0
गोल्डेन न्यूज संवाददाता
यो बर्षको दशैँका लागि पोखरामा २० हजार खसी बोका भित्रिने भएको छ । खसी बोका ब्यवसायीहरुले यो बर्ष गत बर्षको भन्दा करिब ८ हजार बढी खसी बोका भित्र्याउने तयारी गरेका हुन् । गतबर्ष दशैँका लागि १२ हजार भन्दा बढी खसीबोका भित्रिएका थिए । यो बर्ष करिब ६ हजार बोका मात्रै भित्रिने कास्कीका पशु स्वास्थ्य प्राविधिक फणेन्द्रराज ढकालले जानकारी दिए । अहिलेकै स्थिति कायम रहेमा र तराईमा आन्दोलन नभए २० हजार खसीबोका पोखरा भित्रिन्छन्, उनले भने–तिमिध्ये सबैभन्दा बढी बोका भित्रिने अनुमान छ ।
पोखरामा अष्टमीका दिन बढी बोकाको माग हुने एलए नेपालले उल्लेख गरेको छ । दसैंको अवसरमा खसी बोकाको माग उच्च हुने गरेकाले सोहीअनुसार गत बर्षभन्दा बढी भित्र्याउन लागेको उनको भनाई छ । खसी बजार पोखराका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठका अनुसार यो बर्ष खासगरी तराई क्षेत्रका खसीबोका बढी भित्रिन्छन् । यसअघि भारतबाट समेत खसीबोका आयात हुने पोखरामा भारतको अघोषित नाकाबन्दीका कारण सुर्खेत, धनगढी नेपालगञ्ज दाङ लगाएतका ठाउँबाट खसीबोका आउने क्रम सुरु भैसकेको उनले जानकारी दिए । यो बर्षका लागि खसीबोका आउने क्रम सुरु भैसक्यो, उनले भने–सप्तमी सम्ममा सबै आईसक्छन् ।
आयात बढ्ने भएपछि मुल्यमा भने खासै अन्तर नहुने उनको भनाई छ । गत बर्ष हामीले ४ सय २५ रुपैयाँ प्रति किलो बिक्रि गरेका थियौं, उनले भने–यो बर्ष १० रुपैयाँ बढ्न सक्छ । तराईमा भएको आन्दोलन र पेट्रोलियम पदार्थ अभावका कारण केही मूल्य बढेको उनले बताए । चाडबाडमा खसीबोकाको मूल्य बढ्न नदिन हामी लागिरहेका छौं, उनले भने–यसले उपभोक्तालाई धेरै राहत गर्नेछ । दशैँमा मासु बिक्री बढी हुने भएकाले व्यवसायीहरूले कालोबजारी गर्ने गरेका गुनासो यसअघि देखि नै सुनिँदै आएको छ । तर यो बर्ष त्यसलाई पुरै निर्मुल पार्ने तयारी गरिरहेको श्रेष्ठको भनाई छ । यो बर्षपनि बिशेष गरी पोखरा खसी बजारबाट खसी बोकाको बिक्री हुनेछ । खसी बजारबाट मात्रै करिब १० हजार खसी बोका विक्रि हुने खसी बजार ब्यवस्थापन समितिले जनाएको छ । यो बर्ष भारतबाट खसीबोका खासै आयात नहुने देखिएको छ । लामो समयदेखिको अघोषित नाकाबन्दीका कारण खसीबोका आयात गर्न नसकिने ब्यवसायीहरुले बताएका छन् । पोखरामा गत बर्ष भारतबाट करिब ९ हजार खसीबोका भित्रिएको थियो । यहाँ भारतको लखनउ, बहराइच लगायतका ठाउँबाट खसीबोका आयात हुन्छ ।
खसी बोकासँगै दशैँका लागि हिमाली क्षेत्रबाट च्यांग्रा पनि आयात गरिएको छ । व्यवसायीले पोखरा र आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै २० हजार च्यांग्रा मुस्ताङबाट व्यवसायीहरुले ल्याएका छन् । दशैंमा अत्यधिक खोजि हुने हिमाली क्षेत्रका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनका अनुसार उपल्लो क्षेत्रबाट व्यवसायीले धमाधम हजारौं च्यांग्रा पोखराका लागि ल्याईसकेका छन् । केही ब्यवसायीले हेमजा ल्याईसकेका छन् भने केही बाटैमा छन् । केही दिनभित्रै ति च्याङ्ग्राहरु पोखरा आईसक्ने ब्यवसायीहरुले बताएका छन् । यो बर्ष प्रति च्याङ्ग्राको मुल्य १५ देखि २५ हजार रुपैयाँ सम्म पर्ने उनीहरुको भनाई छ ।

Post a Comment

 
Top