0
गोल्डेन न्यूज संवाददाता
नेपाली एफएम रेडियोमा कार्यरत पत्रकार महिलाहरुको एक टोली भारतका विभिन्न एफएम रेडियो तथा सञ्चारसँग सम्बन्धित संस्थाहरुको अवलोकन गरि नेपाल फर्केको छ । भारतस्थित नेपाली दूतावास, विपी कोइराला फाउण्डेशनको सहयोग तथा साउथ एसिया फाउण्डेशनको समन्वयमा नेपालबाट ५ जना रेडियो पत्रकारहरुको टोलीले अवलोकन भ्रमण गरेको हो । टोलीले दिल्लीमा रहेको भारतस्थित नेपाली दूतावाससँगै जागरण इन्स्टिच्युट अफ म्यानेजमेण्ट एण्ड मास कम्युनिकेशन, इण्डिया इन्स्ट्रिच्युट अफ मास कम्युनिकेसन, ईन्डिया टुडे मिडिया ईन्स्टिच्यूटका साथै अपना रेडियो र रेडियो सिटीको अवलोकन गरेको छ । अवलोकन भ्रमण टोलीसँग भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालमा अहिले जारी राजनीतिक अवस्थाका बारेमा जानकारी लिंदै संविधान निर्माणका लागि सबै दलहरुको सहमति आवश्यक रहेको बताए । उपाध्यायले संविधान निर्माणका लागि सबै सकारात्मक हुन जरुरी रहेको भन्दै पहिले संविधान जारी गरिसकेपछि पनि छुटेका या मिलाउनुपर्ने कुराहरुका बारेमा छलफल गर्न सकिने उल्लेख गरे । प्रदेश विभाजनका क्रममा अहिले देखिएको आन्दोलनका कारण देश झन्–झन् अस्थिरतातर्फ उन्मुख भएको उनको भनाई थियो । टोलीले त्यस अवसरमा भारतीय संचार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग नेपाली संचार माध्यमको अवस्था, उनीहरुले गरिरहेको काम तथा समाजका लागि पु¥याएको योगदानको बारेमा जानकारी गराउँदै भारतीय संचार माध्यमको बारेमा पनि जानकारी लिएका थिए । टोलीमा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीसँगै रेडियो तरङ्गका रविना आलेमगर, सिद्धार्थ एफएम भैरहवाका उषाकिरण कडेँल, रेडियो नेपालका सुम्मिता दवाडी र रेडियो सफलताका अन्जु बराल सहभागी थिए । नेपालका विभिन्न स्थानमा कृषिको माध्यमबाट महिला सशक्तिकरण तथा आर्थिक आयआर्जन साथै विभिन्न कार्यक्रमहरु गर्दै आएको साउथ एसिया फाउण्डेशनले नेपालमा संचालित स्थानीय रेडियोले कार्यक्रमको माध्यमबाट महिला सशक्तीकरण तथा समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकाल्दै भ्रमणका लागि पहल गरेको हो ।

Post a Comment

 
Top