गोल्डेन न्यूज संवाददाता
निर्माण व्यवसायी समिति लेखनाथको छैटौं अधिवेशनले किशानसिंह गुरुङ्गलाई अध्यक्षमा निर्वाचित गरेकोे छ । गुरुङ्ग तेश्रो पटक सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णुवहादुर भुजेल, उपाध्यक्ष टंक वहादुर थापा सचिवमा रामवहादुर गुरुङ्ग, सह–सचिवमा भविन पुन र कोषाध्यक्षमा प्रेमवहादुर थापा रहेका छन् । यस्तै सदस्यमा पूर्णवहादुर सुनार, इन्द्रकाजी श्रेष्ठ, कृष्ण वि.क, रामचन्द्र चौधरी र तेजवहादुर बस्याल रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले भवन निर्माण आचार संहिता अनुरुप काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । कार्यकारी अधिकृत भण्डारीले गत बैशाखमा गएको विनाशकारी भूकम्पले धेरै पाठ सिकाएको उल्लेख गरे । उनले विनाशकारी भूकम्पबाट सिकेर भवन निर्माण आचार संहिताको पूर्ण कार्यन्वयन गरे नागरिकको ज्यानको जोखिम कम हुने बताए । भण्डारीले नगरपालिकाले भवन निर्माण संहिताको कडाईका साथ लागु गर्ने स्पष्ट पारे । उनले निर्माण व्यवसायीले नाफा नोक्सान हेर्नु भन्दा पनि गुणस्तरीय निर्माणमा जोड दिनु पर्ने बताए । कार्यकारी अधिकृत भण्डारीले नगरको सुन्दरताका लागि पनि एकै खालका नक्सा र डिजाईनलाई प्रोत्साहन गर्न समेत व्यवसायीलाई आग्रह गरे । उनले नगरपालिकाले निकट भविश्यमा निर्माण व्यवसायीलाई तालिम दिएर इजाजत पत्र दिने र भवनको नक्सा पास गर्दा अनिवार्य रुपमा इजाजत पत्र संलग्न गर्नु पर्ने व्यवस्थालाई कडाई गरिने बताए । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बस्तुगत संघसंस्थालाई संघमा आवद्ध गराई व्यवसायिक तालिम दिईने उल्लेख गरे । समितिका अध्यक्ष किशानसिंह गुरुङ्गको अध्यक्षतमा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका इन्जिनियर जगन्नाथ कोइराला, लेखनाथ हार्डवयर एशोसियशनका अध्यक्ष ऋषिराम भण्डारी, पोखरा रेडिमिक्स्चरका अध्यक्ष नारायण गुरुङ्ग, समितिका संस्थापक अध्यक्ष कर्णवहादुर सुनार, लेखनाथ लायन्स क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग, दुलेगौडा निर्माण व्यवसायी समितिका अध्यक्ष खड्क वहादुर वि.क. आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पत्रकार भिमपाणि बराल लगायतले गुणस्तरीय निर्माणमा जोड दिएका थिए । कार्यक्रममा स्वागत समितिका बरिष्ठ उपाध्यक्ष विष्णुवहादुर भूजेल र संचालन सचिव रामवहादुर गुरुङ्गले गरेका थिए । छैठौं अधिवेशनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
Post a Comment