0
गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियु त्रि.वि.जिल्ला कमिटी कास्कीले आइतबार पोखरामा एक कार्यक्रमका बीच पोखरामा बसोबास गर्ने मधेशी सहितको उपस्थितिमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पृथ्वी नारायण क्याम्पसको प्राङ्गणमा सम्पन्न वृहत शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कास्कीमा रहेर विभिन्न पेशा व्यवसाय गर्ने मधेशका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मानबहादुर जिसीले हामीले कुनै क्षेत्रगत रुपमा नछुट्टिइकन सबै नेपाली एकै हौ भन्ने भावनाको सिर्जना गर्नुपर्ने बताए । प्रमुख अतिथि जिसीले आम नेपालीमा एकताको भावना स्वरुप सद्भाव कायम गर्नका लागि अनेरास्वयवियु कास्कीले गरेको शुभकामना आदानप्रदान कार्यक्रम नेपालमै पहिलो र सबैले सिक्नुपर्ने खालको नेपाली भाइचारा जगाउने महत्वपूर्ण कार्यक्रम रहेको बताए ।
 
त्यसैगरी तराई–मधेश सम्पर्क समाज पोखराका सल्लाहकार तथा पृथ्वी नारायण क्याम्पसका उपप्राध्यापक रामबाबु मण्डलले मधेशको परिस्थिति वास्तविक मधेशीले नभई नक्कली मधेशीले सिर्जना गरेको परिस्थिति हो र हामी सबै मधेशीहरुले यो वास्तविकता लाई बुझेर राष्ट्रको हितको पक्षमा दृढ संकल्पका साथ लाग्नु पर्दछ भने । कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी, सचिवालय सदस्य तेजनारायण अधिकारी, जिल्ला सदस्य मनकुमार श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने, पार्टी क्षेत्रीय अध्यक्ष जीवन आचार्य, अनेरास्ववियु केन्द्रिय सदस्य सरिता पुरी, क्षेत्रीय सचिव पूर्ण लामा, अनेरास्ववियु गण्डकी कोषाध्यक्ष आशिर्वाद सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 
विवेक देवकोटाको अध्क्षतामा सम्पन्न उक्त कार्यक्रममा चिया खाजाको व्यवस्थापन सौजन्य स्वरुप प्रगति इञ्जिनियरिङ्ग कन्सल्टेन्सी पोखराले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष सुजनबाबु लामिछानेले र सञ्चालन सचिव अमृत ढकालले गरेका थिए ।

Post a Comment

 
Top