गोल्डेन न्यूज संवाददाता
पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न होटल क्षेत्रको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विहीबारबाट पोखरामा पाँच दिने आधारभूत टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेण्ट तालिम सुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा सीटीईभीटी अन्तर्गतको पोखरा स्कुल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेण्टको सहकार्यमा तालिम सुरु भएको हो । होटल प्रतिनिधि समाजले पनि तालिमलाई सघाएको छ । असोज २५ गतेसम्म लेकसाइडमा संचालन हुने तालिममा होटलका व्यवस्थापक, कर्मचारी र मजदूर गरी कूल ७५ जनाले सहभागिता जनाएको संघले जानकारी दिएको छ । होटलका प्रतिनिधिहरुलाई तालिम प्रदान गरी उनीहरुको दक्षता अभिवृद्धि गर्नु नै तालिमको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटन क्षेत्र मारमा परेको अहिलेको अवस्थामा समेत आफूहरुले होटल प्रतिनिधिहरु लाई तालिम प्रदान गरी पर्यटनलाई गुणस्तरीय बनाउने उद्देश्य लिएको उनले सुनाए । पोखरा स्कुल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेण्टका प्रमुख हर्कलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै तालिमले होटल क्षेत्रबाट पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले तालिम अवधिभर सहभागीले पर्यटन जागरण, पर्यटन उद्योग, संचार दक्षता, अतिथिको आसा, कामदारको सकारात्मक सोचाई, पर्यटकको महत्व र पर्यटकलाई कसरी सकारात्मक रुपमा प्रभावित पार्ने लगायतका विषयमा सिकाई प्रदान गरिने जानकारी दिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकार एवं पूर्व अध्यक्ष वच्चुराम तिवारी, संघका प्रथम उपाध्यक्ष विकल तुलाचन र होटल प्रतिनिधि समाजका प्रथम उपाध्यक्ष नगेन्द्रवहादुर थापाले आफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।
Post a Comment