0
गोल्डेन न्यूज संवाददाता
पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप २०७२ अन्तर्गत आइतबार भएको खेलमा पोखरा क्रिकेट क्लव र वारियर्स क्रिकेट क्लवले विजयी शुरुवात गरेको छ । आइतबारको पहिलो खेलमा वेष्ट्रन क्रिकेट क्लव बाग्लुङ्गले टस जितेर पोखरा क्रिकेट क्लवलाई व्याटिङ्गको निम्तो दिंदा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रनको विशाल योगफल तयार पारेको थियो । पोखरा क्रिकेटका तर्फबाट अनिल गुरुङ्गले ५८ बलमा १ सय १२ रनको योगदान दिए । बलिङ्गमा वेष्ट्रनका प्रकटले १ विकेट हात पारे । २ सय २० रनको विशाल लक्ष्य पाएको वेष्ट्रन १५.४ ओभरमा १ सय १८ रनमा समेटिन पुगेको थियो । वेष्टूनका अभिषेकले २० रनको योगदान गरे । बलिङ्गमा पोखरा क्रिकेटका सुजनले ४ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दी म्याच पोखरा क्रिकेट क्लवका अनिल गुरुङ्ग घोषित भए । आइतबार नै भएको दोस्रो खेलमा पोखरा वारियर्स क्रिकेट क्लवले रामबजार व्वाइज क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जिटेर पहिले ब्याटिङ्ग गरेको रामबजारले १९ ओभरमा सवै विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । रामबजारका तर्फबाट सचिनले २३ रनको योगदान दिएका थिए । पोखरा वारियर्सका रोशन पौडेलले २ विकेट लिन सफल भए । १ सय १९ रनको लक्ष्य पाएको पोखरा वारियर्सले प्रभाकरको २९ रन र सनिस थापाको २८ रनको मद्दतले १६ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पार गरेको थियो । रामबजारका दिलिपले २ विकेट हात पारे । उक्त खेलको म्यान अफ दी म्याच पोखरा वारियर्सका रोमन पौडेल घोषित भए । दुवै खेलको म्यन अफ दी म्याचलाई क्लवका अध्यक्ष दामोदर बराल र समाजसेवी खिम बहादुर केसीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमवार २ खेलहरु हुनेछन् । पहिलो खेल विहान ९ः१५ बजे म्याजिक क्रिकेट क्लव पोखरा र स्याङ्गजा युनाइटेड क्लव स्याङ्गजाका बीच र दोस्रो खेल दिउँसो १ बजे पोखरा क्रिकेट एकेडेमी पोखरा र धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गका बीच हुने आयोजक सदस्य सन्तोष बरालले जानकारी दिए । सोमवारको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीले म्याजिक क्रिकेट क्लवका तर्फबाट सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता मालेपाटनको खेलमैदानमा भैरहेको छ ।

Post a Comment

 
Top