस्वला नभएकी शाक्य वंशकी कन्यालाई कुमारीदेवीको रुपमा प्रतिस्थापन गर्न सुझाएपछि सोही बेलादेखि नेपालमा कुमारी पूजा सुरु भएको मानिन्छ ।
नेपाल एकीकरणका निर्माता पृथ्वीनारायण शाहले सम्पूर्ण नेपाललाई एक ढिक्का बनाउन गरेको कूटनीतिक पहललाई समेत कलात्मक र सुन्दर ढङ्गले देखाउने कोसिस गरिएको छ । हनुमानढोका दरबारभित्रको मोहन चोकमा जयप्रकाश र पृथ्वीनारायण शाहले पगरी साटासाट गरी मितेरी लगाउन लागेको मनमोहक दृश्य देख्न सकिन्छ । पृथ्वीनारायण शाहले विसं १८२५ मा कान्तिपुर विजय गर्दा अपनाएको युद्धकलालाई समेत अर्को चित्रमा देख्न सकिन्छ । तीनतिरबाट घेरा हाली छापामार शैलीमा कान्तिपुरमा आक्रमण गर्दा घोडामा सवार भएर पृथ्वीनारायणले नेतृत्व गरेका थिए । युद्धको त्रासद मनोभावमा गोर्खाली सेना अघि बढिरहेको देखिन्थ्यो । अर्को चित्रमा कान्तिपुर नगरीमाथिको विजयपछि कुमारीको हातबाट टीका ग्रहण गर्दैै गरेका पृथ्वीनारायण शाहलाई देख्न सकिन्छ । ठूलो हर्षोल्लासका साथ उनले महोत्सवमा भाग लिइरहेको देखिन्छ भने स्थानीय जनताको साथ पनि रहेको पनि राम्रैसँग देखाइएको छ । आफ्नो जीवनको अन्तिम अवस्थामा पृथ्वीनारायणले दिएका दिव्योपदेशका अंश पनि अर्को तस्बिरमा छ । नुवाकोट दरबारमा उनले आफ्ना युवराज बहादुर शाह, भाइ दलजीत शाह, गुरु पुरोहित वरपर राखेर उपदेश दिइरहेका छन् । उनको सिरानमा पिता नरभूपाल शाह, छेउमा योगी गोरखनाथ तथा वरपर उपत्यकाका मल्ल राजाहरुको तस्बिर झुण्ड्याएको देख्न सकिन्छ ।
नेपालको इतिहासमा राणाकाल निम्त्याउने घटनाका रुपमा रहेको कोत हत्याकाण्डलाई पनि चित्रमा दर्शाइएको छ । हनुमानढोका नजिकै कोतको पटाङ्गिनीमा विसं १९०३ मा भएको सो घटनाअनुसार आफ्नो प्रिय पात्र गगन सिंहको हत्याको घटनाले विक्षिप्त र क्रुद्ध भएकी रानी राज्यलक्ष्मीले जङ्ग बहादुरलाई हत्यारा पत्ता लगाउन आदेश दिइन् । पूर्वतयारीसाथ आएका जङ्गबहादुरले अवसरको फाइदा उठाएर आफ्ना विरोधीलाई समाप्त पारे । तत्कालीन शिशमहल अगाडिको सिँढीमा महारानी हातमा तरबार लिएर चण्डी रुपमा उभिएकी छिन् भने उनको छेवैमा जङ्गबहादुर उभिएका देखिन्छन् । सिँढीमुनि प्रधानमन्त्री फत्तेजङ्गको शव लडिरहेको देखिन्छ भने कोतको पटाङ्गिनीको मध्यभागमा भारदार बीच मारकाट चलिरहेको दृश्य देखिन्छ। सत्तामा आइसकेपछि विसं १९०६ मा प्रधानमन्त्री जङ्गबहादुर बेलायत गएका बेला त्यहाँकी सबैभन्दा नामी नगरबधु लौरावेलसँग बिताएका क्षणलाई चित्रमा देखाइएको छ । जङ्गबहादुर सैनिक पोसाकमै देखिन्छन् भने लौरावेलले आकर्षक आधुनिक पोसाक लगाएकी छिन् । तत्कालीन बेलायती सम्पन्नतालाई चित्रमा देख्न सकिन्छ । उनले आफ्नो घरको ढोका बाहिर र बगैँचामा नग्न महिलाको मूर्ति राखेकी छिन् ।
नेवारी संस्कृतिबीच हुर्किएका कलाकार शर्माले नेवारी संस्कृतिका स–साना कुरालाई पनि चित्रमा देखाउन भ्याएका छन् । बौद्धनाथ, बागमती नदी, गुह्येश्वरी मन्दिरलगायत तत्कालीन अवस्थालाई समेत चित्रमा उतारिएको छ । चित्रलाई आकर्षक बनाउन कलाकारले पानी रङ र तैलीय रङको प्रयोग गरेका छन् । प्रदर्शनीमा ५१ वटा चित्र राखिएका छन् । ती चित्रका मूल्य रु ६५ हजारदेखि १० लाखसम्म तय गरिएको छ । करिब २० वर्षदेखि सङ्ग्रह गरिएका उनका कलाकृतिलाई अहिले प्रदर्शनीमा राखिएको हो । “इतिहासका कतिपय विषयवस्तु लोप हुने अवस्थामा पुगिसकेको छ, त्यसलाई कलाकै माध्यमबाट भएपनि जगेर्ना गर्ने उद्देश्य हाम्रो हो,” उहाँले प्रस्ट पार्नुभयो । अझै इतिहासका अन्य महत्वपूर्ण घटनालाई समेत कलामा समावेस गर्ने उहाँको योजना छ । यही असोज ७ गतेदेखि सुरु भएको सो प्रदर्शनी २० गतेसम्म चल्नेछ । रासस
Post a Comment