पोखराको लेकसाईड क्षेत्रको सडक नमूना बनाईने भएको छ । विश्व बैंकको सहयोगमा सडक डिभिजन कार्यालय पोखराले सहिदचोकदेखि हल्लनचोक सम्मको सडकलाई नमूना बनाउने तयारी गरेको हो । नमूना सडक बनाउन सडक सुरक्षा सम्बन्धी काम गरिने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । यसमा खासगरी फुट ट्रयाक र साईकल ट्रयाक निर्माण गरिने र ठाउँ ठाउँमा पर्यटन सूचना केन्द्र ब्यवस्थापन गरिने कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सडकको स्तरोन्नति गर्नका लागि करिब १० करोड रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ । ‘सडकको सुन्दरता झल्काउने गरी रङ्गरोगन र मार्किङ गर्छौं’, सुवेदीले भने ‘लेकसाईड क्षेत्रको करिब २÷४ किलोमिटर सडकमा काम हुन्छ । यहाँको सडकलाई अपाङ्गमैत्री बनाईनेछ भने दायाँ–बायाँ रेलिङ्ग समेत राखिनेछ ।’ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल अवलोकन र लेकसाइडको बजार विस्तारका लागि यो सडकको स्तरोन्नति निकै महत्वपूर्ण सावित हुने बताईएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष तथा पर्यटन ब्यवसायी भरत पराजुलीले पनि लामो समयदेखि स्तरोन्नति हुन नसकेको यो सडक नमूना बनाउन सके पर्यटन क्षेत्रमा थप टेवा पुग्ने बताए । करिब १४ बर्षअघि सडक निर्माण भएदेखि अहिलेसम्म यो सडकको स्तरोन्नति हुन सकेको छैन । सडक स्तरोन्नति हुने भएपछि पर्यटन ब्यवसायी भने हर्षित भएका छन् । ‘टुरिजम एरियामा सडक स्तरोन्नति हुनु स्वागतयोग्य छ’ उनीहरु भन्छन्–‘सलाई पोखरा भरी नै विस्तार गरिनुपर्छ । यस्तै सडक बत्तिको ब्यवस्थापन पनि हुनेछ ।’
यस्तै पोखरा–बुटवल सडक खण्डमा पनि स्तरोन्नति गर्ने तयारी गरिएको छ । करिब ५ करोड रुपैयाँको लागतमा पोखरादेखि करिब ६ किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो । स्टिमेट तयार भैसकेको र केहीदिन भित्रै टेण्डर निकालेर प्रक्रिया सुरु गर्ने सडक डिभिजन कार्यालय पोखराका ईन्जिनियर विश्व विजयलाल श्रेष्ठले जानकारी दिए । १ महिनाको टेण्डर अवधि हुन्छ, उनले भने–कुनै अवरोध नभए २ महिनाभित्रैमा काम सुरु गर्छौं, एकबर्षभित्र काम सम्पन्न हुने पिस पोखरा डटकममा खबर छ ।
दुई वटै सडकमा ५÷५ करोड रुपैयाँ लगानी गर्ने तयारी छ । सिद्धार्थ राजमार्ग तर्फको भागमा भने नाला सुधार गर्ने र ब्यरियर बनाउने काममा रकम खर्च गरिने श्रेष्ठको भनाई छ । विश्व बैंकले यसलाई नमूनाको रुपमा परीक्षण गर्ने र सफल भएमा पोखरा लगायत अन्य क्षेत्रमा पनि विस्तार गर्ने तयारी गरेको छ । ‘नमूनाका रुपमा यो सडकलाई स्तरोन्नति गर्ने तयारी गरिएको हो’ कार्यालय प्रमुख नरेन्द्र सुवेदी भन्छन्–‘सफल भयो र स्टिमेट अनुसार काम गर्न सकियो भने अन्यत्र पनि विस्तार हुनेछ, विस्तारै सबै सडकहरु यसरी नै स्तरोन्नति गर्छौं ।’
पोखरा नगरपालिका क्षेत्रमा अहिले करिब २ सय २० किलोमिटर पक्की सडक छ । त्यसमध्ये करिब ६५ किलोमिटर सडक डिभिजन कार्यालयको मातहतमा छ भने बाँकी रहेका सबै सडकहरु पोखरा उपमहानगरपालिकाको स्वामित्वमा छ । पोखरा उपमहानगरपालिकाले पनि नगर क्षेत्रका सडकहरुलाई अपाङ्गमैत्री र यात्रु मैत्री बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले नमूनाका रुपमा पोखराको सभागृहचोकमा २ वटा ह्वीलचियर क्रस बनाउने तयारी गरिरहेको छ । यस्तै सहरका सबै सडकहरुमा सौर्य सडक बत्ति राख्ने काम भैरहेको नगरपालिकाका वरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्लेले बताए । अहिले स्तरोन्नति हुन लागेको लेकसाईड र सिद्धार्थ राजमार्गको सबै सडक बोर्डको स्वामित्वमा छ । पोखरामा करिब २७ किलोमिटर भित्रि सडकहरु र ३० किलोमिटर राजमार्ग डिभिजन सडकले मर्मत सम्भार गर्ने गर्छ ।
सडक डिभिजन कार्यालयले यसअघि पनि पर्यटकीय क्षेत्रलाई नै लक्षित गरी पोखराको जीरो किलोमिटरदेखि हल्लनचोक सम्मको सडकलाई ग्रिन रोड निर्माण गरिरसकेको छ । यस्तै अहिले पनि जिरोदेखि हरिचोक सम्मको सडकलाई ४ लेनको सडक बनाउने तयारी गरिरहेको छ ।
Post a Comment