गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लाको घान्द्रुक गा.वि.स.लाई पूर्णखोप सुनिश्चत गा.वि.स. घोषणा गरिएको छ । गा.वि.स.मा भएका १२ महिनादेखि २४ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले १ वर्ष भित्र नै सम्पूर्ण खोपहरु पाईसकेको तथा आगामी दिनमा जन्मेका सम्पूर्ण बालबालिकाहरुलाई समयमै पूर्णखोप लगाउने प्रतिवद्घता सहित गा.वि.स.लाई पूर्णखोप सुनिश्चित गा.वि.स. घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सभासद सीता गिरी ओली रहेकी थिइन । कार्यक्रमको उद्घाटन गर्दै उनले उपस्थित सम्पूर्ण महानुभावहरुलाई प्रतिबद्घता पढाएकी थिइन भने गा.वि.स.लाई पूर्णखोप सुनिश्चित गा.वि.स.को प्रमाण पत्र हस्तान्तरण गरिन् । त्यस अवसरमा बोल्दै उनले पूर्णखोप सुनिश्चितताको सफलताको कामना व्यक्त गर्दै सरकारबाट प्रदान गरिएका सेवाहरुको उपयोग गर्न जनताहरु सचेत रहनुपर्नेमा जोड दिइन । सभासद गिरीले आर्थिक तथा भौतिक विकासको साथसाथै मानसिक तथा सामाजिक विकास हुनु पनि महत्वपूर्ण रहेको बताइन । मुलुक संविधान निर्माणको प्रक्रियामा रहेको र असहमत पक्षलाई पनि सहमतिमा ल्याएर छिट्टै संबिधान सभाबाट संबिधान जारी गरिने उनले बताइन । कार्यक्रममा पश्चिामाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाद घिमिरे, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस गांउ समिति अध्यक्ष भुवनेश्वर गुरुङ्ग, नेकपा एमाले गांउ समिति अध्यक्ष क्षेत्र बहादुर गुरुङ्ग, महिला स्वास्थ्य स्वयंसेविका हरिमाया गुरुङ्ग लगायतले आफ्नो भनाइ राखेका थिए । गा.वि.स. सचिव ईश्वरी प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकीकी अनमी प्रतिमा अधिकारीले संचालन, संजीवनी स्वास्थ्य अभियान घान्द्रुकका संयोजक चुडामणि पन्तले स्वागत गरेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख बिक्रम भुंवाजीले पूर्णखोप सम्वन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले पूर्णखोपको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए । त्यस अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो । त्यसअघि पञ्चेबाजा सहितको र्यालीले गाउँ परिक्रमा गरि शुरु भएको घोषणा समारोहमा महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा स्थानीय कलाकारहरुद्वारा स्वास्थ्य सम्बन्धी चेतनामूलक गीतहरु, मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृत एकनारायण लम्सालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैबीच स्थानीय समाजसेवी एवं संयुक्त स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष शंकर बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न अर्को एक कार्यक्रममा सभासद सीता गिरी ओलीले घान्द्रुक स्वास्थ्य चौकी तथा कर्मचारी आवास गृहको नवनिर्मित भवनको उद्घाटन गरिन् । उक्त अवसरमा स्वास्थ्य चौकी कर्मचारी आवास गृह तथा जग्गादाता समाजसेवी प्यारी गुरुङ्ग तथा स्वास्थ्य चौकी भवन निर्माणमा सहयोग तथा योगदान गर्नेहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष तिल बहादुर गुरुङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने रोधी क्लवका अध्यक्ष पूर्ण प्रसाद गुरुङ्ग, एक्याप प्रतिनिधि आनन्द सुवेदी शिक्षक रामेश्वर सुवेदी, समाजसेवी जगनसुवा गुरुङ्ग, प्यारी गुरुङ्ग लगायतले आ–आफ्नो भनाइ राखेका थिए भने स्वास्थ्यचौकीका अहेव सुरेन्द्र आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
Post a Comment