गोल्डेन न्यूज संवाददाता
यसवर्ष दशंै–तिहार बीचमा पोखरा रंगशालामा कलाकारको जमघट हुने भएको छ । बक्स अफिसले पोखरा रंगशालामा कात्तिक २१ गते मैत्रीपूर्ण फुटबलका लागि फिल्म कलाकारहरुलाई फुटबल मैदानमा उतार्न लागेको हो ।त्यसको स्थानीय संयोजन कास्की जिल्ला फुटबल संघको सहयोगमा फेवा व्यवसायी समूहले गरेको छ । समितिले पोखरामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।
एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पुरानादेखि नयाँ फिल्म कलाकारहरु मैदानमा उत्रिनेछन् । जसमा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, धिरेन शाक्य, लिखित उप्रेती, सुमन सिंहलगायतको उपस्थिति रहनेछ । कास्की जिल्ला फुटबल संघ र कलाकारहरुबीच हुने सो प्रतियोगिता अवलोकनका लागि ५ सय रुपैयाँ टिकट दर तोकिएको छ । भूकम्पपछि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा एवं समग्र खेलकुदमा पनि यो प्रतियोगिताले सघाउ पु¥याउने एन्फा उप–महासचिव गणेशबहादुर भट्टराईको भनाइ छ ।
पत्रकार सम्मेलनमा उपस्थित अभिनेता धिरेन शाक्यले प्रतियोगिता सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले टीममा आफू क्याप्टेनको रुपमा देखिदैआएको र पोखराको प्रतियोगिता स्वस्थ मनोरञ्जनात्मक हुने बताए । बक्स अफिसका अध्यक्ष आर.के. सुवेदीले आफूहरुले स्वदेश एवं विदेशमा पनि कलाकारहरु उतार्दैआएको बताउँदै पोखरामा हुने मैत्रीपूर्ण फुटबलले यहाँको खेलकुद पर्यटनमा सघाउ पुग्ने बताए । खेलकुद पत्रकार मञ्च कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछानेले प्रतियोगिताको सफलताको शुभकामना दिए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमसिंह लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम संचालन सदस्य रामकृष्ण बाँस्तोलाले गरेका थिए ।
Post a Comment