0
गोल्डेन न्यूज संवाददाता
संबिधान सभाद्वारा ०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि मधेशी मोर्चाकोे निर्णयको हवाला दिंदै भारत सरकारको अघोषित सीमानका बन्द भएपछि देश अस्तब्यस्त भएको छ । पोखरा लगायत देशभर दैनिक उपभोग्य समानहरुदेखि औषधि, इन्धन तथा खाना पकाउने ग्यास लगायतका समाग्रीहरु पूर्णतया ठप्प भएपछि देश संकटमा परेको छ । २ महिना अघिदेखि शुरु मधेशी मोर्चाको आन्दोलनलाई समयमा नै संबोधन गर्न नसक्दा भारतीय नाका भएर आउने सबै सीमानाकाहरु आन्दोलनकारी र भारतीय साठगाठमा बन्द गराएपछि यतिबेला मुलुकको अर्थतन्त्र नै ठप्प भएको छ । यस्तै इन्धन अभावले पोखराको व्यापार व्यवसाय ठप्प छन् भने सवारी ाधन पनि ज्यादै न्यून मात्रामा चलेका छन् ।सवारी साधन चल्न नसक्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् । यस्तै इन्धन अभावमा पोखरामा संचालन हुने रात्रि व्यवसाय दोहोरी साँझ बन्द हुन थालेका छन् । पोखराको चिप्लेढुङ्गमा रहेको दौतरी दोहोरी साँझ बिहीबारदेखि बन्द भएको छ । यस्तै अस्पतालहरुमा औषधि छैन, यातायाका साधन सञ्चालनमा आउन सकेका छैनन, खाना पकाउने एलपि ग्यास अभावमा धैरैका चुल्हाहरु बन्द भैसकेका छन भने पर्यटकीय होटल रेष्टुरेण्ट तथा अन्य ब्यबसायहरु सबै अस्तव्यस्त भएको अधिवक्ता विष्णु अधिकारी बताउँछन् । अधिकारीका अनुसार नेपालीहरुको ठूला चाडपर्व दशैं नजिक आइरहेको यो समयमा दैनिक उपभोग्यका वस्तुहरु समेतको अभाव हँुदा सबै भन्दा बढी गरिब तथा सर्वसाधारण नागरिकहरु प्रभावित भएका छन भने अन्य सबै क्षेत्रमा सबैलाई दैनिक जीवनयापन कठिन भएको छ । 

खाद्यान्न सामाग्रीहरुको मूल्य बढेको बढ्यै छ । इन्धनको वैकल्पिक श्रोत केही छैन । स्कुल कलेज उद्योग धन्दा तथा ठूला व्यापारिक संस्थाहरु बन्द भएका छन तर समस्या समाधानको ठोस प्रयास भएको छैन ।’–अधिकारी बताउँछन् । यसै विषयलाई मध्यनजर  गर्दै शातिका लागि नागरिक अभियान कास्कीले कालो बजारी तथा अनियमितताप्रति संवेदनशिल भइ प्रभावकारी अनुगमन गर्न र समानुपातिक वितरण गर्न ध्यानाकर्षण गराएको छ ।
 
सञ्जालका संयोजक वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालको नेतृत्वमा अभियानका सदस्यहरु इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेल, विद्यार्थी नेताहरु शेखर गौतम, कृष्ण प्रसाद दाहाल लगायतको सहभागितामा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीलाई संकटको अवस्थामा कालो बजारी तथा अनियमितता प्रति सवेदनशिल भइ प्रभावकारी अनुगमन गर्न र समानुपातिक वितरण गर्न ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्र बुभ्mदै सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले अत्यावश्यक वस्तुहरुलाई समानुपातिक वितरणमा विशेष ध्यान दिइने भन्दैै यसमा नागरिक समाजले पनि खबरदारी गर्नुपर्ने बताए । जिल्लाको आपूर्ति व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयमा दिनहँु बैठक बसेपनि आयात नै ठप्प भएपछि स्टकमा रहेको थोरै डिजल इन्धनलाई आवश्यकता हेरी वितरण गर्ने निर्णय भएको छ । पेटोल र ग्यासको कुनै व्यवस्था कास्कीमा गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए ।
 
यसैबीच पोखरा केहि दिन अझै तेल आउने सम्भावना न्यून बनेको छ । पेट्रोलियम पदार्थ भर्न गएका ट्रयाङकरमा मंगलबारदेखि शुक्रबार सम्म पनि भरेको छैन । आन्दोलनरत दलका कार्यकर्ताले सीमामा धर्ना दिनुअघि नै इन्धन भर्न ८ वटा ट्याकंर रक्सौल पठाएकोमा सबै ट्यांकर उतै रोकिएका गगन गौडा डिपोका प्रमुख मनोज ठाकुरले बताए । शुक्रबार साँझसम्म पनि ती ट्याकंरमा तेल नभरेको उनले बताए । ठाकुरले भने पोखरामा केहिले तेल आउछ कुनै निश्चित नै छैन । डिपामा तेल छैन बाहिरबाट आउदैन तेल दिन सक्ने अवस्थामै डिपो छैन । रक्सोलबाट पोखरा आउन तीनदेखि चार दिन सम्म लाग्ने गरेको उनले बताए । अब करिब चारदेखि पाँच दिन पोखरा तेल वितरण हुने कुनै छाँटकाँट छैन । लामो समयदेखि पेट्रोलियम पदार्थको आयात बन्द भएपछि कास्कीको गगनगौंडा स्थित गगनगौंडा डिपो रित्तिएको छ ।
इन्डियन आयल कर्पोरेसन
 
(आइओसी) ले पेट्रोलियम पदार्थ नदिँदा नेपाल आयल निगमको सबैजसो भण्डार रित्तिसकेका छन् । ३ लाख ५० हजार पेट्रोल र करिब २२ लाख लिटर डिजेल भण्डारण गर्न सक्ने क्षमता रहेको डिपोमा अहिले कुनै पनि पेट्रोलियम पदार्थ बाँकी छैन । हामीसँग रहेका सबै स्टक तेलहरु वितरण गरिसक्यौं, डिपोका प्रमुख मनोज ठाकुरले भने–अब खोजेर पनि पेट्रोलियम पदार्थ पाईँदैन । इन्डियन आयल कर्पोरेसनले तेल दिने कुनै संकेत नदेखाएकाले अझै केही समय तेल आउने सम्भावना नरहेको समेत उनको भनाई छ । डिपोले अन्तिम पटक आईतबार पोखराका लागि ३६÷३६ हजार लिटर पेट्रोल र डिजल तथा १२ हजार लिटर बागलुङ, पर्वत र म्याग्दीका लागि वितरण गरेको थियो ।
 
ईमरजेन्सीका लागि केही लिटर पेट्रोलियम बाँकी छ, ठाकुर भन्छन्–सरकारी तथा नीजि र सार्वजनिक सवारी साधनहरुलाई बाँड्ने तेल छैन, एम्बुलेन्सका लागि भनेर राखेका हौं । गगनगौंडा डिपोले कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लामा पेट्रोलियम वितरण गर्दै आएको छ । त्यहाँबाट यस क्षेत्रमा दैनिक ८० हजार लिटर पेट्रोल र १ लाख ६० हजार लिटर डिजेल बिक्रि हुने गर्छ । समान्य अवस्थामा प्रत्येक दिन २५ देखि ३० लाख लिटरसम्म पेट्रोलियम पदार्थ आइओसीको रक्सौल डिपोबाट अमलेखगन्ज डिपो आउने गरेको थियो । बिगत १६ दिनदेखि १ लिटर पनि भित्रिएको छैन । अमलेख गञ्जमा पनि पोखराका ८ वटा ट्यांकर रहेको ठाकुरले बताए । हाम्रा सबैजसो ट्यांकरहरु उतै छन, उनी भन्छन्–‘बितरण गर्ने संकेत पाउने वित्तिकै हामी पठाउँछौं ।
 
यसैबीच कास्कीका विभिन्न विद्यार्थी संगठनहरुले बजारमा देखिएको अभाव वास्तविक हो या कालाबजारी भन्ने बारेमा अनुमगन गर्ने भएका छन् । शुक्रबार पोखरामा सम्पन्न नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति कास्की, अनेरास्ववियू कास्की, अखिल क्रान्तिकारी, अखिल छैटौलगायतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी बजार अनुगमन गर्ने जनाएका छन् ।
 
नेविसंघका जिल्ला सचिव विक्रमादित्य सिंह गिरी, अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम, अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष कृष्ण दाहाल, अखिल छैठौका कास्की अध्यक्ष गणेश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शनिबारबाट बजारमा अभाव देखिएका ग्यास, पेट्रोल, खाद्य, मासु जस्ता महत्वपूर्ण वस्तुको कडा अनुगमन गर्ने उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा मधेशमा हिंसा फैलाएर आन्दोलनको नाममा आतंक मञ्चाउने, नाकाबन्दी गरी सम्पूर्ण नेपाली जनतालाई रुवाबासी बनाउन खोज्ने पार्टी र त्यसका नेतालाई पनि कास्कीमा नाकाबन्दी गरी आउन प्रतबिन्ध लगाउने उल्लेख छ ।


Post a Comment

 
Top