0
गोल्डेन न्यूज संवाददाता
इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा साहित्यिक पुस्तकालय स्थापना भएको छ । इन्जिनियरिङ्ग साहित्यिक सञ्जाल (इन्सास) ले इन्सास कर्नर नामक पुस्तकालय स्थापना गरेको हो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकहरुमा पठन संस्कृतिको विकास गर्नका लागि पुस्तकालय स्थापना गरि साहित्यको प्रवद्र्धन तथा साहित्यको माध्यमबाट प्रविधिलाई थप सिर्जनशील र बौद्धिक बनाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको इन्सास अध्यक्ष विष्णु रिजालले जानकारी दिए । पुस्तकालयको संस्कृतिकर्मी तथा साहित्यकार तीर्थ श्रेष्ठले उद्घाटन गरेका छन् । त्यस अवसरमा बोल्दै कवि श्रेष्ठले पुस्तकालयले पठन संस्कृतिको विकास गर्दै साहित्यको मूल्य तथा महत्व बृद्धि गर्ने र यसले साहित्यप्रतिको अभिरुचि विकास गर्ने बताए । ‘भविष्यका इन्जिनियरहरुले पुस्तकालय स्थापना गरेर उदाहरणीय काम गरेका छन्’ कवि श्रेष्ठले भने–‘पुस्तकालय स्थापना गर्न युवाहरुले गरेको उर्जाशील प्रयास देख्दा खुसी लागेको छ ।’ यसैगरी ¥याण्डम रिडर्स अफ नेपालका अध्यक्ष गनेस पौडेलले पोखराका पठन संस्कृतिको विकास हुँदै गएको भन्दै एक महिनामा एक पुस्तक पढ्नै पर्ने र त्यसले जीवन जिउने कला सिकाउने भनाइ राखे । क्याम्पस प्रमुख नारायण गौतमले इन्जिनियरिङ्गका विद्यार्थीहरुले क्याम्पसमा पुस्तकालय स्थापना गरेर क्याम्पसको गरिमा बढाएको बताए । उनले प्राविधिक ज्ञान सँगै पुस्ताकालयले सिर्जनशील हुन सहयोग गर्ने भन्दै इन्सास कर्नरका लागि क्याम्जसले संरक्षण र सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘क्याम्पसका देशभरका विद्यार्थीहरु अध्ययनरत छन् । धेरै विद्यार्थीको साहित्यप्रति रुचि रहेको पायौं’ अध्यक्ष रिजालले भने–‘विद्यार्थीहरुको चहानालाई मध्यनजर गर्दै हामीले सबैको सहयोगमा पुस्तकालय स्थापना गरेका हौं ।’ साहित्यिक कर्ममा लागेका व्यक्तिहरुको साथ र सहयोगले पुस्तकालय स्थापना गर्न सफल भएको उनले बताए । पुस्तकालयका लागि पोखरा तथा देशका विभिन्न साहित्यकार तथा साहित्यकर्मीले पुस्तक तथा आर्थिक सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको इन्सासले जनाएको छ । कार्यक्रममा मोती भुजेल, लोकनाथ पुडासैनी, शिव त्रिपाठी, शरण आसुँ लगायतले बोलेका थिए । कार्यक्रममा टिका रेग्मीले इन्सास कर्नर अवधारणाका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । पुस्तकालयमा अहिले देश तथा विश्व प्रशिद्ध लेखकका चर्चित कृतिहरु रहेको सचिव सन्दिप गौतमले बताए । पुस्तकालय उद्घाटनसँगै विशेष साहित्यिक रचना वाचन पनि भएको छ । विभिन्न समयमा विभिन्न साहित्यिक कर्म गर्दै आएको साहित्यिक सञ्जालले साहित्यको विकासका लागि काम गर्दै आएको छ । सञ्जालले कविता, गजल, मुक्तक लगायतका विधाका विभिन्न अन्तक्र्रिया, छलफल र रचना वाचन कार्यक्रम गर्दै आएको छ ।

Post a Comment

 
Top