गोल्डेन न्यूज संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बन्द र हड्ताल गर्न नपाउने संवैधानिक व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । उनले लगातारको बन्द र हड्तालले उद्योग÷व्यवसाय धराशायी भएको समेत बताएका छन् । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ६१ औँ वार्षिक अधिवेशन उद्घाटन गर्दै उनले मधेशमा जारी आन्दोलनको क्रममा उद्योग÷ व्यवसाय तोडफोड भएको तथा व्यवसायीलाई धम्की दिइएको जानकारी दिँदै उनले भने–‘आन्दोलन गर्ने उहाँहरुको अधिकार होला तर उद्योग बन्द गराउने अधिकार उहाँहरुलाई कसले दियो ?’
सुरक्षा पाए व्यवसायीहरु उद्योग खोल्न तयार रहे पनि सरकारले उद्योगी÷व्यवसायीको कुरै नसुनेको उनको आरोप थियो । संविधान प्राप्तिपछि राजनीतिक क्रान्ति पूरा भएको र आर्थिक क्रान्ति सुरु हुने अपेक्षा पूरा हुन नसकेकोमा दुखेसो व्यक्त गर्दै उनले बलजफ्ती बन्द र हड्ताल हुँदा उद्योग÷व्यवसायमा पुग्ने क्षतिको भागिदार आन्दोलकारी नै हुनुपर्ने कानूनी व्यवस्थाको माग समेत गरे । बन्द र हड्ताललाई कारण देखाउँदै नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न बन्द गरेको जनाउँदै उनले भने–‘अहिले एलसी खोलेको सामान आउने डेढ महिनापछि हो, के मधेश अझै डेढ महिना बन्द हुन्छ ?’ बन्द र हड्तालले भारतका बन्दरगाह र बाटोमा सामान थन्कँदा भाडा बापत ठूलो रकम खर्च गर्नु परेको जनाउँदै उनले ती सामान नेपाल आउँदा मूल्यवृद्धि निश्चित रहेको बताए । पोखराको मणिपाल अस्पतालमा देखिएको मजदूर र व्यवस्थापन बीचको विवादले नेपालमा वैदेशिक लगानी निरुत्साहित हुने उनको धारणा थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अघोषित नाकाबन्दीले सृजना गरेको विषम परिस्थितिलाई मनन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नु पर्नेमा जोड दिए । भारतसँगको निर्भरता घटाउन, उत्तरी नाकाहरु खोल्न तथा रोजगारीको अवस्था सृजना गर्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताउँदै उनले उत्पादनशील क्षेत्रमा लगानी गर्न व्यवसायीसँग आग्रह गरे । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि यसले अन्तर्राष्ट्रिय सहरको स्वरुप धारणा गर्ने बताउँदै उनले बृहत पोखरा निर्माणको लागि आफ्नो तर्फबाट योगदान गर्न आग्रह गरे । पोखरालाई बालमैत्री, हरियालीपूर्ण तथा सौर्य उर्जा प्रयोग भएको सहर बनाउने अभियानलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्त उदास र कृष्णमोहन श्रेष्ठ, निवर्तमान अध्यक्ष संजिवबहादुर कोइराला, पोखरा हार्डवयर एशोसिएशनका अध्यक्ष प्रेमप्रसाद पौडेल, अग्रज पत्रकार नारायण कार्की, पत्रकार सन्तोष पोखरेल, विद्यार्थी सुमना बज्राचार्यल लगायतले आ–आफ्ना भनाइ राखका थिए । संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन महासचिव रविन्द्रबहादुर प्रजुले गरेका थिए ।
साधारणसभाले महासचिव रवीन्द्रबहादुर प्रजु तथा कोषाध्यक्ष दिलिपराज श्रेष्ठले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गरेको छ । महासचिव प्रजुद्वारा प्रस्तुत प्रतिवेदनमा संघ सुदृढिकरण देखि पोखराका विकास निर्माणका निम्ति गरिने गतिविधिहरु उल्लेख गरिएको छ । पोखराको जेठो सामाजिक संस्थाको परिचय बनाएको संघले उद्योगी÷ व्यवसायीको हितका अलावा समग्र पोखराको विकासका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसैगरी अधिवेशनले एक सदस्य एक सदस्यता थप अभियान अगाडि बढाउने निर्णय गरेको छ भने पोखरालाई ३ सय ६५ दिन नै खुल्ला राख्न गरिएको प्रस्ताव समेत सर्वसम्मतिले पारित भएको छ । यसअघि संघकै साधारणसभाले चाडपर्व बाहेकका हरेक शनिबार पसल व्यवसाय बन्द गर्ने निणर्य गरेको थियो । अधिवेशनले शनिबार ३ सय ६५ दिन नै पोखरा खुल्ला राख्ने निर्णय गरेपछि अब शनिबार पनि पोखरा खुल्ला रहने छ ।
यसैबीच पोखरा उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कास्कीमा सूचना संकलन तथा सोधपुछ कक्षको निर्माण गरि दिएको छ । संघले ३ लाख ४७ हजार लागतमा जिल्ला प्रहरी कार्यालयमा रहेका दुईवटा कोठामा आवश्यक पर्ने फर्निचर, कम्प्यूटर, ल्यापटप लगायतका आवश्यक सामाग्री सहित साजसज्जा समेत गरिएको अध्यक्ष विन्दुकुमार थापाले बताए । सो कक्षको शनिबार पश्चिमाञ्चलका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ले उद्घाटन गरे। उनले छिमेकीले गरेको सहयोगको प्रशंसा गर्दै सहयोगले शान्ति सुरक्षामा काम गर्ने प्रहरीको मनोबल बढेको बताए । उनले संघ र प्रहरीबीचको सहकार्य जारी रहने वचनवद्धता पनि व्यक्त गरे । उनले पोखरामा रात्रीकालीन व्यवसायलाई सुरक्षा दिँदै मध्यरातपछि समेत खोल्ने व्यवस्था मिलाइने उद्घोष पनि गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले शान्ति सुरक्षाको जिम्मा लिने प्रहरी संगठनलाई आवश्यक पर्ने सामाग्री सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । प्रहरी निरीक्षक वीरेन्द्र गोदारले कार्यक्रम संचालन गरेका थिए ।
पोउवासंघ पत्रकारिता पुरस्कार पोखरेललाई
पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७२ बाट नागरिक दैनिकमा कार्यरत पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । संघले यसैवर्ष स्थापना गरेको तथा प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि २५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्ला रहेको छ । कार्यक्रममा प्रमुख अथिति नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरार्काले उनलाई सम्मानित गरेका थिए । सम्मानपछि पत्रकार पोखरेलले आर्थिक पत्रकारिता पुरस्कारको स्थापनाले आर्थिक समाचार लेख्न प्रोत्साहन मिल्ने बताए । पुरस्कार छनोट समितिका सदस्य अग्रज पत्रकार नारायण कार्कीले संघले आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरेकोमा धन्यवाद ज्ञापन गरे । यसैगरी पोखराको औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान लक्ष्मी हाउसद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वरा संचालित लक्ष्मी विद्यापदक तथा पुरस्कार–२०७१ बाट सुरेन्द्र नेपाल र सुमना बज्राचार्य सम्मानित भएका छन् । सुरेन्द्र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वाणिज्यशास्त्र (विविएस) तर्फ उत्कृट हुँदै तथा सुमना पोखरा विश्वविद्यालय अन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातक (विविए) मा उत्कृष्ट भई पुरस्कृत भएका हुन् । सुरेन्द्र पृथ्वीनारायण क्याम्पस र सुमना पोखरा स्कूल अफ म्यानेजमेण्टकी छात्रा हुन् । पुरस्कारको राशि सात हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको थियो । लक्ष्मी विद्यापदकको यो १७औँ संस्करण भएको पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं लक्ष्मी विद्यापदक व्यवस्थापन समितिक सदस्य वसन्त उदासले जानकारी दिए । सुमनाले पुरस्कारले विद्यार्थीहरुलाई अझ हौसला थपेको बताइन् । यस्तै संघले यसै वर्षदेखि सुरु गरेको पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट वस्तुगत संघ सम्मानबाट पोखरा हार्डवयर एशोसिएशन सम्माति भएको छ । २०५२ सालमा स्थापित हार्डवयर एशोसिएशनले संघसँग आवद्ध भएर व्यवसायिक उत्थानमा पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । पोखराका ५५ वटाभन्दा बढी वस्तुगत संघहरु रहेका छन् । हार्डवयर एशोसिएशनका अध्यक्ष प्रेमप्रसाद पौडेलले सम्मान ग्रहण गर्दै सम्मानले थप जिम्मेवारी बोध भएको बताए । सम्मान छनौट समितिका संयाजक तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष संजिवबहादुर कोइरालाले वस्तुगत संघहरुको क्रियाशिलताले पोउवा संघलाई समेत जिम्मेवार बनाएको बताए ।
Post a Comment