0
गोल्डेन न्यूज संवाददाता
भारतले गरेको अघोषित नाकाबन्दीका कारण पोखरामा पेट्रोललियम पदार्थ तथा खाद्य सामाग्रीको अभाव संगै चर्को मूल्य उच्च बृद्धि भएको छ । पोखराको मुख्य बजार क्षेत्रमा सञ्चालन गरिएका ठूला डिपार्टमेन्ट स्टोर्स, बजारका अन्य पसलमा समेत अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने गोदामहरुमा समेत खाद्य सामाग्री अभाव हुन थालेको छ । भारतले नाकावन्दी गर्नुभन्दा अगाडि पोखराका ठूला तथा साना दैनिक उपभोग्य खाद्यान्न स्टोर्सको मूल्य सूचि र अहिलेको मूल्यलाई तुलना गर्दा बजार भाउमा ३५ प्रतिशत सम्म बृद्धि भएको स्वयं ब्यापारीहरुले बताएका छन् । नाकाबन्दी पहिला बजारमा ७० रुपैयाँमा पाइने केराउको मूल्य बढेर ८५ रुपैयाँ पुगेको छ भने १ सय पाँच रुपैयाँमा बिक्री हुने चनाको मूल्य बढेर १ सय ४० रुपैयाँ पुगेको छ ।
त्यसैगरि १ सय ९० रुपैयाँ पर्ने कालो दालको मूल्य हाल दुई सय २५ रुपैयाँ पुगेको छ भने अडहरको दाल एक सय नब्वे रुपैयाँबाट बृद्धि भई दुई सय २० रुपैयाँ पुगेको छ । यस्तै एक सय २० रुपैयाँको भट्टमासको तेल एक सय ४५ रुपैयाँ पुगेको छ भने नियमित प्रयोग हुने चिनीमा ६० रुपैयाँबाट बृद्धि भई ६८÷७० रुपैयाँ पुगेको बताइन्छ । पत्रकार नरहरि पौड्याल सरोकारन्यूजमा लेख्छन्–‘बिहान बेलुका जनताको हातमुख जोर्नकालागि आवश्यक पर्ने चामलको मूल्यमा पनि प्रति केजी ८ रुपैयाँसम्म बढेको छ । यसैगरि मैदामा ५ रुपैयाँ, आटामा ४ रुपैया, चिउरामा १०, रहरको दालमा २० रुपैयाँ बढेको एसएमएस स्टोर्स पृथ्बीचोका केदार श्रेष्ठ बताउँछन् ।  उनले भने–‘नाका बन्दी, सुरक्षा चुनौती र पेट्रोलियम पदार्थको अभाव जस्ता कारणले खाद्य सामाग्री ल्याउने ट्रकले नै भाडा बढाएपछि खाद्य सामाग्रीको मूल्य बढेको भनाई खाद्यान्न ढुवानी कर्ताहरुले आफूलाई सुनाउने गरेका छन् ।’
श्रेष्ठले नाकाबन्दीले तराईका नाका ठप्परहेकाले उपभोक्तको मागको तुलनामा आपूर्ति नभएकाले खाद्य सामाग्रीहरुको मूल्य बढेको दावी गर्छन् । तराई बन्दकारण लामो समयदेखि प¥र्याप्त मात्रामा दैनिक उपभोग्य बस्तुको नियमित आपूर्ति हुन नसकेको भन्दै श्रेष्ठले आफूले सुरक्षा चुनौती मोलेर चलाएका ट्रकहरुले ढुवानी भाडा बढाएका कारण खाद्य सामाग्रीको मूल्य बढेको स्पष्ट पारे । अहिले विराटनगर नाकाबाट मात्र फाट्टफुट्ट मात्रामा सवारी चल्दै आएकाले ढुवानी विराटनगरबाट गर्दा नाकाबन्दी अघि १८ हजार रुपैयाँमा १७ टन सामाग्री ढुवानी हँुदै आएको भएपनि अहिले ३० हजारसम्म व्यवसायीले भाडा लिने गरेको श्रेष्ठले बताए । तराईमा बन्दले पेट्रोलियम पदार्थ र खाद्यान्नको नियमित आपूर्ति हुन नसकेको मैका छोपेर सामान ढुवानीकर्ता र सवारी साधनहरुले आफूखुसी भाडा लिने गरेकाले बजार भाउ ४० प्रतिशत भन्दा बढीले बृद्धि भएकोे उनले बताए । पोखरामा सञ्चालित साना किराना पसल देखि ठूला डिपार्टमेन्टल स्टोरहरुमा समेत २० देखि ४० प्रतिशत मूल्य बृद्धी भएको बताइन्छ । पोखराको नयाँ बजारमा रहेको मार्गदर्शन सपिङ्ग कम्पेलेक्सका सञ्चालक पुरन श्रेष्ठले आफूहरुको स्टोर्समा करिब ५० प्रतिशत उपभोग्य सामाग्रीहरुको अभाव भएको बताए । अब पनि नियमित आपूर्ति नहुने हो भने खरिदका लागि आउने ग्राहकहरुका लागि आवश्यक सामाग्री उपलब्ध गराउन नसकिने उनले बताए । नाकाबन्दीका कारण खाद्यलगायतका सामाग्रीमा ट्रक संचालकले ढुवानी शुल्क बढाएकाले १० प्रतिशत भन्दा बढी मूल्य बृद्धि भएको श्रेष्ठ बताउँछन् ।
यता, उपभोक्ता संघ कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले खाद्य सामाग्री लगायतका वस्तुहरुको बजार अनुगमन निरन्तर गरि राखेको र अनुगमनका क्रममा खुद्रा ब्यपारीबाट २० प्रतिशत भन्दा बढी मुनाफा राखेर सामाग्रीहरु बेचेको नभेटिएको बताए । ‘यदि २० प्रतिशत भन्दा बढी नाफा लिएको पार्ईएमा कालोबजारी ऐन अन्तर्गत कार्वाही गरिने उनले चेतावनी दिए ।
यता, उपभोक्ताले भने भारतले गरेको अघोषित नाकाबन्दीको मौका छोपेर व्यापारीहरुले आफू खुशी बजार भाउ निर्धारण गरि बढी मुनाफा लिएर उपभोक्तालाई शोषण गरेको आरोप लगाउने गरेका छन् । तराई बन्दको बहानामा दैनिक उपभोग्य वस्तुको अभाव देखाउँदै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् भने स्थानीय बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएपछि उपभोग्य सामाग्री खरिदकै क्रममा महंगो परेकाले खरिदकै आधारमा बिक्री वितरण गर्दै आएको ब्यापारीहरु बताउँछन् ।

सवारीभाडा र पेट्रोलमासमेत चर्को कालोबजारी

भारतले अघोषितरुपमा गरेको नाकावन्दीले पेट्रोलियम पदार्थको अभाव भएपछि पोखरामा फाट्टफुट्ट मात्र सवारी साधन चलेका छन् । ती सवारीसाधनमा खचाखच यात्रु हुने गरेका छन् भने सवारी साधनले यात्रुसंग मनपरी भाडा अशुल्ने गरेका छन् । पोखरा नगर र छिमेकका गाविसहरुमा यात्रुलाई नियमित सेवा दिंदै आएको पोखरा बस ब्यवसायी समिति र ट्याक्सी व्यवसाय समितिको मतहतमा सञ्चालन हुने नगर बस, माईक्रोबस र ट्याक्सीहरुले पेट्रोलियम पदार्थको अभाव देखाउँदै यात्रुहरुसँग मनपरी भाडा लिन थालेको पत्रकार नरहरि पौड्याल सरोकार न्यूजमा लेख्छन् । नजिकिंदै गरेको महान पर्व बडादशंैको आगमन संगै यात्रुको बढ्दो चापको फाईदा उठाउँदै ब्यवसायीहरुले मनपरि चर्को भाडा अशुद्यन थालेपछि यात्रुहरु आक्रोशित बन्ने गरेका छन् । नजिकिंदै गरेको चाडपर्व र नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा आवत–जावत गर्न कठिनाई भएको अवस्थामा फाटफुट सञ्चालन भएका सवारी साधनहरुले इन्धनको अभाव देखाएर सेवाका नाममा यात्रु संग भाडावापत मोटो रकम असुल्न थालेका हुन् । बुधबार बिरामी भेट्न महेन्द्रपुल जान बिरौटा चोकबाट नगर माईक्रो चढेका पुरुषोत्तम पौडेलसंग बसका सह–चालकले भाडा ३० रुपैयाँ दिन भनेपछि बिवाद नै गर्नु प¥यो ।
मैले साबिकको भाडा २० रुपैयाँ भएकाले समितिले तोकेको भाडा मात्र तिर्ने बताएपछि उसले मलाई तथानाम गाली गरे’–उनले भने । बसमा चढेपछि खोरमा भेडाच्याङग्रा राख्दा जस्तोगरी ठेलमठेल राख्ने र आफू खुसी भाडा अशुल्ने गरेको पौडेलको गुनासो छ । उनले भने–‘यसरी मनपरि शहर बजारमा खुलेआम नियम र कानूनको समेत ख्यालै नगरी यात्रुको अनुहार हेरेर भाडा अशुल्दा न समितिले कार्वाही गर्छ न प्रहरी प्रशासनले नै ।’ सवारी भाडाको अनुगमन र कार्वाहीको अख्तियारी पाएको जिल्ला ट्राफिक प्रहरी कास्कीका प्रहरी निरीक्षक श्यामु अर्यालसंग अनुगमन र कार्वाही प्रक्रियाका वारेमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । ट्राफिक प्रहरी प्रमुख अर्यालले प्रयोग गर्ने मोवाइल नम्बरमा सम्पर्क गर्न खोज्दा नम्बर मिलेन मात्र भन्छ । ट्राफिक प्रमुख अर्यालले आफ्नो मोवाइलमा फोन आएको जानकारी भने पाउछन् तर फोन गर्ने व्यक्तिले नम्बर मिलेन भन्ने सन्देश आउँछन् । अर्यालले आफूले चिनेजानेको नम्बरबाट फोन आएको भए तत्काल फोन गरेर जानकारी लिन्छन् नत्र वास्ता नगर्ने गुनासो गोल्डेन न्यूज दैनिकको कार्यालयमा आएको छ ।
यता, पेट्रोलियम पदार्थको अभाव र अन्य कुनैपनि कारण देखाएर ब्यवसायीले बढी भाडा लिने समितिले कुनै निर्णय नगरेको पोखरा बस ब्यवसायी समितिका कार्यबाहक अध्यक्ष देउप्रसाद गुरुङ बताउँछन् । उनले भने–‘यदि कसैले बिषम परिवेसको फाइदा उठाएर बढी भाडा लिएमा समितिले उसलाई कार्वाही गर्छ ।’ यात्रुहरुलाई तोकिएभन्दा बढी भाडा नतिर्न समेत आग्रह गदै उनले त्यस्ता कार्य भएमा अनुगमन गरिने बताए । पेट्रोलिएम पदार्थको अभावका कारण पोखरामा दैनिक २ सय ५१ बसहरु मध्ये अहिले दैनिक २५ वटा बसहरु मात्र संचालन भएको बताउँदै गरुङले अब केहि दिनसम्म अभाव कायमै रहे माइक्रोबसहरु सञ्चालन गर्न नसकिने स्पष्ट पारे । तीन सातादेखिको भारतिय आघोषित नाकाबन्दीका कारण देशभर नै पेट्रोलियम पदार्थको अभाव भएको समयमा पोखरा पनि त्यसबाट अछुतो रहन सकेको छैन ।
यसअघि पोखराको पृथ्बीचोकदेखि महेन्द्रपुल सम्मको ट्याक्सीभाडा ७० रुपैयाँसम्म थियो तर अहिले सात सय रुपैयाँसम्म भाडा लिने गरेको पृथ्बी डेण्टलका सञ्चालक दिनदयाल भण्डारीको गुनासो छ । पेट्रोलियम पदार्थको अभाव भन्दै ट्याक्सीहरुले चर्को भाडा लिएर सर्वसाधारणको ढाड सेक्ने गरेको भण्डारीको गुनासो छ ।
यता, पोखरामा पनि पेट्रोलियम पद्धार्थको चर्को अभाव भएपछि यसमा पनि चर्को कालोबजारी भएको छ । यसमा विशेषगरि भारतिय नागरिकहरु सक्रिय हुने गरेको बताइन्छ । भारतीय नागरिकहरुले चोरी बाटोबाट ड्रममा भरेर भारतबाटै साविकको मूल्यमा पेट्रोल भित्र्याउने गरेको सूचना गोल्डेन न्यूज दैनिकलाई प्राप्त भएको छ । ती भारतीय नागरिकले १ लिटर पेट्रोलको मूल्य ५ सय रुपैयाँ भन्दा बढीमा विक्री गर्ने गरेका छन् ।
पोखराकी एक महिलाले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै भनिन्–‘मलाई अति जरुरी भएपछि प्रतिलिटर ४ सय ५० रुपैयाँमा ३० लिटर पेट्रोल खरिद गरेर आफू काठमाडौं गएको हुँ ।’ चर्को मूल्य तिर जतिपनि परिमाणमा पेट्रोल पाइने उनले बताइन । यस्तै पोखरामा सञ्चालित ट्याक्सीहरुले मनलाग्दो भाडा लिने गरेका यात्रुको गुनासो गरिरहेका बेला ट्याक्सी चालकहरुलदे भने पेट्रोल ५ सय रुपैयाँमा १ लिटर पेट्रोल किनेकाले बढिभाडा लिन बाध्य भएको बताउँछन् । बिगत ५ बर्षदेखि पोखरामा ट्याक्सी चलाउँदै आएका ग१ज १९०४ का चालक रमेशले सुनैलीबाट साथीमार्फत लिटरको ५ सय रुपैयाँमा पेट्रोल ल्याएको बताए । ‘महंगो मूल्य तिर्दापनि पेट्रोलमा पुरै मट्टितेल मिसाएको रहेछ इञ्जिननै बर्वाद हुने भयो’ उनले गुनासो गरे । अझ पेट्रलमा जीवनजल पानी मिसाएर उपभोक्ता ठग्ने समूह समेत सक्रिय हुने गरेको बताइन्छ । यसमा कुनैपनि निकायको ध्यान पुग्न नसकेको गुनासो बढ्दै गएको छ ।



Post a Comment

 
Top