एमालेले कांग्रेसबिना नै बहुमतको सरकार बनाउने कसरतमा जुटिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जटिल परिस्थितिमा काँग्रेसबिनाको नयाँ सरकार कल्पनासम्म गर्न नसकिने बताएका छन् । एमालेको नेतृत्वमा कांग्रेस सहितको सरकार बनाउनु पर्ने बताउँदै उनले भने, काँग्रेस बिनाको सरकार कल्पना गर्न सकिन्न, नेतृत्व एमालेको हुनुपर्छ । ‘नयाँ सरकार गठन गर्न तीन पटकसम्म भद्र सहमति भएको खुलासा गर्दै प्रचण्डले भने,–‘सुशील कोइरालाले संविधान जारी भएपछि आफूले छाड्ने र एमालेलाई दिने भनेर तीन पटकसम्म भन्नु भएकै हो ।’ इटहरीमा हुने कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन त्यसतर्फ जाने क्रममा बुधबार विराटनगर विमानस्थलमा प्रचण्डले भने,–‘सरकारमा सबै दल आउनु पर्छ, कोही पनि बाहिर बस्नु हुन्न, अहिलेको राजनीतिक निकासका लागि पनि सर्वदलीय सरकार चाहिन्छ ।’ प्रचण्डले आफ्नो पार्टीले राष्ट्रपति वा प्रधानमन्त्री कुनै पनि पदमा दाबी नगरेको बताउँदै जारी संविधानलाई जनतासम्म लगेर लागू गराउनु प्रमुख चुनौती रहेको स्पष्ट गरे । उनले अहिले भारतले गरिरहेको नाकाबन्दी अन्तर्रा्ष्ट्रिय कानुन विपरीत भएको जनाउँदै भूपरिवेष्ठित मुलुकको पारवहन अधिकारलाई भारतले कुनैपनि हालतमा कटौती गर्न नहुने बताए । नाकाबन्दीले जनतालाई निकै कष्ट भएकोले यसलाई समाधान गर्न सरकार गम्भीर हुनुपर्ने र राजनीतिक शक्तिहरुले पनि पहल गर्नुपर्ने बताउँदै प्रचण्डले भने,–‘चाडबाड नजिकिएको बेला जनतालाई कसैले पनि दुःख दिने काम गर्नुहुन्न ।’ उनले मधेशी मोर्चासँको जारी वार्तालाई निश्कर्षमा पुर्रुयाएर मधेशका मागको सम्बोधन हुने पनि बताए । प्रचण्डले भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण राष्टिय सहमतिको वातावरणलाई बलियो बनाउँदै लगेको बताए । नाकाबन्दीका कारण सहमति भाँडिन खोजेको भन्ने हल्लामा सत्यता नरहेको समेत उनको भनाई थियो । नेपालमा संविधान बनेपछि भारतले नाकाबन्दी गरेर भुपरिवेष्टित मुलुकको निर्वाध पारवहन अधिकार कुण्ठित गरेकोले भारतको त्यो कदम अमिल्दो भएको उनले टिप्पणी गरे । नेपालमा केही आन्तरिक समस्या रहेको र त्यसलाई निरुपण गर्न मधेशी तथा थारु समुदायका माग सम्वोधन गर्न प्रयत्न भइरहेको बेला भारतले नकाबन्दी गर्नुभन्दा सहज वातावरण बनाउन पहल लिनु आवश्यक रहेको उनको भनाई थियो । वर्तमान सुशील कोइराला सरकारको काम कारवाहीप्रति आफुहरु असन्तुष्ट रहेको बताउँदै उनले तर, संकटको घडीमा सरकारलाई विपक्षमा रहेर पनि हरतरहले सहयोग भने गरेको बताए ।
यता, प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको मनमुटाव तोडिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाले नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताए पछि दुई नेताबीचको असमझदारी अन्त्य भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटवार्तामा प्रधानमन्त्रीले आफूबाधक नबने ओलीसमक्ष प्रतिवद्धता जनाएका छन् । ‘म अहिलेको अवस्थामा कांग्रेस र एमाले मिलेर अघि बढ्नु पर्छ भन्नेमा प्रतिवद्ध छु’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै ओली निकट स्रोतले भन्यो,–‘मेरो समर्थन तपाईलाई रहन्छ मेरो तर्फबाट तपाई अघि बढ्दा हुन्छ ।’ तर, पार्टीको निर्णय भने भोलि मात्रै आउने कोइरालाले प्रष्ट पारेका छन् । करिब एक घण्टा भएको गोप्य वार्तामा अबको सरकार गठन र भावी योजनाका विषमया छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले हिजोको सहमति अनुसार अघि बढ्नुपर्नेमा एमाले अडिक रहेको बताएका थिए । उनले हिजो आफूले गरेको सहयोग नबिर्सिन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । नेपाली कांग्रेसमा बरिष्ठ नेता शेरबहादुर देउवा पनि आकांक्षी रहेका छन् । केही नेताहरु ओलीको विकल्प खोज्नुपर्ने अडानमा छन् ।
Post a Comment