0
गोल्डेन न्यूज संवाददाता
जिल्लाका किसानमा अलैंची खेतीतर्फ आकर्षण बढेपछि जिल्ला कृषि विकास कार्यालयले २४ हेक्टर जमिनमा खेती लगाउने लक्ष्य राखेको छ । अन्य खाद्यान्न बालीको तुलनामा अलैंचीबाट बढी आम्दानी हुने भएपछि कार्यालयले यो आर्थिक वर्षमा थप २ हेक्टरमा अलैंची खेती विस्तार गरी २४ पु¥याउने तयारी गरेको हो । जिल्ला कृषि विकास कार्यालय कास्कीका बागबानी विकास अधिकृत मनहर कडरियाका अनुसार २ हेक्टर भन्दा बढी जमीनमा अलैँचीखेती विस्तारको तयारी गरिएको हो ।
 
अहिले किसानहरु अलैंची खेतीतिर निकै आकर्षित भएका छन्, उनले भने–उत्पादन दिन थालेपछि आम्दानी राम्रो हुने र लगानी पनि कम लाग्ने भएपछि किसानहरुको हौसला बढेको हो । यसको विस्तारका लागि कार्यालयले किसानहरुलाई तालिम तथा प्राविधिक सेवा निशुलक उपलब्ध गराउँछ भने अलैँचीका विरुवा खरिदमा ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराउँछ । व्यवसायिक रुपमा खेती गर्ने किसानलाई कार्यालयले सहयोग गर्ने गरेको कडरियाको भनाई छ ।
 
जिल्लाका मिजुरेडाँडा, नामार्जुङ, पार्चे, भदौरेतामागी, सार्दीखोला, माछापुच्छ«े लगाएतका क्षेत्रमा अलैँची उत्पादन बढी हुन्छ । यहाँका किसानहरुले सहकारी नै गठन गरेर सामुहिक रुपमा अलैँची खेति सुरु गरेका छन् । कास्कीमा अलैँचीको एउटा विरुवालाई ९ देखि ११ रुपैयाँ सम्म पर्ने गर्छ । त्यसमध्ये ५ देखि ६ रुपैयाँसम्म कार्यालयले अनुदान उपलब्ध गराउँछ । विरुवा गाउँसम्म पु¥याउनका लागि कार्यालयले ढुवानीको समेत व्यवस्था गर्ने गरेको पत्रकार प्रकाश ढकालले एल ए नेपाल डटकममा  लेखेका छन् । अलैंचीले उत्पादन दिन थालेपछि वर्षेनी आम्दानीसमेत बढ्ने गरेको किसानहरुले बताएका छन् । कार्यालयमा हरेकवर्ष अलैंचीको विरुवा माग्न आउने किसानको संख्या बढ्दो छ, कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोईरालाले भने–हामी यसलाई ब्यवसायिक बनाउने अभियानमा छौं ।
 
गत बर्ष १० मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लाभर अहिले ३ वटा अलैची उत्पादन कृषक समूह गठन भएको छ । अलैँची खेतिलाई थप विस्तार गर्नका लागि कृषि विकास कार्यालयको सहयोगमा सार्दीखोला र सैमराङ गाउँ विकास समितिमा अलैँची नर्सरी समेत बनाईएको छ । अबको एक बर्ष्भित्र जिल्ला मै १ लाख बिरुवा तयार हुन्छन्, कार्यालय प्रमुख कोईरालाले भने–यसपछि झनै ब्यवसायिक किसान बढ्ने अनुमान छ । कास्कीमा अलैँची खेतिका लागि माटो सुहाउँदो भएकाले जिल्ला बाहिरका किसानहरुले पनि जग्गा भाडामा लिएर खे ितगर्न थालेका उनले जानकारी दिए ।
 
पछिल्ला केही वर्षदेखि जिल्लाका किसानले अन्य बाली छाडेर अलैंची लगाउने गरेका छन् । किसानहरुले खेतको कुना, खोल्साबाट सुरु गरेको अलैंचीलाई अहिले व्यवसायिक बनाईसकेका छन् । जिल्लाका केही गाउँमा किसानहरुले अहिले अन्य खेति छाडेर अलैंची लगाउने गरेको पाइएको छ । अर्मलाका अलैँचीखेति किसान जीत बहादुर बस्नेतले पनि कोदो र मकै हुने खेतबारीमा अलैँची लगाउन थालेका छन् । २ बर्षअघि ६० वटा विरुवाबाट खेती सुरु गरेका उनले अहिले थप २ हजार विरुवा रोपेका छन् । अलैँचीलाई प्राविधिक र ब्यवसायिक हिसावले खेति गर्न सके निकै राम्रो उत्पादन लिन सकिने उनको भनाई छ । अर्काले गरेको देखेर थोरै विरुवा मात्रै रोपेका थियौं, बस्नेत भन्छन्–तर यति राम्रो उत्पादन भएपछि अहिले थप २ हजार बिरुवा रोपेका छौं, तर प्राविधिक ज्ञानको खाँचो छ । उनले अलैँचीबाट गत बर्ष करिब ४० हजार रुपैयाँ आम्दानी गरेका थिए भने यो बर्ष १ लाख भन्दा बढी आम्दानी हुने अनुमान गरेका छन् । बजारमा अहिले अलैँचीको मुल्य १५ सय देखि ३ हजार रुपैयाँसम्म पर्छ । अलैँची खेतिको लागि जिल्लाभर अभियानका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने र किसानहरुलाई यससम्बन्धी तालिमको ब्यवस्था गर्नुपर्ने उनको माग छ ।
 
धान मकैको तुलनामा झण्डै २० गुणा आम्दानी हुने भएपछि किसानहरुले अलैंची खेती रोजेका हुन् । कम मेहनतमा धेरै आम्दानी हुन थालेपछि आँफुहरु धानबाली छाडेर अलैंची खेती गर्न लागेको मिजुरेका अर्का किसान होम बहादुर गुरुङले बताए । यहाँका किसानहरुले गत बर्ष अलैँची बेचेरै करिब २५ लाख रुपैयाँ आम्दानी गरेका थिए । मिजुरेमा सहकारी र ब्यक्तिगत रुपमै पनि अलैँची खेति विस्तार हुँदै गएको छ, उनले भने–ब्यापारीहरु गाउँमै पुगेर खरिद गरिदिने गरेपछि झनै आकर्षण बढेको छ । कृषि विकास कार्यालयसँगै जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि अलैँची खेतिका लागि किसानलाई सहयोग गर्दै आएको छ ।

Post a Comment

 
Top