0
म्याग्दीको बेगखोलाबाट पोखरा आई बसेका बेगखोलाका पुनहरुको संस्था बेगखोला कल्याणकारी समाज पोखराको ३ महिने लोपोन्मुख पुख्र्यौली नाच सोरठीको समापन शुक्रबार गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पुख्र्यौली सोरठी नाचका प्रमुख प्रशिक्षक गोरखा मेजर चन्द्रबहादुर पहरे पुनले आफ्नो संस्कृतिलाई जोगाउन पुन समुदायमा जनचेतना फैलाउन तीन महिले प्रशिक्षण सहयोगि भएको विश्वास व्यक्त गरे । उनले समाजका हरेक सदस्यले काम गर्नुपर्ने र आफ्नो पनलाई बचाई राख्ने काम आजको पुस्ताको भएकोले भविष्यमा आउने पुस्ताको लागि कामयाबी हुने विचार व्यक्त गरे । प्रशिक्षणको क्रममा पुनले सोरठीको पुख्र्यौली चरित्र, पौराणिक मान्यता तथा खेली, चट्के, तीन पुख्र्यौली नाच, घुमाउने भाका, सरस्वती जगाउने, गीतका टुक्काहरु बनाउने र गीतबाट आशिर्वाद दिने लगायतका चरणसम्म आउँदा तन्नेरी तथा उमेर चढेका प्रौढहरुले रुचि लिएर प्रशिक्षण लिएकोमा खुशी व्यक्त गए । सोरठीको विशेष जागरणको काम गरेका तथा जानकारी हर्क बहादुर पहरे पुनले हरेक समुदायको भाषा, भेषभूषा र मौलिक संस्कृति हुने भएकोले जगेर्नाको काम अघिल्लो पुस्ता तथा पछिल्लो पुस्तामा अघिल्लो पुस्ताले हस्तान्तरण गर्दै जाने परिपाटीमा लाग्न जोड दिए । कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष मेजन फगामी, गोपिराम गर्वुजा लगायतले आफ्नो संस्कार संस्कृति जगेर्ना को लागि सबैभन्दा पहिले समाज नै वढि उत्तरदायी भएर लाग्नु पर्नेमा जोड दिए । समाजका अध्यक्ष ओमप्रसाद पुर्जाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशिक्षक चन्द्रबहादुर पहरे पुनलाई सम्मान गरिएको थियो । साथै यस वर्ष एसएलसीमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका समाजका छोराछोरी भूषण फगामि, जमूना पुन, खुम बहादुर फगामी, एल्विस पुन, प्रकाश गुरुङ र पूजा सिंजालीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तिम चरणमा तीन महिने सोरठी प्रशिक्षण लिएका ३० जना महिला तथा पुरुषले सामुहिक सोरठी नाच र गायन प्रस्तुत गरेका थिए भने सहभागिलाई बेगखोला कल्याणकारी समाजले भोजन गराएर बिदाई गरेको थियो ।

Post a Comment

 
Top