गोल्डेन न्यूज संवाददाता
भारतीय नाकाबन्दीले इन्धन अभाव हुँदा सवारी संचालनमा समस्या रहेको पृथ्वी राजमार्ग बस संचालक समितिले जनाएको छ । इन्धन अभावका कारण दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन नसकेको समितिले जनाएको छ । समिति अध्यक्ष एनकुमार साइले दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन नसकेको बताए । करिब एकमहिना अघिदेखि अग्रिम टिकट खुलाउनुपर्ने भएपनि इन्धन अभाव र तराइ आन्दोलनले अनिश्चित भएको उनले बताए । ‘भारतको नाकाबन्दीले दैनिक जनजीवन कस्टकर बन्दै गएको छ । यातायात व्यवसाय धरासायी हुने अवस्थामा पुगेको छ’ उनले भने,– हवाइमाध्यम बाट इन्धन आपूर्ति गरेर भएपनि राज्यले सेवा दिनुपर्छ ।’ ठूलो धनराशी लगानी भएको सार्वजनिक सवारी इन्धन अभावमा थन्काएर राख्नुपर्दा समस्या भएको उनले बताए । आलोपालो गरेर चलाउन समेत धौधौ भएको समितिले जनाएको छ । इन्धन अभावमा समितिले पोखराबाट संचालन गर्ने लामो तथा छोटो दुरीको बससेवा समेत खुम्चाउन बाध्य भएको उनले बताए ।
यसैगरी भारतीय नाकाबन्दी र तराई आन्दोलनले खसी बोका ल्याउन नपाएपछि खाद्य संस्थानले यसपटक दशैंमा मुस्ताङका च्यांग्रा भित्र्याउने भएको छ । संस्थानले यो दशैंमा पहिलोपटक हिमाली क्षेत्रका च्यांग्रा किनेर उपभोक्तालाई बेच्न लागेको हो । संस्थानले किन्ने च्यांग्रा मुस्ताङको माथिल्लो भेगबाट तलतिर झार्न सुरु गरिएको छ । संस्थानका मुस्ताङ प्रमुख भरत खनियाँका अनुसार दशैंका लागि च्याङ्ग्रा किनेर काठमाडांै लैजाने तयारी गरिएको हो । संस्थानले झण्डै एक हजार च्यांग्रा मुस्ताङबाट काठमाडांै लैजाने जनाएको छ । ‘संस्थानले दशैमा पहिलो पटक हिमाली क्षेत्रको च्यांग्रा बेच्ने तयारी गरेको छ’, उनले भने,–‘नाकाबन्दी र आन्दोलनले तराईको बाटो हुँदै भारतबाट खसीबोका ल्याउन सकिएन ।’ भारतीय खसीबोका नपाएपछि च्यांग्रा किन्ने तयारी भएको उनले बताए । उनका अनुसार अघिल्ला दशैमा संस्थानले करिब चार हजार खसी बोका राजधानी लगेर सहुलियत दरमा बेच्थ्यो । यसपालि खसीबोकाको सट्टा च्यांग्रा बेच्ने तयारी गरिएको हो । च्यांग्रा किन्न संस्थानका कर्मचारी माथिल्लो मुस्ताङ पुगेर पशुपालकसंग भेट गरी फर्किसकेका छन् । ‘हामी आफै किसानको घरमा पुगेर च्यांग्रा किन्ने भनेका छौ । किसानले जोमसोमसम्म ल्याईदिन्छन्,’ उनले भने,–‘माथिबाट हिंडाईसकेका छन् । जोमसोम आईपुग्न एक साता लाग्छ ।’ च्यांग्रा जोमसोमबाट गाडीमा राखेर काठमाडौं पु¥याउने उनले बताए ।
संस्थानले जिउदो च्यांग्रा प्रतिकिलो चार सय ६५ रुपैयाँमा किनेर काठमाडौं पु¥याउने र लागत हेरेर उपभोक्ता मूल्य तोक्ने खनियाँले बताए । संस्थानले माथिल्लो भेगका लोमान्थाङ, घामी, चराङ, सुर्खाङ लगायतका क्षेत्रका च्यांग्रा खरिद गर्दैछ । हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा धेरैले रुचाउँछन् । चिसो हावापानीमा हुर्केकाले च्यांग्राको मासु बढि स्वादिलो हुने बताईन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का लोमान्थाङ प्रमुख सन्तोष शेरचनका अनुसार माथिल्लो भेगबाट किसानले च्यांग्रा धमाधम तल झारिसकेका छन् ।
व्यवसायीले अघिल्ला बर्ष तिब्बती च्यांग्रा ल्याउने गरेपनि यो बर्ष नल्याउने भएका छन् । मुस्ताङको चेनुङ भन्सार प्रमुख धर्मराज सुवेदीका अनुसार यसपटक भदौमा मेला नलाग्दा तिब्बती च्यांग्रा नेपाल भित्र्याउन नसकिएको हो । नेपाल र तिब्बत सिमानामा बर्षमा दुई पटक साप्ताहिक मेला लाग्ने गर्छ । असार र भदौमा मेला लाग्ने भएपनि यो बर्ष भदौमा मेला लागेन । बोर्डर सिल भएकाले अरु बेला तिब्बती च्यांग्रा ल्याउन संभब नहुने नागरिक दैनिकमा सन्तोष पोखरेलले खबर लेखेका छन् ।
Post a Comment