भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गालेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घोरेपानी घान्द्रुक हिमाली क्षेत्रको एकहप्ते पदयात्रापछि पर्यटकीय नगरी पोखरा, भक्तपुर र काठमाडौँका प्रमुख पर्यटकीयस्थल घुमेका सान्टमेरियाले नेपाल पर्यटकका लागि सुरक्षित रहेको बताए । “भुइँचालोले यहाँका संरचना पूरै भत्केको जस्तो गरेर सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेका थिए तर त्यो होइन रहेछ, बस्न खान होटल रेष्टुराँ, घुम्न पदयात्रा मार्ग र नाम चलेका पर्यटकीयस्थल सुरक्षित भएको पाएँ”–सान्टमेरियाले भने ।
नेपाल आफ्नो सपना भएको र घुम्न पाउँदा अतिनै रोमाञ्चित भएको बताउँदै उनले यहाँ घुम्ने धोको अझै नपुगेकाले आगामी मार्चमा आउने बताए । नेपाली जनजीवन, बालबालिका, संस्कृति र हिमाली क्षेत्रको फोटोमा रुचि राखेका उनले अस्टे«लियामा नेपालसम्बन्धी फोटो प्रदर्शनी गर्ने सोच बनाएका छन् । तीन हजार दुई सय मिटर उचाइको पुनहिलबाट देखिने धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पोखरा उपत्यकाको मनोरम दृश्य, भक्तपुर एवम् काठमाडाँैको नेवारी संस्कृति र यहाँको जनजीवनले आफूलाई बढी लोभ्याएको सान्टमेरियाले सुनाए । “नेपाल प्राकृतिक रूपमा साँच्चिकै सुन्दर छ र सुरक्षित छ, यो सन्देश विश्वभर फैलाउनु जरुरी छ”–दर्जन बढी देश घुमिसकेका सान्टमेरियाले नेपालपछि इन्डोनेसिया र मलेसिया उड्नुअघि भने । चौथो पटक नेपाल घुम्न आएका क्यानडाका ब्रुस एडवर्ड रोवटर्स र थिएर्से रोवटर्स भूकम्पपीडितलाई सघाउन र नेपालको अवस्था बुझेर विदेशीलाई घुम्न आउने सन्देश फैलाउन यसचोटी यहाँ आइपुगेका छन् ।
धेरै देश घुमेर भ्रमण कार्यक्रममा विशेष दक्खल राख्ने यो जोडीले दाता र भूकम्पपीडित बीच प्रत्यक्ष सम्पर्क गरी पीडितलाई सघाउन वेभसाइटमार्फत नेपालका लागि सहयोग अभियान पनि सुरु गरेका छन् । केही विद्यालय र घर एवम् पीडित बालबालिकाका लागि सहयोग जुटिसकेको उहाँहरूले बताए । “भूकम्पले विदेशी पर्यटकलाई नेपाल घुम्न अप्ठ्यारो छ कि भन्ने सोच भ्रममात्र रहेछ, घुमफिर र बस्नखान कुनै समस्या देखिएन बरु अहिलेको इन्धन समस्याले जनजीवनलाई असर गरेको रहेछ”–रोवटर्स दम्पत्तिले भने ।
काठमाडौँपछि पोखरा र त्यस क्षेत्रको एक महिने घुमघामका क्रममा रोवटर्स दम्पत्तिले वेभसाइट मार्फत भूकम्पपीडित क्षेत्रका विद्यालयसहितका सामुदायिक भवनहरू, घर तथा पीडित व्यक्तिको पहिचान गरी सहयोग जुटाउनेसमेत बताए । “हिमाल, ताल, नदीनाला, पहाड, विभिन्न भाषाभाषी, संस्कृति र आफ्नै मौलिक जनजीवन रहेको नेपाल सुन्दर र सुरक्षित रहेको सन्देश विदेशमा फैलाउन हामी पनि मद्दत गर्छौं”– भर्खरै कोरियाको भ्रमणपछि नेपाल आएका रोवटर्स दम्पतिले भने । वसन्तपुर दरबार क्षेत्रमा भेटिएका न्युयोर्क (अमेरिका) का फ्रान्जर गुन्टर दम्पत्तिले पश्चिमा मिडियाले भूकम्पले नेपाल पूरै ध्वस्त भएजस्तो गरेर चित्रण गरे पनि यहाँ आउँदा आफूले त्यस्तो नभएको महसूस गरे ।
केही संरचना भत्केका छन्, तर पर्यटकलाई बस्न, घुम्न र हेर्न कुनै असुविधा छैन म अमेरिका पुगेपछि यो सन्देश दिन चाहन्छु” –भुटान जाने तयारीमा रहेका उनीहरूले भने । भक्तपुर, पाटन, वसन्तपुर दरबार क्षेत्रजस्ता राजधानीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको चहलपहल देखिए पनि गतवर्षको दाँजोमा यो सङ्ख्यामा कमी आएको छ । भूकम्पले पर्यटकका घुमघाम, खानपिन र बसोबासका बारेमा उचित सूचना बेलैमा प्रवाह हुन नसक्दा यसपटकको पर्यटकीय मौसममा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
वसन्तपुर दरबार क्षेत्रको पर्यटक सूचना केन्द्रका अनुसार आव ०७१÷०७२ मा दुई लाख २७ हजार ११६ पर्यटक आएका थिए । उनीहरूबाट रु. १५ करोड ७० लाख राजस्व उठेको थियो । यो वर्ष असोजको तेस्रो सातासम्म पाँच हजार ५९३ पर्यटक आएका छन् । जबकि अघिल्लो वर्ष साउन महिनामा मात्रै २२ हजार २५५ र भदौमा १६ हजार पर्यटकले भ्रमण गरेका थिए । विगत पाँच वर्षदेखि सो क्षेत्रमा पर्यटक पथप्रदर्शकको काम गर्दै आएका सुजन रिजाल पनि राजधानीका मुख्य स्थलमा पर्यटकको चहलपहल देखिए पनि विगतको तुलनामा भने कमी रहेको बताउछन् । “भूकम्पले यहाँको पर्यटन क्षेत्रमा कुनै असर पुगेको छैन भन्ने सूचना बेलैमा दिन नसक्दा यो मौसममा पर्यटक घटेका हुन्, अहिलेको चहलपहल हेर्दा भने आउँदो मौसममा पर्यटक बढ्नेछन्”– पथप्रदर्शक रिजाल भन्छन् । रासस
Post a Comment