अहिलेको पोखरा उपमहानगर पालिका वडा नं. १६ बाटुलेचौरमा १९७१ सालमा जन्मेर २०४६ सालमा ७५ वर्षको उमेरमा ब्रह्मलीन भएका पण्डित मुक्तिनाथ तिमिल्सिना शर्मा समाजमा भएको रूढीवादी, आडम्बरी र अन्धविश्वासी परम्परालाई उन्मूलन गरी समाजलाई मानवताको बाटोमा ल्याउने उद्देश्यमा लागेका, आफ्नो समयका अथक अगुवा थिए । आफै यथास्थितिवादी ब्राह्मण कुलमा जन्मेको भए पनि २००१ सालमा ब्राह्मणले हलो जोत्न हुँदैन भन्ने परम्परागत बाहुनवादी संस्कारको विरूद्ध, आफ्नै बारीमा हलो जोतेर नेपालमा सर्वप्रथम समाज परिवर्तनको विगुल फुकेका थिए उनले । त्यस बेलाको पण्डित पुरोहित समाजद्वारा उनको ठूलो विरोध भएको थियो । यस्तै क्रान्तिकारी उनको अर्को कदम उनको ‘को अछुत ?’ पुस्तक हो । आन्तरिक राष्ट्रिय अखण्डतालाई विखण्डन गर्ने वर्णव्यवस्था (ठूलो जात र सानो जात) को संस्कार–संस्कृतिको विरूद्ध अखण्ड राष्ट्रियताका भविष्य द्रष्टा भएर पं. मुक्तिनाथले २००९ सालमा लेखेको उक्त पुस्तक २०११ सालमा इन्द्रमान र चन्द्रमान शेरचनद्वारा प्रकाशित गरिएको थियो । यस पुस्तकमा जातभात–उचनीच, छुवाछूत जस्ता सामाजिक विकृतिलाई पर्दाफास गरी, अछूत भनी विभेदमा पारिएका शुद्र भनिनेहरूको उत्थान गर्न समाजको तल्लो तहमै सचेतनात्मक जागरण ल्याउन आह्वान गरिएको थियो । बाहुनवादी समाजको इसारामा चल्ने राणाशासन २००७ सालमा अन्त्य भइसकेको भए पनि तिनै बाहुनवादी समाजसँग सम्बन्ध राख्ने सरदार गुञ्जमान सिंहको अध्यक्षतामा बनेको राजा महेन्द्रको शाही सल्लाहकार समितिको सरकारले देशमा प्रजातन्त्र आए पनि उक्त ‘को अछुत ?’ पुस्तकको सबै प्रति पे्रसबाटै जफत गरेको थियो । फेरि पनि यथास्थिति वादीहरूसँग कत्ति पनि नडराई, मुलुकी ऐन लागु भएको ‘मुक्ति दिवस’ मनाइने दिन, २०२० सालमा आयोजित आमसभामा एक्लो पं. मुक्तिनाथले सार्वजनिक रूपले प्रशंसनीय, अदम्य आत्मबलका साथ दलितको हातबाट पानी पिएर, उनीहरूसँगै बसेर खाजासमेत खाएका थिए । यस घटनाको कारणले रूढीवादी गाउँका मानिसहरूले पण्डितको परिवार समेतलाई पानी हटक गरेका थिए । ‘भरिन्छ जतिले पेट त्यति मानिसको हक । ओहोटने बढी हो चोर सजायँ गर्नु पर्दछ । (आत्मकथाबाट) भनेर शोषण गरेर धनी हुने, सम्पन्न हुने, व्यक्तिवादी सामन्ती समाजलाई कवितामार्फत सचेत गराउन खोज्दा उल्टो उनले अपमान सहनु परेको थियो ।
यस्तै वातावरणमा ‘सबैको लागि शिक्षा हुनु पर्छ’ भनी अगुवाइ गरी बाटुलेचौरमा हालको बिन्ध्यवासिनी उच्च माध्यमिक विद्यालयको स्थापनाको लागि पनि अनेकौँ प्रतिकूल परिस्थितिको सामना गरेर मुक्तिनाथ लागिपरेका थिए । पण्डित–पुरोहित समाज हिन्दु वर्णव्यवस्थाको परम्पराको विपरीत सबैलाई शिक्षा दिने कुरामा एकदम विरोधी थियो । परम्परालाई धर्म र संस्कृतिको नाममा लादेर, ‘शिक्षा बाहुनले मात्र हासिल गर्ने हो । अरू जातले पाउँदैन’ भनेर शिक्षामा हालिमुहाली गरिरहन चाहन्थे । जनता शिक्षित भएर जान्नेसुन्ने भए भने राणा शासनको चाँडै अन्त्य हुन्छ भनी राणाहरूले पूर्वाग्रह राखे जस्तै उनीहरूका सल्लाहकार पण्डित पुरोहित समाज पनि जनताले खुलमखुल्ला शिक्षा हासिल गर्न पाए भने उनीहरूको शिक्षामाथिको एकाधिकार, समाजमाथिको हैकम अन्त्य हुन्छ भनेर बाहुन बाहेक अरूलाई शिक्षा दिनमा कट्टर विरोधी थिए । यही परम्पराको फलस्वरूप सर्वसाधारण नेपाली समाजको बौद्धिक प्रगति नभएर जन्तुजनावरको स्तरमा रहेको अवस्था थियो, जसले गर्दा आजसम्म पनि नेपाली समाज पूर्णरूपले त्यो हिलो धोएर सफासुग्घर हुन सकेको छैन । पछाडि परेको परेकै छ ।
यस्तो वातावरणमा २००४ सालमा, सबैले विनाभेदभाव पढ्न–लेखन र सीप सिक्न पाइने, राष्ट्रिय जागरणमा आधारित महात्मा गान्धीको आधारशिक्षा पद्धतिमा बनेको ‘आधार शिक्षा’ नामको शिक्षा नीति राणा प्रधानमन्त्री पद्म शमशेरले लागु गरे । पोखराको बिन्ध्यवासिनी मन्दिरनेर परम्परादेखि सञ्चालन हुँदै आएको ‘बिन्ध्यवासिनी संस्कृत पाठशाला’ थियो । त्यहाँ ब्राह्मण परिवारका छात्रहरूलाई मात्र पढाइन्थ्यो र दुर्गाकवच, रूद्री, अमरकोश, भागवत गीता आदि पढाउने र कर्मकाण्ड चलाउने शिक्षा दिइन्थ्यो । त्यही पाठशालालाई ‘बिन्ध्यवासिनी आधार स्कूल’ नामबाट सञ्चालन गर्ने कोटा सरकारबाट आयो ।
यो कोटाको कागजपत्र र आर्थिक सहयोग समेत लिएर ज्ञानमान डङ्गोल नाम गरेका एक कर्मचारी काठमाडौँबाट खटिएर आए । तर यथास्थितिवादी पण्डित पुरोहितहरूले, ‘यो गाई खाने विद्या हामीलाई चाहिँदैन’ भनेर ज्ञानमानलाई अपमानित गरेर लखेटे । स्मरणीय छ, उनीहरूले ‘गाई खाने विद्या’ भनी आक्षेप लगाएको निहित नियत, आधार शिक्षाले ब्राह्मणहरू मात्र पढ्न लेखन पाइने परम्पराको विपरीत शिक्षाको ढोका सबैलाई खुला राखेकोले यस्तो आरोप लगाएको देखिन्छ । परम्परावादी धर्मभीरू समाजलाई प्रभाव पार्न ‘गाईखाने विद्या’ भनी उनीहरूले नाम राखेको बुझिन्छ । वास्तवमा अँग्रेजी शिक्षा जसलाई आज पनि उनीहरू ‘गाईखाने विद्या’ भन्दछन्, त्यसको आधार शिक्षासँग केही सम्बन्धै थिएन ।
त्यसबेला, २००४ सालमा पं. मुक्तिनाथ काठमाडौँमा आधार शिक्षाको तालिम लिइरहेका थिए । तालिम हासिल गरी, बाटुलेचौरमै उक्त ‘बिन्ध्यवासिनी आाधार स्कूल स्थापना गर्छु’ भनेर सरकारी तलब रू १५ खाने गरी उनी घर (बाटुलेचौर) फर्के । उनले २००५ असार महिनादेखि ओमकार वा ओमकुमार साहु (लाल बहादुर श्रेष्ठ ?) को घरगोठमा केटाकेटीहरूलाई जम्मा गरी पढाउन थाले । केही वर्ष त्यहाँ स्कूल सञ्चालन गरेपछि २०१० सालभन्दा पहिले हालको बिन्ध्यवासिनी उच्च मावि रहेको ठाउँमा छात्रहरू र शिक्षकहरूको प्रयासले ६५ हात लामो कटेरो बनाएर स्कूल चलाए । त्यस बेला पनि गाउँका परम्परावादी सामन्त भलाद्मीहरूको समाजले ‘यो स्कुल चाहिँदैन, यसले अछूतहरूलाई पढ्न बोलायो, सनातन धर्म फाल्यो, कम्युनिष्ट बनायो’ भनी विरोध गरे । ज्ञानमान डङ्गोलले बेहोर्नु परेको परिस्थिति मुक्तिनाथले पनि बेहोर्नु प¥यो । तैपनि उनी हरेश नखाई स्कूललाई निरन्तरता दिन र उन्नति गर्न दत्तचित रहे ।
पं. मुक्तिनाथले बाटुलेचौरमा मात्र होइन पोखरामै विभिन्न विद्यालयहरूको स्थापनामा सक्दो भूमिका खेले । समाज परिवर्तनको पहिलो आधार शिक्षा हो भन्ने कुरामा उनी विश्वस्त थिए । यस्ता जनमुखी मानवतावादी मुक्तिनाथ को, त्यसबेला औँलामा गन्न सकिने एक–दुई व्यक्ति बाहेक, रूढीवादी, कुपमण्डुक समाजमा अरू कोही थिएन । उनले लेखेका छन्, ‘त्यो समाजमा म यति उपेक्षित थिएँ कि यो व्यक्ति पहिले हाम्रै सम्मिलित साथी हो र राजनीतिक दृष्टिले नभए पनि सामाजिक दृष्टिले हाम्रो निकटतम हो भन्ने भावना जसमा राष्ट्रिय दृष्टिकोण लुकेको हुन्थ्यो, त्यो बेपत्ता भएको पाएँ । (आत्मकथा २०४०, पृ.७२)
यसरी सामाजिक क्रान्तिका अगुवा मुक्तिनाथ आफ्नो जीवनकालसम्म बाहुन समाज र विसङ्गतमय बाहुनबादी व्यवहारबाट उपेक्षित रहे । स्मरणीय छ, सूर्यजस्तै विनाभेदभाव सबैमा प्रकाशमान हुने ब्रह्मवादी दर्शनलाई बुझ्ने र व्यवहार गर्नेलाई उनी ब्राह्मण भन्दथे । तर ब्राह्मणको नाममा वर्णव्यवस्थाको ओढ्ने ओढेर, अनेक किसिमको भेदभाव गर्नेलाई भने बाहुन भन्दथे । उनीभन्दा धेरै कनिष्ठ बाटुलेचौरकै गौरव धर्मराज थापा र झलकमान गन्धर्वका गीत, सङ्गित र स्वर राष्ट्रिय स्तरमा सबैको लागि आकर्षक भयो र उनीहरू चर्चित भए । तर मुक्तिनाथ बौद्धिक र समाज परिवर्तनका व्यक्तित्व भएकोले त्यसरी चर्चित हुन सकेनन् । उनको प्रयास राष्ट्रिय स्तरमा चर्चित भएको भए समाज अहिले कति अघि बढिसक्ने थियो । उनी पनि धर्मराज र झलकमान जस्तै राष्ट्रिय स्तरमै चर्चित हुने थिए ।
उनी बाचुन्जेल सामाजिक समानता र श्रमलाई पूजा गर्ने उनको अग्रगामी विचार उपेक्षित नै रह्यो । दूरदर्शी, निष्ठावान, अभियन्तालाई आफ्नो अभियानको मूल्यमान्यता नपाउँदा कति पीडाको अनुभव हुँदोरहेछ, त्यो मैले पनि अनुभव गरेको छु । २०४० सम्मको उनको अनुभव यस्तो छ, ‘म जस्ता लाखौँ लाख गरिवहरू छन्, जीविकोपार्जनको बाटो पनि भेटाउँदैनन्, अन्तर्रा्ष्ट्रिय सभ्यतासँग पनि परिचित छैनन्, मुलुकमा अवसरवादीहरूको दाउ चलिरहेको पनि देखिन्छ । आफ्नो गतिशील राजनीतिक र सामाजिक विचारहरू कुण्ठित समाजको तीतो घुट्का पिएर जीवन धान्न कति गाह्रो पर्दोरहेछ भन्ने कुरा मैले अनुभव गरेको छु ।’ (आत्मकथा २०४० पृ. ११६) ‘जीवन धान्न कति गाह्रो पर्दोरहेछ’ भन्ने अभिव्यक्ति, भौतिकवादी र व्यक्तिवादीहरूको लागि भलै असफल भएको देखिए पनि युग द्रष्टा अभियन्ताको लागि प्रसव पीडा जस्तै हो, सुखानुभूति हो ।
मुक्तिनाथले २००१ सालमा हलो जोतेर शुरू गरेको अभियान आज ७० वर्ष पुगेको छ । यो वर्ष उनको सतवार्षिकी पनि हो । उनकै अभियानले गर्दा आज सामाजिक विभेद, छुवाछूत, लैङ्गिक शोषण आदि विसङ्गतिको विरूद्ध आवाज उठाउने खुल्ला वातावरण आएको छ, तर उनी र उनको त्यस बेलाको अग्रगामी कदम र व्यवहारको कहीँ कसैले चर्चा गरेको देखिदैन, बरू रूक्माङ्गद कटवालको जीवनीको चर्चा गरेको पाइन्छ । नेपाली समाज अझै कति अवसरवादी र इतिहास प्रति कृतघ्न रहेछ । सबैसँग मेरो प्रश्न छ, ‘यो दीर्घ रोगको अन्त्य कहिले होला, वा हुँदैहुँदैन ?’
केवल उनका छोराहरू र केही शुभचिन्तकको सक्रियताले ‘पं. मुक्तिनाथ स्मृति प्रतिष्ठान’ स्थापना भएको छ । उनको देनको अमर सम्झना गर्ने उद्देश्य यो संस्थाको रहेको छ । आशा र भरोसा छ यस प्रतिष्ठानले पं. मुक्तिनाथको समाज परिवर्तन (सुधार) को अभियानलाई समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म सुधार ल्याउनमा सक्रिय रहने छ । तर सहयोग र अर्थको अभावले यो संस्था धेरै सक्रिय हुन सकेको छैन । केवल बिन्ध्यवासिनी उ.मा.वि. मा पढ्ने दलितमा पारिएका सबभन्दा जेहेनदार एक जना छात्र र एक जना छात्रालाई उनीहरूको अध्ययनमा सहयोग होस् भन्ने हेतुले केही छात्रवृत्ति प्रदान गरिएको छ । पं. मुक्तिनाथप्रति सम्झना गर्दै उनले थालेको समाज परिवर्तनको अभियानलाई अघि बढाउनु आजको आवश्यकता हो ।
साभार ः सुनाखरी सन्देश
साभार ः सुनाखरी सन्देश
Post a Comment