संविधानमा मधेस जनताका माग सम्बोधन नभएको भन्दै भारतले अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन प्रभावित बनेको छ । स्वतन्त्र मुलुकले गरेको फैसलाप्रति भारतले नाकाबन्दी गरेपछि क्रुद्व बनेका नेपाली जनताले त्यसको प्रतिकारमा आन्दोलनका कार्यक्रम पनि जारी राखेका छन् । आफूलाई विश्वकै प्रजातान्त्रिक मुलुकको दुहाई दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देश अनुकुलको संविधान जारी नभएको भन्दै अघोषित रुपमा नाकाबन्दी गरेपछि उनको विश्वभरबाट आलोचना समेत भएको छ । मधेशलाई छुट्टै प्रदेश बनाउनु पर्ने माग गर्दै आएका मधेसी नेताहरु यतिबेला भारतको लगौटी समाति आफ्नै देशविरुद्व नाकाबन्दी गर्न सिमा नाकामा धर्ना बसेर दुनियाँलाई हँसाएका छन् । ‘आची गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेझै मधेसी नेताहरुको हैसियत दुनियाँसामु छर्लङ्ग भएको छ । भारतले नाकाबन्दी गरेपनि छिमेकी मुलुक चीनबाट नेपाललाई आवश्यक सामाग्री आयात गर्ने संभावना भएपनि नेपाल सरकारले भने खासै चासो देखाएको छैन । भूकम्पका कारण बन्द भएको चिनियाँ नाका तातोपानी पहिल्यै खुलाउने प्रयास भएको भए नेपाली बजारमा अहिले भारतिय अघोषित नाकाबन्दीको असर कम हुन्थ्यो तर, सरकारले नाका खुलाउने विषयमा गंभीर बन्न नसक्दा नेपाल जनता विस्तारवादी भारतको नाकाबन्दीको मार भोग्न बाध्य छन् । नेपालप्रति सधै बडे सा’वको भूमिका खेल्दै आएको भारतले हेपाहा प्रवृत्ति जारी राखिरहेको बेला अर्काे छिमेकी मुलुक चिनले नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएपनि नेपाल सरकारले त्यसप्रति अग्रसरता देखाउन नसक्दा आज नेपाल भारतको दास बनिरहनु परिरहेको छ । पछिल्लो समय नेपालका ठूला राजनीतिक दल भारतप्रति कडा रुपमा प्रस्तुत भईरहेका बेला अब भारतको मात्रै निर्भर नभई चिनसंग पनि आयात निर्यात गर्ने वातावरण सिर्जना गर्नमा लाग्न जरुरी छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनसंगका नाका खोलेर सहयोग मात्र गर्ने होइन विश्वका अविकसित देशहरूका लागि मानवीय तथा आर्थिक सहयोगका क्षेत्रमा काम गर्न संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुलाई आग्रह गरेर भारित हस्तक्षेपको कटाक्ष गरेका छन् । सिले ठूला राष्ट्रले साना मुलुकमा हस्तक्षेप गर्न नहुने भनेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतले पटकपटक नेपालमाथि अशोभनिय व्यवहार गरिरहँदा पनि सहेर बस्ने नेपाली राजनीतिक दलको व्यवहारका कारण नेपाल सधै परनिर्भरताबाट गुज्रिरहनु परेको छ । अब भारतसंग सधैं ज्यू हजुर भएर बाँच्ने जमानाबाट राजनीतिक दलहरु माथि उठ्न आवश्यक छ । भारतले स्वतन्त्र राष्ट्र नेपाललाई उपनिवेशको रुपमा हेर्ने गरेको छ । भारतको हेपाहा प्रवृत्तिलाई दनक दिनको लागि नेपालले अब चिनसंगको व्यापारलाई अघि बढाउन जरुरी छ । विश्वको उदाउँदो शक्ति राष्ट्र चीनले नेपाललाई सधै राम्रो व्यवहार गर्दै आईरहेको छ । चीन नेपालमा आयात निर्यात गर्न तयार रहेपनि राजनीतिक दलहरुले इच्छा शक्ति देखाउन नसक्नु दुःखको कुरा हो । अब बिलम्व नगरी नेपाल सरकारले चीन संगको व्यापारलाई विस्तार गर्नका लागि नेपालसंग जोडिएका चिनियाँ नाका तत्काल सूचारु गर्नका लागि युद्ध स्तरमा काम गर्न जरुरी छ । यसले आफूलाई सर्वेसर्वा ठान्ने भारतलाई समेत ठूलो धक्का दिनेछ र नेपालप्रति असल मित्रको भूमिका निर्वाह गर्न भारत झुक्ने निश्चित छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment