गोल्डेन न्यूज संवाददाता
पोखरामा मुटुरोगीहरुको उपचारका लागि लायन्स इन्टरनेशनलबाट मोटो रकम सहयोग स्वरुप आउने भएको छ । पोखरा र छिमेकी जिल्लाका मुटु रोगीहरुले छिटो उपचार नपाउँदा अधिकांशको ज्यान जाने गरेको र थोरैलेमात्र थप उपचारका लागि हेलिकोप्टर समेतको प्रयोग गरेर राजधानी काठमाडौं जानुपर्ने बाध्यात्मक अवस्था थियो । यसलाई अन्त्य गर्न आवश्यक रहेको भन्दै विभिन्न क्षेत्र र संघ–संस्थाका प्रतिनिधिहरुले आवाज उठाउँदै आएकोमा अब त्यसले सार्थकता पाउने सम्भावना बढेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटुरोगीहरुको उपचारका लागि सिसियु अर्थात कार्डियो केयर युनिट स्थापना गर्न आवश्यक पर्ने भवन र बेडको व्यवस्था भएपनि उपकरणको अभावका कारण सेवा सुचारु हुन नसकेको अवस्थामा लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले उपकरणका लागि सहयोग गर्ने भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर ध्रुवबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार मुटुरोगीको उपचारका लागि सिसियु अर्थात हर्ट केयर सेन्टर संचालनमा आवश्यक उपकरणका लागि एक लाख अमेरिकी डलर तत्कालै आउने भएको छ । अक्टुवर १ अर्थात असोज १४ गते सम्पन्न लायन्स अन्तर्राष्ट्रियको बोर्ड बैठकले पोखरामा हर्ट केयर सेन्टरको स्थापनाका लागि उपकरण खरिद गर्न उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । लायन्स अन्तर्राष्ट्रियमा विभिन्न योजनाका लागि विभिन्न लायन्स क्लवको तर्फबाट प्रस्ताव आउनुपर्ने भएपनि हर्ट केयर सेन्टरको प्रस्ताव भने पोखराका कुनै लायन्स क्लवको तर्फबाट नभइ डिष्ट्रिक्ट आफैले गरेको हो । गभर्नर थापाका अनुसार जुलाई ३१ अघि नै आफूले यससम्बन्धी प्रस्ताव लायन्स अन्तर्राष्ट्रियमा पेश गरेका कारण अक्टुवर १ को बोर्ड बैठकले पारित गरेको हो । हर्ट केयर सेन्टर निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघले १५ लाख रुपैयाँ विनियोजन गरिसकेको र अन्य दाताहरुसंग समेत सहयोगका लागि पहल भइरहेको बताइन्छ । तत्कालका लागि १ करोड ५० लाख रुपैयाँ जुटाएर करिब २ महिना भित्रमा मुटुरोगीको उपचार शुरु गरिने र यसलाई विस्तार गर्दै लैजाने विषयमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको व्यवस्थापनसंग कुरा भइरहेको डिष्ट्रिक्ट सचिव विश्वेश्वर आचार्यले जानकारी दिए ।
लायन्स अन्तर्राष्ट्रियको स्टेण्डर्ड ग्राण्ड अन्तर्गत उक्त रकम प्राप्त हुने भएको छ । यस किसिमको सहयोग यसअघि लेखनाथ सामुदायिक अस्पताल निर्माणका लागि र गत वैशाख १२ गते महाभूकम्पबाट पीडितहरुको उद्धारका लागिमात्र प्राप्त भएको थियो । लायन्स अन्तर्राष्ट्रियले पोखरा र आसपासका अन्य क्षेत्रमा विभिन्न परियोजनामा सहयोग गर्दै आएको भएपनि स्ट्याण्डर्ड ग्राण्ड अन्तर्गत सहयोग आएको थिएन ।
यसैबीच लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी १ नेपाल का डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले आफ्नो कार्यकालको ३ महिनाको छोटो अवधिमा नै नेपाल लायन्स फाउण्डेशनमा धेरै रकम जम्मा भएकोमा खुशी व्यक्त गरेका छन् । शुक्रबार राति करिब ९ बजेतिर आफ्नो फेसबुक वालमा एक सन्देश लेख्दै उनले आफ्नो कार्यकालको महत्वपूर्ण कार्यक्रम नेपाल लायन्स फाउण्डेशनलाई मजबूत बनाउने योजना रहेको र यो योजनामा महत्वपूर्ण सहयोग गर्नै सबैलाई आभार व्यक्त गरेका छन् ।
फेसबुक सन्देशमा उनले भनेका छन्–‘मेरो यस बर्षको प्रमुख कार्यक्रम नेपाल लायन्स फाउण्डेशनलाई अझ मजबूत बनाउने योजनामा यहाँहरुले एतिहासिक साथ दिनु भएकोमा म डिष्ट्रिक्ट गभर्नर हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’ विगत बर्षहरुदेखि अघिल्लो लायन बर्ष अर्थात ३० जून २०१५ सम्म डिष्ट्रिक्टको नेपाल लायन्स फाउन्डेसनमा १ करोड १२ लाख पाँच सय रुपैयाँ जम्मा भएको जानकारी दिंदै उनले भने–‘अब यस लायन्स बर्षमा सोही बराबर रकम थप गरि २ करोड २५ लाख भन्दा बढी रकम पु¥याएर आगामी गभर्नरलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छु । यो महाअभियानमा तपाइँहरुको निरन्तर साथको अपेक्षा राखेको छु ।’ उनको फेसबुक सन्देशपछि प्रतिकृया दिंदै अधिकांशले सफलताको शुभकामना दिएका छन् । राति १२ः१५ बजेसम्मा ३८ जनाले उनको फेसबुक सन्देशमा सकारात्मक प्रतिकृया जनाउँदै शुभकामना दिएका छन् भने ११५ जनाले लाइक गरेका छन् ।
गभर्नर थापाले यसअघि विभिन्न लायन्स क्लवहरुको पदस्थापन कार्यक्रममा समेत यस्तै खुशी व्यक्त गर्दै आएका थिए । थापाको यो अभियानलाई सहयोग पु¥याउन पोखराका र पोखरेलीको प्रतिष्ठा जोगाउन पोखरेली लायन्सहरुले नेपाल लायन्स फाउडेशनमा महत्वपूर्ण सहयोग गर्दै आएको बताइन्छ । नेपाल लायन्स फाउण्डेशनमा सहयोगद गर्नेको संख्या ह्वात्तै बढेकोमा अन्तर्राष्ट्रिय लायन्सका प्रमुखहरु आश्चर्यमा परेको गभर्नर थापाले बताए । गभर्नर थापाको यो अभियानलाई सघाउन सेकेण्ड भिडिजि धनराज आचार्य र डिष्ट्रिक्ट सचिव विश्वेश्वर आचार्य सक्रिय भएर लागेको बताइन्छ ।
Post a Comment