गोल्डेन न्यूज संवाददाता
कांग्रेस कास्कीका नेता रामजी पौडेल ‘बादल’ को हत्या आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने रिहा भएका छन् । प्रहरी अनुसन्धानमा उनको कुनै संलग्नता नदेखिएकाले छाडिएको बताइन्छ । गत साउन २८ गते राति लेखनाथ १२ गगनगौंडामा भएको बादल हत्याकाण्डमा संलग्नताको आशंकामा साउन ३० गते पक्राउ परेका लामिछाने २६ दिनपछि बुधवार रिहा भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने बिरुद्ध मुद्धा नचल्ने जानकारी सहित रिहा गर्नका लागि पठाएको पत्रको आधारमा छाडिएको कास्की प्रहरीले जनाएको छ । छानविनको क्रममा उनी विरुद्ध मुद्धा चलाउने कुनै प्रमाण नभेटिएकाले रिहा गर्नका लागि सरकारी वकिलको कार्यालयले प्रहरीलाई बुधवारनै पत्राचार गरेपछि आफन्तको जिम्मामा छाडिएको हो । लामिछानेले हिरासतमा रहेका बेला पनि आफ्नो संलग्नता पुष्टिभए कारबाही गर्न भन्दै संलग्न जो कोही भएपनि छिटो पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग राखेका थिए । हत्यामा प्रत्यक्ष संलग्न रहेका मध्य पक्राउ परेका चार जना र उनीहरुलाई भगाउन सहयोग गर्ने पाँच जनालाई कास्की प्रहरीले भदौ १० गते सार्वजनिक गरेका थियो । घटनामा प्रत्यक्ष संलग्नताको आरोपमा पक्राउ परेका लेखनाथ १६ घर भई लेखनाथ १२ बस्ने ३० वर्षीय राजु रानाभाट, लेखनाथ १३ का ३० वर्षीय प्रकाश गुरुङ, लेखनाथ १३ सुकुम्वासी टोल बस्ने २० वर्षीय बले गुरुङ भन्ने अशोक गुरुङ र लेखनाथ १२ का २५ वर्षीय विश्वास गौतममाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हत्यामा प्रत्यक्ष संलग्न भनिएका लेखनाथ १२ का २४ वर्षीय रविन केसी अझै फरार छन् । हत्यापछि अभियुक्तहरुलाई भगाउन सहयोग पु¥याउने पाँच मतियार विरुद्ध पनि प्रहरीले मुद्धा दायर गरेको छ ।
Post a Comment