0
गोल्डेन न्यूज संवाददाता
आइतबार हुने प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापतिसमेत रहेका कामचलाउ प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली मैदानमा उत्रिएका छन् । २० महिनासम्मको गठबन्धन तोड्दै कोइराला र ओलीले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराएका छन् । ओलीलाई तेस्रो ठूलो दल एमाओवादीसहित केही १६ साना दलको समर्थन छ । कोइरालाको पक्षमा शनिबार रातिसम्म कुनै दलले समर्थन जनाएका छैनन् ।
सहमतीय सरकार बनाउन असफल भएपछि सुरु भएको बहुमतीय प्रक्रियामा दुई ठूला दलले अर्काको नेतृत्व स्वीकार नगरेपछि अन्ततस् मतदानबाटै मुलुकले ३८ औं प्रधानमन्त्रीको छिनोफानो हुनेछ । शनिबार सुरुमा ओलीले उम्मेदवारी दर्ता गराए । ओलीको उम्मेदवारीमा प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन् भने समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित १६ दल तथा एक स्वतन्त्र संसद् छन् ।
ओलीको समर्थकमा राप्रपा नेपालका कमल थापा, राप्रपाका दिपक बोहरा, नेकपा मालेका सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, जनमुक्ति पार्टीका शिवलाल थापा, समाजवादी पार्टीका प्रेमबहादुर सिंह, अखण्ड नेपालका कुमार खड्का, नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी, यसैगरी रामकुमार राई, हरिचरण शाह, यशोदा कुमारी लामा, र स्वतन्त्र सांसद् अतहर कमाल लगायत छन् । यी सबै दलका सांसद् संख्या ३३१ पुग्छ । बहुमत पुग्नका लागि २९९ सांसद् आवश्यक पर्छ । अहिलेसम्म समर्थन गर्ने दललाई जोगाउन सके ओली प्रधानमन्त्री बन्ने पक्काजस्तै भएको छ । मनोनयनपछि ओलीले कांग्रेसले पनि आफूलाई सघाउने दाबी गरे ।
ओलीको मनोनयनको दुई घण्टापछि कोइराला उम्मेदवारी दर्ता गर्न गएका थिए । प्रधानमन्त्री पदबाट राजीनामा बुझाएलगत्तै सुशील कोइरालाले नयाँ प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक कांग्रेसकै शेरबहादुर देउवा छन् भने समर्थक पनि कांग्रेस नेता रामचन्द्र पौडेल छन् । उम्मेदवारी दर्ता गराएपछि कोइरालाले लोकतान्त्रिक अभ्यास भएकाले पार्टीको निर्णय बमोजिम आफूले उम्मेदवारी दिएको बताए । ‘मेरो उम्मेदवारी फिर्ता हुँदैन, यो पार्टीको निर्णय हो,’ उनले भने । उनले ओलीले जिते आफूले सहयोग गर्ने र आफूले जिते ओलीले सहयोग गर्ने भन्दै सहकार्य नटुट्ने बताए ।
यसैबीच प्रधानमन्त्री कोइरालाले मधेसी दलसँग सहयोग माग गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरेर कोइरालाले सहयोग माग गरेका हुन् । मधेसी मोर्चाले आइतबार बिहान नै बैठक बसेर निर्णय गर्ने बताए । प्रधानमन्त्री निर्वाचनमा समर्थन गर्नेबारे विजयकुमार गच्छदार नेतृत्वको मोर्चा पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।
यसैबीच नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पार्टीको निर्णले स्तब्ध भएको बताएका छन् । सुशील कोइरालाले पूनः प्रधानमन्त्री नवन्ने घोषणा गरेको केही समय नवित्दै पदका लागि आशक्ति देखाएकोमा उनी आश्चर्य भएको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले पार्टी सभापति सुशील कोइरालाको प्रधानमन्त्री पदमा पुनः उम्मेदवारी दिने निर्णय पार्टी र देशका लागि घातक हुने भन्दै सभापतिज्यूसँग प्रधानमन्त्री जित्ने संख्या र एजेण्डा नभएको बेला दर्ता गरिएको उम्मेदवारीले आफुहरु स्तब्ध भएको बताए । कांग्रेसका सबैजसो केन्द्रीय समिति सदस्यको चाहना विपरित कोइरालाले गरेको निर्णयले पार्टी कसैको इशारामा अन्तैबाट चलेको अनुभूति भएको बताए । हामी हाम्रै पार्टीमा छौं वा अरूको इशारामा चल्ने पार्टी भित्र छौं कन्फ्युज भएको भन्दै,’ भारतको इशारामा पार्टी नेतृत्व चलेको आरोप सही हुने गरी आकस्मिक रूपमा सभापति कोइराला ज्यू पुनः प्रधानमन्त्री बन्न उम्मेदवारी दिने निर्णय भएको आरोप लगाए ।
संविधान संशोधन गरेर भएपनि मधेसका जायज मागलाई सम्बोधन गर्नेलगायतका पार्टीका स्पष्ट एजेण्डा राखेर एमालेलाइ प्रधानमन्त्री बनाउन सघाउनु पर्ने हामी केही केन्द्रिय सदस्यले बैठकमा राखेका थियौ तर त्यसको कुनै सुनुवाइ भएन, थापाले भने ।  ‘सार्वजनिक रूपमै उहाँले पुनः प्रधानमन्त्री नबन्ने बताउँदै आउनु भएको थियो,तर एकाएक उहाँ नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने निर्णय कसरी भयो अच्चमै छ।’ सभापतिज्यूले हिजोसम्म प्रधानमन्त्री बन्ने चाहना खुलाउनु भएको थिएन,’ थापाका अनुसार हिजोको बैठकमासमेत वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापती रामचन्द्र पौडेल दुबैजना प्रधानमन्त्रीका आकांक्षी थिए। ‘तर तीनजना नेता गोप्य बैठकमा बसेर सभापति नै उम्मेदवार बन्ने निर्णय के आधारमा लिनुभयो छक्क परेका छौं थापाले भने ।

Post a Comment

 
Top