0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले वीपीको विचार नेपाली जनता र राष्ट्रका लागि प्रभावकारी भएको बताएका छन् । वीपी चिन्तन प्रतिष्ठान पोउमनपा वडा नं. ६ इकाई समितिद्वारा आयोजित कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले त्याग र उत्तरदायित्व वीपीबाट सिक्नुपर्नेमा जोड दिए । नेता कुँवरले मजदुरको सम्मानमा काँग्रेसले कसैसंग सम्झौता नगर्ने भन्दै वीपीको विचारमा हिंड्न काँग्रेस कार्यकर्तालाई आग्रह गरे ।  कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपानेले काँग्रेसका कार्यकर्ता देशका सिपाही भएकोले प्राप्ति र स्वार्थ केन्द्रीत नभै चिन्तक हुनुपर्नेमा जोड दिए । वीपी चिन्तन प्रतिष्ठानले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएकोमा रामजी कुँवरलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा वीपी चिन्तन प्रतिष्ठान कास्कीका संयोजक झविन्द्रराज आचार्य, सम्वाद नेपालका अध्यक्ष नीलकण्ठ शर्मा, नेपाली काँग्रेस वडा नं. ६ का सभापति दीपकवीर कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सदस्य एवं पत्रकार केदार धमला, महिला संघ वडा नं. ६ की सभापति मन्धरा ढकाल, प्रजातन्त्रका सेनानी होमबहादुर लामिछाने, कृष्णबहादुर कुँवर, समाजसेवी लक्की कार्की लगायतले वीपीको विचारलाई काँग्रेसले भुलेको भन्दै स्वार्थ केन्द्रीत राजनीति नगर्न नेतृत्वलाई सुझाव दिए । उनीहरुले गुट र उपगुटको पछाडि नलागी सिङ्गो काँग्रेस र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए । राम्रो काम गरे जनता प्रभावित हुने भन्दै उनीहरुले काँग्रेसको विचारलाई तल्लो तहसम्म पु¥याउन सवैको पहल हुनुपर्ने खाचों औंल्याएका थिए । प्रतिष्ठानका इकाई सभापति नेत्रपाणि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा इकाई सचिव लोकराज पहारीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन सल्लाहकार जगतबहादुर पहारीले गरेका थिए । यसैगरी काव्य प्रतिष्ठान,नेपाल ले साहित्यकार विश्वेश्वरप्रसाद प्रसाद कोइरालाको १०२औं जन्म जयन्ती पोखरामा विशेष समारोहका साथ मनाएको छ । कविवर तेजनाथ घिमिरेको अध्यक्षतामा कुमुदिनी होम्स उच्च माविमा आयोजित गोष्ठीमा कवि एवम् साहित्यकार ईश्वरमणि अधिकारीले विपिको राजनीतिक तथा साहित्यिक  योगदानको चर्चा गर्दै स्वान्त सुखायका लागि आफ्नो प्रारम्भिक लेखन यात्राको समयमा उनले लेखेका र फुट्कर रूपमा प्रकासित उनका कविताहरुमा पाइने काव्यिक सौन्दर्यको बारेमा प्रकाश पारे । उनलाई कविका रुपमा भन्दा पनि कवितालाई प्रेम गर्ने वरिष्ठ आख्यानकार का रुपमा संझनु पर्ने र त्यही अनुसार नै उनका कविताहरुलाई लिनु पर्ने बताए । कार्यक्रम को औचित्य माथि प्रकाश पार्दै उनले करिब डेढ वर्ष अघि कवि तीर्थ श्रेष्ठको नेतृत्वमा गठन भई विस्तार कै क्रममा रहेको बताए । उनले प्रतिष्ठानले आफ्नो पहिलो कार्यक्रममा नै राष्ट्रकवि माधव प्रसाद घिमिरेको काठमाडौंमा काव्य संवाद कार्यक्रम सम्पन्न गरेको भए पनि पोखरामा भने यही नै पहिलो  औपचारिक कार्यक्रम रहेको जानकारी दिए । काव्य विधालाई केन्द्रमा राखेर भविष्यमा यस्ता कार्यक्रमहरु गर्दै जाने र यस काव्य प्रतिष्ठानलाई  मुलुकभरका कविहरुको साझा प्रतिष्ठानका   रुपमा विस्तार गर्ने आकांक्षाका साथ  अगाडि बढी रहेको उनले बताए ।   प्रतिष्ठान कै सदस्य कवि जीवन सागर भण्डारीले संचालन गरेको कार्यक्रममा कविहरु गनेस पौडेल, सरस्वती प्रतीक्षा, युक्ता बज्राचार्य, जीवन सागर भण्डारी र रङ्गकर्मी प्रकाश घिमिरेले विपिका  विभिन्न कविताहरु वाचन गरेका थिए । कार्यक्रमका वरिस्ठ कलाकार दुर्गा बरालले बिपिसंगका आफ्ना संस्मरणहरु सुनाउँदै उनलाई  अथाह ज्ञान र प्रतिभा भएको राजनेताका रुपमा चर्चा गरे । मूलतः राजनेता र साहित्य कार हुँदा–हुँदै पनि उनीसंगको भेट्मा उनले कलाका विषयमा राखेको धारणा र जानकारी बाट उनमा भएको अथाह ज्ञान र अध्ययनशीलताले उनी सामान्य मान्छे भन्दा धेरै माथिल्लो कोटीको महामानव भएको बताए । कार्यक्रम का सभापति कविवर तेजनाथ घिमिरेले विपिका बिराट व्यक्तित्वको चर्चा गर्दै उनीसँगका आफ्ना संस्मरणहरु सुनाउँदै विपिका रचनाहरुमा पाइने काव्यिक विशेषताको प्रशंसा गरेका थिए ।

Post a Comment

 
Top