0
गोल्डेन न्यूज संवाददाता
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा आयोजित हरितालिका तीज महोत्सव–२०७२ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता जारी छ । तीजको दिन बुधबारसम्म चल्ने महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतिले माहोल रमाइलो बन्न पुगेको छ ।
 
मंगलबार लोकदोहोरीगायक प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जानकी तारणी मगर, ज्योति लोहनी, पार्वती न्यौपानेलगायतका कलाकारहरुले आ आफ्नो प्रस्तुति राखेका थिए । बुधबार शर्मिला गुरुङ, मंजु बिक, रमिला न्यौपाने, रामजी न्यौपाने, रामजी पौडेल लगायतका कलाकारले प्रस्तुति राख्ने प्रचार संयोजक अर्जुन अधिकारीले बताए ।  महोत्सवमा तीज गीत प्रतियोगिता पनि जारी छ । प्रतियोगितामा १७ टिमको सहभागिता छ । प्रथम पुरस्कारको प्रायोजन लायन्स क्लब अफ आदर्शले गरेको छ । महोत्सवको दोस्रो दिन प्रधानमन्त्रीका प्रशासकीय सल्लाहकार बाबुराम आचार्य प्रमुख अतिथि थिए । महोत्सवको अन्तिम दिन नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीको उपस्थिति रहने आयोजकले जनाएको छ ।
 
यसैबीच, अमरबहादुर बानियाँले प्रायोजन गरेको नरबहादुर बानियाँ स्मृति सितरियो कराँते सम्पन्न भएको छ । अन्तिम दिन महिला म्यूजिक चियर, घैटो फुटाउने, टायरमा बल छिराउने तथा पत्रकार दौड एवं श्रेष्टा सम्मान कार्यक्रम लगायतका आकर्षण पनि संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीले बताए । नेपाली कला, सँस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको १९ औं वार्षिकोत्सवको अवसर पारी स्थानीय इन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा महोत्सव आयोजना गरिएको हो । कैलास विकास बैकको मुख्य प्रायोजनमा आयोजित महोत्सवमा खानाका तथा विभिन्न प्रदर्शनीका स्टलहरु पनि राखिएका छन् ।

Post a Comment

 
Top