मुस्ताङ्गका कृषकले आफना बगैंचामा उत्पादन गरेको स्याउ बुधबारसम्ममा ८५ प्रतिशत बिक्री भइसकेको छ । इन्धनको चरम अभावले चर्को भाडा तिरेरै भएपनि ढुवानी गरेर कृषकले स्याउ बिक्री गरेका छन् । भारतको अघोषित नाकाबन्दीले अन्य मुलुकबाट स्याउ आयात गर्न नसकिएकोले यस वर्ष मुस्ताङ्गमा उत्पादन भएको स्याउले राम्रो मूल्य पाएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले बर्ता । गएको भदौको अन्तिम सातादेखि कृषकले स्याउ टिप्न सुरु गरेकोमा अव १५ प्रतिशत मात्रै स्याउ टिप्न बाँकी रहेको बताइएको छ । यस वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिकटन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । यो वर्ष जिल्लामा करीव रु ४० करोडभन्दा बढीको स्याउ उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए । गत वर्ष जिल्लामा चार हजार मेट्रिकटन मात्रै स्याउ उत्पादन भएको थियो । यो वर्ष स्याउको फुल पूmल्ने बेलामा असिना पानी र हिउँ परेकोले पाँचदेखि सात प्रतिशत उत्पादन घटने विश्वास गरिएको थियो ।
गत वर्ष जिल्लामा ३३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकोमा यस वर्ष ३३५ हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ । कृषकले बगैचाबाटै प्रतिकिलो रु ८० देखि रु ८५ मा स्याउ बिक्री गरेका थिए । जिल्लाका १६ गाविसमध्ये १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । स्याउ बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागवेनी, छुसाङ्ग छन् भने मुक्तिनाथ, जोमसोम, झोङ्ग, घमी, चतान, खुर्साङ्ग र कोवाङ्गमा पनि स्याउ उत्पादन हुने गरेको छ । पोखरा, बागलुङ्ग, म्याग्दी, पर्वतलगायतका व्यापारी कृषकको बगैँचामा गई बोटबाटै ठेक्कामा स्याउ खरीद गर्दै आएका छन् ।
यसैगरी नेपालीको महान पर्व दसैँमा हिमाली जिल्ला मुस्ताङबाट रु २४ करोड भन्दा बढीको भेडाच्याङग्रा निर्यात भएको छ । उपल्लो मुस्ताङको विभिन्न ६ गाविसबाट दसैँ अवधिमा १५ हजार ३०८ वटा भेडाच्याङग्रा निर्यात भएको पशुसेवा कार्यालयले जनाएको छ । ती भेडाच्याङग्राबाट यहाँका किसानले रु २४ करोड २२ लाख ३६ हजार आम्दानी गरेको पशु सेवा कार्यालयका प्राविधिक फलेन्द्र थकालीले जानकारी दिए ।
उनका अनुसार, निर्यात भएको भेडाच्याङग्रा मध्ये ९ हजार भेडा र ६ हजार ३०८ वटा च्याङग्रा रहेका छन् । किसानले खोरबाटै व्यापारीलाई प्रति भेडा रु १५ हजार र प्रति च्याङग्रालाई रु १७ हजारमा बिक्री गरेका थिए । रासस
Post a Comment