गोल्डेन न्यूज संवाददाता
भानुमार्ग टोल विकास संस्था गठन गरी टोलमा विकासका साथ सामाजिक कार्यलाई जागरण गराउने उद्देश्यले स्थापित समितिको दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि पोखरा उपमहानगरपालिका शहरी गरिबी न्यूनिकरण तथा सामाजिक परिचालन शाखाका सहायक अधिकृत सरस्वती अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै टोलको विकासको लागि टोलका व्यक्ति नै लाग्नुपर्ने बताइन । उनले नगरपालिकाका अन्य शाखाभन्दा सहरी गरिबी न्यूनिकरण शाखा टोल किवासको हकहित अधिकारको प्रत्यक्ष निगरानी राखी टोलमा रहेका समूहलाई क्षमतावान बनाउन लागिपरेको हुँदा योजना तथा तालिमको आवश्यक परेमा पोउमनपाको तर्फबाट सहयोग गर्न तयार रहेको बताइन ।
कार्यक्रममा सचिवको प्रतिवेदन सचिव माधव न्यौपाने र आर्थिक प्रतिवेदन कोषाध्यक्ष डिलमाया थापबाट प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । साधारणसभामा २ वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुनेमा अध्यक्षमा विजयकुमार गुरुङ्ग, उपाध्यक्ष निर्मला कार्की भण्डारी, सचिव तिलादेवी सुवेदी, सहसचिव शारदा गौतम, कोषाध्यक्ष डिलमाया थापा र सदस्यहरुमा किरण गुरुङ्ग, एकमाया श्रेष्ठ, रिता श्रेष्ठ र चेत बहादुर क्षेत्री रहेका छन् । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष एवम् समाजसेवी सम्मरबहादुर श्रेष्ठ, पारालिगल वडा कमिटी वडा नं.१० का अध्यक्ष अनिता तिमिल्सिना, संस्थाका सदस्य विजय गुरुङ्ग, स्नेही महिला जागरण केन्द्र बैतडीका अध्यक्ष कृष्ण कुमारी पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा २ वर्षे कार्यकालमा टोललाई सक्रिय बनाउन सहयोग गर्ने टोलका अध्यक्ष शारदा गौतम, सचिव माधव न्यौपाने र सदस्य विजय कुमार गुरुङ्गलाई सम्मानपत्रले सम्मान गरिएको उक्त कार्यक्रममा टोलका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
Post a Comment