गोल्डेन न्यूज संवाददाता
भारतद्वारा लगाइएको अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त भएको भन्दै पोखरा लेडि जेसीजले चर्को विरोध जनाएको छ । नेपाल जेसिजको आव्हानमा पोखरा लेडि जेसिजद्वारा आयोजना गरीएको भारतीय अघोषित नाकाबन्दी विरुद्धको विरोध कार्यक्रममा आमा समूह, स्थानीय व्यवसायी, मजदुर एवं नागरिक समाजका अगुवाहरुले बन्दको विकल्प खोजेर जनजीवन सहज गराउन माग गरे । नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष संगीता पौडेलले नेपाली भएर स्वतन्त्र बाँच्न पाउने अधिकारमाथि कुण्ठित गर्दै भारतद्वारा गरिएको हस्तक्षेप नेपाली जनतालाई स्वीकार्य नहुने बताइन् । पौडेलले बन्द हड्ताल र नाकाबन्दी जस्ता अवाञ्छित गतिविधिले महिला बालबालिका एवं मजदुरहरु सबैभन्दा बढि पीडित हुनु परेको बताइन् । कार्यक्रममा पश्चिमाञ्चल होटल एशोसिएशन का अध्यक्ष भरत पराजुलीले कहिले भूकम्प,कहिले बन्द हडताल त कहिले भारतको अघोषित नाकाबन्दिले अर्थतन्त्र र दैनिक जीवनयापन कष्टकर भएको भन्दै सरकारले तुरुन्त कुटनीतिक पहलबाट समस्याको समाधान गर्नु पर्नेमा जोड दिए । भारतीय नागरिक सन्तोष गुप्ताले भारतले गरेको नाकाबन्दिले भारतीय मजदुर पनि चर्को मारमा परेको भन्दै भारत सरकारलाई नाकाबन्दी फिर्ता गर्न आग्रह गरे । कार्यक्रममा लेडी जेसिज पोखराकी पूर्व अध्यक्षद्वय बसन्त के.सी, सीता पाण्डे, बालगृह संजालका गोमा ढकाल, नमुना आमा समूहका अध्यक्ष मिठुदेवी अधिकारी, गायत्री फुयाँल, रेनु थापा मगर लगायतले नाकाबन्दीले देशमा पारेको प्रभावले नागरिकको स्वतन्त्र भएर बाँच्न पाउने अधिकारलाई समेत हनन गरेको भन्दै सरकार सम्वेदनशिल भएर नागरिकको अधिकारलाई रक्षा गर्न माग गरेका थिए । नेपाल जेसीजले देश भरका १ सय ४० शाखाहरुमा एउटै समय भारतको अघोषित नाकाबन्दी विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
Post a Comment