गोल्डेन न्यूज संवाददाता
असोज २१ गते विहिवार बिहान देखि बेपत्ता पोखरा अल्ट्रालाईट जहाज हराएको ९ दिन बित्यो तर पत्तो छैन । पाईलट र एक यात्रु सहित बेपत्ता एन ए एल आइ कलसाईनको क्लोज एयर क्राफ्ट जहाजको अबस्था अझै अज्ञात छ । संभावित स्थानमा खोजी गरेपनि पत्तो नलागेपछि तत्काल भेट्टाउन संभाबना टर्दै गएको छ । अन्नपूर्ण क्षेत्र, हिमाली क्षेत्र, कास्की, स्याङजा र पर्वतको संभाबित सबै क्षेत्रमा खोजी गरेपनि विमान र त्यसमा सवार दुई जनाको अबस्था अज्ञातनै छ । हिमाली क्षेत्र सहित संभाबित क्षेत्रमा हेलिकप्टर र पोखरा अल्ट्रालाईट कम्पनीको अन्य जहाजबाट खोजी गरेपनि कुनै पत्तो नलागेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।
पोखरा अल्ट्रालाईटका प्रबन्ध निर्देशक पोम नारायण श्रेष्ठका अनुसार संभावित सबै स्थानमा खोजी गरिसकिएको छ । असोज २१ गते विहीवार पोखरा विमानस्थलबाट बिहान १० बजेर ३५ मिनेटमा यात्रु लिएर उडेको एयर क्राफ्ट उडान भरेको ६ मिनेटमै सम्पर्क विहिन भएको थियो । एक घण्टाको लागि यात्रु लिएर अन्नपुर्ण क्षेत्रको तर्फ उडेको जहाजको अन्तिम सम्र्पक १० वजेर ४१ मिनेटमा भएको थियो । जहाज ११ वजेर ३५ मिनेटमा पोखरा विमानस्थल फर्किसक्नुपर्ने थियो । जहाजमा पाइलट रसियन नागरिक ६० बर्षिय भ्यालरी बुटिन सहित यात्रु साउथ अफ्रिकन नागरिक ५० बर्षिय एलिजा वेथ वेल सवार थिए । जहाज दुर्घटनामा परेको आशंका गरिएपनि पुष्टि हुन सकेको छैन । पोखरा अल्ट्रालाईट कम्पनीले भित्र्याएको दुई वटा क्लोज एयर क्राफ्टले गत बर्षको कार्तिक १० गते देखि उडान थालेको थियो । जर्मनीबाट प्रति जहाज तीन करोड रुपैयाको दरले ६ करोड लगानीमा भित्र्याएको दुई मध्य एउटा सम्पर्क बिहिन भएको हो ।
Post a Comment