सभामुख सुवासचन्द्र नेम्वाङले नयाँ संविधान जारी गर्नुपर्ने चुनौती पा गरिएको भएपनि अब संविधानको कार्यान्वयन त्यत्तिकै चुनौतीपूर्ण रहेको बताएका छन् । पोखरामा रिपोर्टर्स क्लब नेपालको ‘राष्ट्रिय भेला तथा संविधान प्राप्तिपछिका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानसभा द्वारा संविधान बनाउनुपर्छ भन्ने २००७ सालदेखि जनताको चाहना अनुसार नै संविधान बनेको बताए । उनले जनताले बनाएको संविधान स्वीकार्य नभए अर्को संविधान बन्ने सम्भावना नरहेको स्पष्ट पार्दै विश्वकै सबैभन्दा समावेशी र अद्वितीय संविधान नेपालको भएको दावी गरे । ३१ दल मिलेर संविधान बनाएको प्रसङ्ग उल्लेख गर्दै नेम्वाङले शुक्रबाट शुरु हुने व्यवस्थापिका संसद बैठकले नै संविधानको कार्यान्वयन शुरु गर्ने जानकारी दिए । अहिले संसद नियमावली नभएकोले नियमावली बनाउन आवश्यक गृहकार्य आफूले शुरु गरिसकेको भन्दै सभामुख नेम्वाङले तत्कालका लागि काम चलाउने नियमावली बनाइने र त्यसपछि दीर्घकालसम्म चल्ने नियमावलीको मस्यौदा बनाउन समिति गठन गरिने बताए । काम चलाउन नियमावली बाट नै प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको निर्वाचन गरिने बताउँदै उनले भने–‘आफैले बनाएको संविधानको कार्यान्वयन दलहरुले संसदबाट नै शुरु गर्नुपर्छ ।’
नयाँ संविधानप्रति विभिन्न क्षेत्रबाट असन्तुष्टि प्रकट भइरहेको कुराप्रति लक्षित गर्दै सभामुख नेम्वाङले नेपालमा पहिलो पटक जनतामैत्री संविधान बनेकोले असन्तुष्टि प्रकट गर्नुको औचित्य नभएको स्पष्ट पारे । अमेरिकाको संविधान बन्दा ५२ प्रतिशतले समर्थन जनाएको र भारतमा ६५ प्रतिशतले समर्थन गरेको भएपनि नेपालमा ८५ प्रतिशतको समर्थनमा संविधान बनेको जानकारी दिंदै उनले भने–‘संविधानको पक्षमा २४१ जना खस÷आर्य र १६९ जना जनजाति तथा ९१ मधेशीहरुले समर्थन गरेको र संविधानको विपक्षमा रहेका ६० जना मध्ये ८ जना खस÷आर्य, १२ जना जनजाती, ३९ जना मधेशी र १ जना दलितमात्र रहेका छन् ।’
पछिल्लो समयमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाइनुपर्ने आवाज मधेश र भारतीय पक्षबाट उठेकोमा सभामुख नेम्वाङले आक्रोश व्यक्त गरे । भारतमा ४७ हजारदेखि २९ लाखसम्म जनसंख्या भएका निर्वाचन क्षेत्र छन् । त्यसैले पनि भुगोल र जनसंख्या दुवैलाई ध्यानमा राखेर निर्वाचन क्षेत्र बनाइएको कुरालाई बेठिक भन्नु न्याय संगत हुन नसक्ने उनले बताए । संविधान गतिशील र परिवर्तनशील हुने भएकाले असहमतिका बुँदालाई जनताका चाहना र भावना बमोजिम संशोधन गर्दै लैजान सकिने उनको भनाइ थियो । सभामुख नेम्वाङले संविधानको कार्यान्वयनलाई सहज र सफल बनाउन दलबीचको एकता अभैm बलियो हुनु पर्नेमा पनि जोड दिए । कार्यक्रममा रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले नेपालमा ६५ वर्षदेखिको जनचाहना अनुरुप संविधान जारी भएको र अब संविधानको कार्यान्वयन संगै देशको विकास शान्ति र स्थिरतामा राजनीतिक दलको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्मा, नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, रिपोटर्स क्लवका पश्चिमाञ्चल संयोजक राजबहादुर गुरुङ, कास्की जिल्ला अध्यक्ष वासुदेव मिश्र लगायतले क्लवका गतिविधि र संविधान निर्माण पछिको चुनौतीका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।
Post a Comment