गोल्डेन न्यूज संवाददाता
भारतले नाकाबन्दी गरेपछि पेट्रोल र डिजेलपछि पोखरामा मट्टितेलको हाहाकार भएको छ । सर्वसाधारणले ग्याँस सकिएपछि मट्टितेल र दाउराको विकल्प खोजेका छन् । बजारमा दाउरा र भुसको चुलो समेत अभाव भएपछि मट्टितेलको साहारा लिन थालेका हुन् । तर डिपोमा मट्टितेल समेत नभएपछि चुलोमा कसरी खाना पकाउँने सर्वसाधारणलाई चिन्ता परेको छ । रक्सौल नाकाबाट भित्रने मट्टितेल नाकाबन्द भएपछि १ महिनाबाट भित्रिएको छैन । गत असोज ३ गतेदेखि पोखरामा मट्टितेलको डिपो रित्तिएको शान्ति प्रोभिजन स्टोर्स मट्टितेल डिपोका संचालक नारायण सुवेदीले बताए । उनले भने, कास्कीको गगनगौंडा डिपो भने मट्टितेल स्टोर गरि राखिएको शंका छ ।
नाकाबन्दीको फाईदा उठाई मट्टितेलमा समेत कालोबजारी हुन थालेको आशंका छ । नेपाल आयल नियम, कास्की गगनगौंडाका प्रमुख मनोज ठाकुरले मट्टितेलको प्रयोग होटेलमा जेरी बनाउँने, बाटो पिच गर्ने बेलामा प्रयोग हुने गरेको बताएका पनि हाल आएर ग्याँस आपूर्ति ठप्प भएपछि खाना पकाउँन लागि मट्टितेल प्रयोगकर्ता बढेको उनले बताएका छन् । उनले भने, मट्टितेल महिनामा ६० हजार लिटर खपत हुन्थ्यो तर अहिले यसको माग बढेको छ । हाल डिपोमा १२ हजार लिटर मट्टितेल स्टक छ । कुनै विकल्प नभएपछि अभाव बेला आवश्यकता पर्ने भएकोले स्टक राखिएको नेपाल आयल निगमका प्रमुख ठाकुरले बताए । पोखरा कै अर्को डिपो पराजुली आयल स्टोर्स सिम्पानीका संचालक राजेन्द्र तिमिल्सिनाले पोखरामा मट्टितेल सकिएको बताएका छन् । उनले भने पोखरामा अहिले १ लाख लिटर मट्टितेलको आवश्यकता छ । मट्टितेल स्टोर गरिएको छ भन्ने शंका छ भन्ने प्रश्न तिमिल्सेना भने, यसमा शंका नगर्दा हुन्छ । उनले डिजेल, पेट्रोल आएपछि मट्टितेल सँगसगै भित्रने बताए । पोखराका डिपोमा दैनिक २०० भन्दा बढी सर्वसाधारण मट्टितेल किन्न आउँने गरेको मट्टितेल डिपो संचालकहरुको भनाइ छ ।
यसैबीच कास्कीमा क्रियाशिल पत्रकारसँग सम्वन्धित विभिन्न संघ संस्थाको बिहीबार भएको संयुक्त बैठकले सञ्चार माध्यम र सञ्चारकर्मीलाई सहज रुपमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेको छ । दिनरात नभनि जनतालाई सुसूचित गराउन खटिरहने सञ्चारकर्मी र सञ्चार माध्यमलाइ अत्यावश्यक सेवाकै रुपमा लिएर राज्यले इन्धन उपलब्ध गराउन बैठकले माग गरेको हो । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको पहलमा भएको संयुक्त बैठकले सञ्चार माध्यमलाई निर्वाध संचालन हुने वाताराण बनाउने दायित्व राज्यको हुदाँहुँदै गर्न नसक्नु सरकारको कमजोरी भएको ठहर गरेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभावमा सञ्चार माध्यमहरु बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले कुनै बैकल्पिक उपाय खोज्न नसक्ने लाचारीपनको बैठकले खेद व्यक्त गरेको छ । यही अवस्था केही दिन रहेमा कास्कीमा संचार माध्यम बन्द भएर जनताको सुचनाको हक समेत कुण्ठित हुने हुनाले ठोस कदम चाल्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
देशको विषम परिस्थितिलाई ध्यानमा राखेर इन्धन प्रयोगमा मितव्ययीता अपनाउन र पेट्रोलियम पदार्थ प्रयोगको विकल्प खोज्न संचारकर्मी तथा आम जनसमुदाय लाई बैठकले आग्रह गरेको छ।देश नै अहिले इन्धन अभावमा गुज्रिरहेकाले नाकाबन्दीलाई कुटनीतिक तवरबाट खुलाउनेतर्फ सरकारले उचित कदम चालेर जनताको दैनिकीलाई सहज बनाउन आग्रह गरिएको छ । इन्धन अभावपछि कास्कीका संचार माध्यममा देखिएको समस्यालाई हल गर्न पत्रकार महासंघ कास्कीको सक्रियतामा स्थानीय प्रशासनसँग छलफल गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, निवर्तमान अध्यक्ष बद्रीविनोद प्रतिक, क्रान्तिकारी पत्रकार संगठन कास्कीका अध्यक्ष माधव पनेरु, सल्लाहाकार शिवराज बस्ताकोटी, प्रेस युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटा, प्रेस चौतारी कास्कीका सचिव अर्जुन गिरी, कोषाध्यक्ष राजाराम पौडेल, सदस्य भगवान गिरी, क्रान्तिकारी पत्रकार संघका सन्देश श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव कृष्ण रानाभाट, नेपाल पत्रकार महासंघका पार्षद केशव शरण लामिछानेको उपस्थिति रहेको थियो ।
कालोबजारी रोक्न माग
यसैबीच इन्धन र ग्यासमा कालोबजारी भएको भन्दै पर्यटन व्यवसायीले प्रशासन समक्ष गुनासो पोखेका छन् । स्थानीय प्रशासनले इन्धन वितरणको जिम्मा दिएका केहि पेट्रोल पम्पले कालोबजारी गर्दै रातारात इन्धन बिक्री वितरण गरेको व्यवसायीको गुनासो छ । पोखरा पर्यटन पूनःजागरण समिति (पिटिआरसी) का संयोजक गणेश बहादुर भट्टराइको संयोजकत्वमा पर्यटन व्यवसायी कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाइ भेट्न बिहीबार प्रशासन पुगेका थिए । प्रजिअ राउत समक्ष पर्यटन व्यवसायीले केहि व्यवसायी र पेट्रोलपम्पले कालोबजारी गरेर इन्धन र ग्यास बेचेको गुनासो पोखेका थिए । मध्यरात पारेर सरकारी पेट्रोलपम्पले कालोबजारी गर्दै इन्धन बेचेर कालोबजारी गरेको व्यवसायीले आरोप लगाएका थिए । १४ सय पर्ने ग्यास सिलिन्डरलाई ६ हजार, एक लिटर पेट्रोललाइ ३ सय र एक लिटर डिजललाई २ सय रुपैयाँमा बेचेको पाएको प्रजिअ समक्ष संयोजक भट्टराइले जानकारी दिएका थिए । ‘हामीले प्रजिअलाई कालोबजारी गरेको बारेमा जानकारी गराएका थियांै । प्रशासनले कालोबजारी रोक्न सकेन भन्ने हाम्रो गुनासो हो’ उनले भने,–‘यसमा स्थानीय प्रशासन बढि सचेत हुनुपर्छ भनेर सुझाएका छौं ।’ महंगो शुल्क तिरे ग्यास र इन्धन पाउने नत्र नपाउने अवस्था रहेको भन्दै आफूहरुले प्रशासन समक्ष कालोबजारी रोक्न अनुरोध गरेको भट्टराइले बताए । इन्धन र ग्यास अभावमा लेकसाइडमा रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको व्यवसायीले प्रशासन समक्ष गुनासो पोखेका थिए । ‘अवस्था नाजुक भएको छ । पर्यटन क्षेत्र अस्तव्यस्त भएको बारे प्रशासनलाई जानकारी दियांै’ उनले भने, ‘प्रशासनले इन्धन आपूर्ति गर्न नसक्दा समस्या परेको जनाएको छ । राष्ट्रिय संकट परेको बेला कालोबजारी हुनु निकै दुःखद् हो ।’ कालोबजारी गर्नेलाइ कार्वाही गर्ने प्रशासनले आश्वासन दिएको संयोजक भट्टराइले बताए । इन्धन अभावमा पर्यटन क्षेत्र अस्तव्यस्त भएको व्यवसायीको भनाइ छ । पर्यटक सवार सवारीलाई इन्धन अभाव भएर मार परेको उनीहरुको भनाइ छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) का निवर्तमान अक्ष्यक्ष केदार शर्माले इन्धन अभावमा पर्यटन सवारी चलाउन नसकेको बताए । पोखरा–काठमाडौं–पोखरा रुटमा चलाउने पर्यटक बस समेत ठप्प हुने अवस्थामा पुगेको उनले बताए । ‘पर्यटन क्षेत्रमा नकारात्मक असर नपारोस भन्ने हाम्रो चाहना हो । पर्यटकको आउ–जाउ रोकियो भने त्यसले नराम्रो सन्देश फैलिन्छ’ शर्माले भने,–‘हामीले प्रशासनलाई जानकारि दिलाएका छांै । प्रशासनले केहि इन्धन दिएपनि त्यो पर्याप्त छैन ।’ पर्यटकलाइ एक ठाउँबाट अर्काे ठाउँमा जान समेत समस्या परेको भन्दै व्यवसायीले प्रशासन समक्ष आपत्ति जनाएका थिए ।
Post a Comment