गोल्डेन न्यूज संवाददाता
भाषिक तथा अनुसन्धानमुलक पत्रिका यात्रा अंक छको सोमबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पृथ्वी नारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने र कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले संयुक्त रुपमा उक्त पत्रिकाको लोकार्पण गरे । क्याम्पस प्रमुख तथा प्रमुख अतिथि लामिछानेले यस्ता अनुसन्धानमुलक पत्रिका प्रकाशनले नेपाली भाषाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । विद्यार्थीहरूको कार्यबाट प्रशन्न देखिएका लामिछानेले क्याम्पसका विभिन्न विभागहरूले नियमित अनुसन्धानमूलक जर्नल प्रकाशन गर्न नसकेको बेलामा विद्यार्थीहरूको क्रियाशिलताको सिको गर्नुपर्ने बताए । कार्यक्रमका विशिष्ट आमन्त्रित व्यक्तित्व जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले पछिल्लो समय प्राविधिक साम्राज्यले गर्दा भाषा संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आश्यकता रहेको बताए । उनले आफ्नो विगत सम्झदै विगतमा आफैले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरूले यसरी अनुसन्धानमूलक पत्रिका प्रकाशन गर्दै आएकोमा गर्वको अनुभूति भएको बताए ।
सोही समारोहबीच यात्रा प्रकाशन समूह, शिक्षाशास्त्र संकाय, स्नातकोत्ततर तह नेपाली समूह पृथ्वी नारायण क्याम्पसले प्रकाशन गर्दै आएको यात्रा पत्रिकाको उत्थानका लागि विशेष योगदान पु¥याएको भन्दै विभिन्न व्यक्तित्वहरू लाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोला, यात्रा प्रकाशन समूहका संस्थापक अध्यक्ष लोकचन्द्र खनाल, समूहका सल्लाहकार बोधराज ढकाल, सम्पादन सल्लाहकार ईश्वर कुमार घिमिरे र समूहका कार्य समिति सदस्य कल्पना सुवेदी रहेका छन् । उनीहरूलाई कार्यक्रमका आमन्त्रित अतिथिहरूले अविर, दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान अर्पण गरेका थिए । अध्यक्षको आसनबाट बोल्दै समूहका अध्यक्ष श्रीभद्र पौडेलले समूहको पुर्नगठन भएको साँढे तीन महिनाको छोटो अवधिमा ठूलो आकारमा अनुसन्धानमूलक पत्रिका प्रकाशन गर्नु जटिल कार्य भए तापनि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता ज्ञापन गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व कृष्णप्रसाद बाँस्तोला, बोधराज ढकाल, लोकचन्द्र खनाल, प्रा.डा. यदु नन्दन उपाध्याय, उपप्राध्यापक चोलाकान्त ओझा, समूहका सल्लाहकार सुरज पौडेल, समुहका उपाध्यक्ष रत्ना कुमारी विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । लोक दोहोरी गायक ज्ञानेश्वर सुवेदीले सांस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा समूहका सहसचिव मालती कुमालले स्वागत मन्तव्य र उपाध्यक्ष झलक पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Post a Comment