भारतले अघोषित नाकावन्दी गरेको लामै समय भयो । जसका कारण नेपालको अर्थतन्त्र चौपत भएको छ । आइतवारबाट भारतीय नाकाहरुमा आपूर्ति सहज बनाउने भनिए पनि त्यस्तो महसूस हुन सकेन । न्यूयोर्क भ्रमणबाट दिल्लि फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आवश्यक परामर्शपछि’ विदेश मन्त्रालयलाई दिएको निर्देशनले नाकामा सहजता आउने अपेक्षा गरिएको थियो । भारतीय विदेश मन्त्रालयले आइतबारदेखि नाकाहरुमा सहजता ल्याउनका लागि नाकाहरुलाई लिखित निर्देशन दिएको जानकारी सञ्चारमाध्यमहरुलाई गराएको थियो । तर व्यवहारमा त्यसो देखिएन । यसले भारतीय पक्षले अझै केही समय समस्यालाई निरन्तरता दिनेहो कि भन्ने आशंका थपिएको छ । नेपाल भूपरिवेष्ठित देश हो । यस्तो मुलुकलाई पारवहन हक हुन्छ । त्यसमा हस्तक्षेप गर्ने बिषय राष्ट्रसंघमा छलफलको विषय बन्न जान्छ । औपचारिकरुमा नाकाबन्दी नगरी, निर्यात थाल्न निर्देशन दिएको बताउनु तर, व्यवहारमा त्यसो गर्न नदिनु भनेको भारतले यो मुद्दाका कारण अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बद्नाम नहोस् भनि देखाएको चलाखी हो भनि बुझ्नपर्ने भएको छ । भारतको यो गतिविधिले नेपालमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको अभावमा धेरै नै समस्या बढ्दै गएको छ । तर, देश भित्र प्रकट भएको देशभक्ति भावनाले गर्दा अस्वाभाविक संझौता नगर्न र भारतसामु आत्मसमर्पण नगर्न राज्यलाई उत्प्रेरित भएको छ । यो नैतिक बलका अगाडि भारतले घुडाँ टेक्ने निश्चित छ । भारतीय सञ्चारमाध्यमहरुले पनि ‘मोदी नेपालसंग झुके’ भन्नेजस्ता समाचारहरु प्रवाह गर्न थालिसकेका छन् । यसले नेपाली देशभक्तिका अगाडि भारतको खेल र हस्तक्षप आफै कमजोर हुने मात्र होइन, उसको छिमेकीहरुप्रति गरिने हेपाहा व्यवहार अन्तर्राष्ट्रियस्तरमा छर्लङ्ग हुन पुगेको छ । यस अर्थमा यो नाकाबन्दीले दीर्घकालिन रुपमा भारतलाई नै समस्यामा पार्ने र अन्तर्राष्ट्रिय मञ्चहरुमा उसले स्पष्टिकरण दिनुपर्ने अवस्था आउने छ । आइतबार पनि सहजता महसूस गर्न नपाउँदा अब नेपालले धेरै दिन कुनै आवश्यक छैन । नाकाहरुमा निर्देशन जारी भयो भनिसक्दा पनि कार्यान्वयन हुँदैन भने त्यहाँ ‘दालमा कुछ काला है’ भन्ने बुझ्न पर्दछ । अब नेपालले यो मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न बिलम्व गर्नुहुँदैन । नेपालको पारवाहन अधिकारको उलंघन भएको बियषलाई अन्तराष्ट्रिय करण गर्दै नेपाली देशभक्तिका सामु भारतीय हठलाई भाच्ने बिषयमा ‘केही ठेकेदारहरु’ बाहेक देशभित्र एक मत बनिसकेको छ । नाकाबन्दीले सत्ताशिनहरुलाई मात्र हल्लाहएको छ, जनताले ‘उत्सव मनाइरहेका छन्’ भन्ने उपेन्द्र यादव प्रवृत्ति, अप्ठ्यारो परेको समयमा भारतीय शर्तलाई पृष्ठपोषण गर्ने गरी निर्णय लिने बाबुराम प्रवृत्तिले देशमा छताछूल्ल हुँदैगएको देशभक्तिको भावनालाई रोक्न सक्दैन । त्यसकारण नेपाली स्वाभिमान र देशभक्तिको भावनालाई आधार मानेर यो मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न नेपाल अग्रसर हुनुपर्ने बेला भएको छ । यस बारेमा नेपालका राजनीतिक नेताहरुले बेलैमा सोच्न जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment