0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नेपाल पौडी संघद्वारा संचालित सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७२ अन्तरगत १९ औं राष्ट्रिय पौडी प्रतियोगिताको दोश्रो दिन बिहीबार थप ३ राष्ट्रिय कीर्तिमान कायम भएको छ । सातदोवाटोस्थित पौडी पोखरीमा भएको खेलमा शिरिष गुरुङ्गले ४ सय मिटर फ्रिस्टायल र २ सय मिटर व्यक्तिगत मिड्लेमा थप दुई राष्ट्रिय किर्तिमान कायम गरे । अर्को कीर्तिमान महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा कायम भयो । सेनाका गुरुङ्गले किर्तिमान राख्ने क्रममा ४ सय मिटर फ्रिस्टायलमा ४ मिनेट ३६.७८ सकेन्डको समय निकाले । उक्त दुरीमा उनकै नाममा २०१३ मा काठमाडांैमा भएको दोश्रो एनएसए कपमा ४ मिनट ४७.३८ सेकेन्डको समय थियो । उक्त दुरीमा सेनाकै देवेश मानन्धर र दिपेश चौधरी क्रमशः दोश्रो र तेश्रो भएका थिए । त्यस्तै २ मि. व्यक्तिगत मिड्लेमा उनले २ मिनट २७.०३ सेकेन्डका साथ दुरी पुरा गरे । यस विधामा उनकै नाममा २०१३ मा भएको एनएसए कपमा २ मिनट ३०.२५ सेकेन्डको समय थियो । यस विधामा पनि सेनाकोनै वर्चस्व रह्यो । दोश्रो स्थानमा कृपा कार्की र तेश्रो स्थानमा रुपेश चौधरी रहे । गुरुङ्गले दुई राष्ट्रिय किर्तिमान सहित थप ६ स्वर्ण पदक प्राप्त गरे । उनले प्रतियोगिताको पहिलो दिन १ राष्ट्रिय कीर्तिमान सहित ६ स्वर्ण पदक प्राप्त गरेका थिए । बिहीबारको अर्को कीर्तिमानमा ४ गुणा १०० मिटर रिलेमा मध्यमाञ्चलका जितज्वाली महर्जन, तिषा शाक्य, ओसिना भारती र रसिका पौडेलले ५ मिनट ०८.९४ सेकेन्डको समयमा दुरी पुरा गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाए । उक्त दुरीमा १९९९ मा काठमाण्डौमा सम्पन्न भएको आठौं साफमा लक्ष्मि, रुविना, रुना र स्तृतीको नाममा ५ मिनेट ०९.५८ सेकेन्डको कीर्तिमान कायम रहेको थियो । प्रतियोगिताको अन्तिम दिन शुक्रबार अपरान्ह ३ बजे पुरस्कार वितरण कार्यक्रम रहेको र प्रतियोगिता २ ः ३० बजे संचालन हुने समेत संघले जानकारी गराएकोछ ।

Post a Comment

 
Top