0
गोल्डेन न्यूज संवाददाता
उडानको झण्डै दुई दशक पछि नेपाली पाइलटले प्याराग्लाइडिङ उडानको ‘लाइसेन्स’ प्राप्त गरेका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराको आकाशमा लामो समयदेखि प्याराग्लाइडिङ उडान गरिरहेका व्यवसायिक पाईलटहरुलाई अस्थायी लाईसेन्स वितरण गरेको हो । नेपाल हवाई खेलकुद संस्था (ना) ले सोमवार पोखरामा एक कार्यक्रम गरी एक सय तीन व्यवसायिक पाईलटलाई सामूहिक रुपमा लाईसेन्स वितरण गरेको छ । लाईसेन्स प्राप्त गर्नेमा तीन महिला छन् । पोखरामा व्यवसायिक उडान गरिरहेका एक सय २० पाईलट मध्ये अन्यलाई लाईसेन्स वितरणको काम अब नियमित हुने संस्थाका महासचिव बसन्तराज दवाडीले बताए ।
 
लाईसेन्स पाएसँगै शहासिक पर्यटकीय गन्तब्यको नमुना प्याराग्लाईडिङ व्यवसाय र यसमा आबद्ध नेपाली पाईलटले वैधानिकता प्राप्त गरेका छन् । विना अनुमतिपत्र यात्रु लिएर आकाशमा उड्दा जोखिम मोल्दै आएका नेपाली पाईलट अब भने ढुक्क छन् । किनकी १९ बर्षपछि नेपालमै उडान अनुमति पत्र लिने व्यवस्था सुरु भएको हो । नयाँ हवाई खेलकुद नियमावली लागू भएसंगै नेपाल नागरिक उड्ययन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्था
 
(ना) को समन्वयमा अस्थायी उडान अनुमति पत्र वितरणको काम सुरु भएको हो । पोखराको आकाशमा प्याराग्लाइडिङ उडानका लागि अहिले करिब ४५ वटा कम्पनी छन् । ती कम्पनीले सिजनका बेला एकैदिन सयौं पर्यटकलाई आकाशमा उडाउँदै आएका छन् ।
 
कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अस्थायी लाईसेन्स प्राप्त गरेकाहरुलाई केही समयपछि स्थायी लाईसेन्स प्रदान गरिने बताए । त्यस्तै अल्ट्रालाईट पाईलटका लागि पनि लाईसेन्स वितरण गर्ने तयारी भैरहेको उनले बताए । नेपाली पाईलट उत्पादनका लागि प्याराग्लाईडिङ स्कूल सञ्चालन गर्ने पनि उनले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थन सञ्चालनमा आएपछि अहिले उडान भरिरहेका क्षेत्रको विकल्प खोज्नुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थल बने अबको चार बर्षपछि प्याराग्लाईडिङ व्यवसाय विस्थापित हुने उनले संकेत गरे । पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेश बहादुर भट्टराईले जताभावी व्यवसाय विस्तार हुँदा जोखिम बढ्ने तर्फ सचेत गराए । उनले आवश्यकता र सम्भावनालाई हेरेर सुरक्षालाई ध्यान दिंदै अघि बढ्नुपर्ने खाचो औंल्याए । ना का कार्यवाहक अध्यक्ष सोवित बानियाँले लाईसेन्स प्राप्त गरिसकेका पाईलटहरुलाई मर्यादित भई काम गर्न आग्रह गरे ।

Post a Comment

 
Top