जनताबाट चुनिएका प्रतिनिधिहरुको भारी बहुमतबाट नेपालको संविधान जारी भएपछि एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरप्राइज दिने गरी पार्टी परित्यागको घोषणा गरेका छन् । भारत अनुकुलको संविधान जारी नभएपछि डा. भट्टराईले मधेसीको मागलाई बहाना बनाएर एकाएक पार्टी परित्याग गरेपछि नेपाली राजनीतिमा विभिन्न आंकलनहरु गर्न थालिएको छ । भारतले चाहे जस्तो संविधान जारी नभएपछि भट्टराईले अझै खुशीयाली मनाउने दिन नआएको प्रतिक्रिया दिएका थिए । पछिल्ला भारत समर्थित गतिविधि र अभिव्यक्तिले भट्टराई भारतपरस्त हुन पुगेका त होइनन् भन्ने संकेत गरेको छ । यदि होइन भने संविधान पाएर लोकबासीहरुले हर्षबढाई गरिरहेका बेला भट्टराई भारतको समर्थनमा उत्रनुले उनी भारतपरस्त हुन भन्नेमा कुनै शंका छैन । उनले मधेसका मागलाई आधार बनाएर पार्टी परित्याग गर्नु केवल हात्तिका देखाउने दाँत हुन भन्ने लोकले बुझेका छन् ? १२ वर्षे सशस्त्र द्वन्द्वमा होमिएर १५ हजार भन्दा बढी जनताको बलिदानीबाट प्राप्त नयाँ संविधानलाई कार्यान्वयनमा ल्याउने महत्वपूर्ण कार्यभार पुरा गर्ने दायित्व उनको काँधमा आएको थियो । आफूले उठाएको संविधानसभाबाट नयाँ संविधान जारी गर्ने मुद्दा लामो समयको अन्तरालपछि यथार्थमा परिणत भएको छ । नयाँ संविधान कार्यान्वयन गर्ने पाटोलाई पुरा गर्ने अभिभाराबाट भट्टराई पन्छिन मिल्दैन । हजारौं सहिद र तिनका परिवारको आँशु, पसिना र रगत सुक्न नपाउदै भट्टराई जिम्मेवारीबाट भाग्न खोज्नु पीडादायक छ । यतिमात्रै होइन महाभूकम्पबाट थिलोथिलो परेको देशलाई पुनःनिर्माण गर्ने जिम्मेवारी पनि भट्टराईको काँध छ । ज्यानलाई बाजी लगाएर ल्याएको संविधानलाई संस्थागत गर्न र देशलाई पुनःनिर्माण गर्न भट्टराईले अग्रसरता देखाउने बेला हो यो । तर, उनले नेपालको स्वाधिनतामाथि बारम्बार हस्तक्षेपकारी भूमिका खेल्दै आएको भारतको पक्षपोषण गर्नुले उनको आर्किटेक्चर विचारमा धमिरा लागेको त छैन भन्ने पुष्टि गर्छ । भारतको योजना अनुसारको भारतमुखी संविधान नबनेपछि यति दुःखी भएकी पार्टी नै परित्याग गर्न पुगे । भारतले अनावश्यक दवाब र हस्तक्षेप गरिरहेको अवस्थामा राष्ट्रिय स्वाधीनताको रक्षा र विदेशीको हस्तक्षेपको खुलेर बिरोध गर्नुपर्ने अवस्थामा भट्टराईले नेपाल र नेपाली जनता छोडेर भारत रोजेका छन् । नेपालको संविधानलाई अघोषित बहिष्कार गरेर भट्टराईले गिलास आधा भरिएकोले अझै खुशी मनाउने समय नआएको बताएका थिए । बाबुरामको पार्टी परित्याग संवेदनशील अवस्थामा आएको छ । नयाँ संविधानमा भारतको आलोचना भइरहेको र त्यही निहुँमा नेपालमाथि अघोषित नाकाबन्दी गरिएको छ । यस्तो संवेदनशिल अवस्थामा भट्टराईको पार्टी परित्यागलाई सामान्य अवस्था लिनु हुँदैन । आफू हिस्सेदार रहेको संविधानबारे भट्टराईले बखेडा झिक्नु पनि हुँदैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment