गोल्डेन न्यूज संवाददाता
पोखरामा प्रधान कार्यालय रहेको ‘क’ वर्गको बित्तीय संस्था माछापुच्छ«े बैंक र जनता बैंक बीच मर्जर सहमतिमा हस्ताक्षर भएको छ । ६ महिनाभित्र मर्जर गर्ने उद्देश्य सहित माछापुच्छ«े बैंकका अध्यक्ष विरेन्द्र प्रसाद महतो र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले सोमवार विस्तृत सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । गत असोज ३ गते दुवै बैंक बीच मर्जर गर्ने प्रारम्भिक सहमति अनुसार विस्तृत सहमतिमा हस्ताक्षर भएको सोमबार दुवै बैंकको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो । माछापुच्छ«े बैंकका अध्यक्ष विरेन्द्र प्रसाद महतो संयोजक रहेको ६ सदस्यीय मर्जर समिति समेत गठन गरिएको छ । मर्जर प्रक्रिया सम्पन्न गर्न माछापुच्छ«े बैंकका तर्फबाट महतो सहित सञ्चालक रोशनी केसी, ज्ञान प्रसाद कर्माचार्य र जनता बैंकको तर्फबाट सञ्चालकहरु गुरु प्रसाद न्यौपाने, केशव रायमाझी, भीमानन्द ढुंगाना रहेका छन् । मर्जपछि कायम हुने बैंकको नाम र सञ्चालक समितिमा पहिल्यै सहमति भैसकेको छ । मर्जरपछि बन्ने बैंकको नाम माछापुच्छ्रे बैंकनै हुनेछ । नयाँ बन्ने बैंकको अध्यक्षमा हाल माछापुच्छ«े बैंकका अध्यक्ष महतोनै रहने र ९ सदस्यीय सञ्चालक समितिमा माछापुच्छ«ेको तर्फबाट ५ तथा जनता बैंकको तर्फबाट ३ जना तथा विशेषज्ञ सञ्चालक एक जना रहने सहमति भएको छ । हाल माछापुच्छ्रे बैंकको चुक्ता पूँजी २ अर्ब ९५ करोड तथा जनता बैंकको चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व ७१ करोड रुपैयाँ पुग्नेछ । माछापुच्छ«े बैंक हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको अध्यक्ष महतोले जानकारी दिए । मर्जरको प्राथमिक सहमति पछि असोज ४ गते देखिनै दुवै बैंकको शेयर कारोवार भने रोक्का रहेको छ । मर्जरपछि बन्ने नयाँ बैंकको ९२ शाखा तथा ९८ वटा एटिएम हुनेछ ।
Post a Comment