0
गोल्डेन न्यूज संवाददाता
नेपाली महिलाहरुले तीजको आगमन संगै दरखाने कार्यक्रममा सरिक भइरहँदा पोखराको अमरसिंहचोकमा दर खाएर फर्कंदै गरेकी एक युवतीको बसको ठक्करबाट मृत्यु भएको छ । पोखराको छिनेडाँडामा आफ्नी दिदीको घरमा दर खाएर आफ्नो घर पोखरा–८, सिमलचौर फर्कंदै गरेकी जमुना पहारी अर्यालको बसको ठक्करबाट मृत्यु भएको हो । आफ्नो स्कूटर चलाएर सडक किनाराबाट आउदै गरेकी उनलाई लेखनाथबाट पोखरा आउँदै गरेको ना५ख ३४० नम्बरको लेखनाथ मिनि माइक्रोबसले पछाडिबाट ठक्कर दिएको थियो । बसले ठक्कर दिएपछि पहारी सहित स्कूटर लडेपछि बस सिधै अगाडि बढाएर उनलाई किचेको थियो । बसको चक्काले किचिएर पहारीको शरीर र टाउको क्षतविक्षत भएपनि शरीरको तल्लो भाग सामान्य जस्तै लाग्थ्यो । उनको खुट्टामा चप्पल समेत यथास्थितिमा रहेको थियो । स्कूटरको पछाडि बसेकी उनकी दिदी सावित्री बरालकी छोरी एलिशा बराल भने स्कूटर लड्न पुग्दा सडक किनारमा पुगेकोले सामान्य घाइते भएकी छन् । मृतक जमूनाको माइती पोखरा–६ बैदाम हो भने घर स्याङ्जा भएपनि हाल पोखरा–८ फिर्केमा बस्दै आएका थिइन । करिब ४ वर्ष अघि मात्रै जमूनाको विवाह लोकेन्द्र अर्याल संग भएको थियो । घटना विवरण अनुसार जमुना सहित उनकी दिदी सावित्री बराल, दुर्गा अधिकारी र छोरी एलिशा बराल छिनेडाँडास्थित अर्की दिदी राधा बरालको घरमा दर खान पुगेका थिए । दर खाएर रमाइलो गरि उनीहरु दिउसो ३ः१५ बजे छिनेडाँडाबाट अमरसिंहचोक आइपुग्दा उक्त दुर्घटना भएको हो ।
दुर्घटना हुँदा दुर्गा अधिकारीले चलाएको स्कूटर भने बुद्धचोकमा आइपुगेको थियो । त्यसपछि घाइते भएकी एलिशाले खबर गरेपछि बुद्धचोकबाट दुर्गा र सावित्री फर्किएर घटनास्थल पुगेका थिए । आफ्नी बहिनीसंगै दर खाएर फर्किएको अवस्थामा कल्पनासम्म  गर्न नसक्ने किसिमको घटना आँखा अगाडि देखिएपछि दुर्गा र सावित्री भावविह्वल बनेका थिए । स्थानीय सार्वसाधारणहरु समेत बस चालकको लापर्वाहीका कारण दुर्घटना भएको भन्दै आक्रोशित बनेका थिए । उनीहरुले बसमा सामान्य तोड्फोड गरेका छन् । दुर्घटना पश्चात मृतकका आफन्त र आक्रोशित स्थानीयले करिब ४ घण्टा त्यहाँको सडक अवरुद्ध पारेका थिए ।
यसैबीच मृतक जमुनाकी दिदी दुर्गा अधिकारीले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै बस चालकलाई हदै सम्मको कार्वाही गर्न माग गरेकी छन् । उनले मृतक जमूनाको नाम सधैं जीवन्त राख्न अक्षयकोष निर्माण गर्नुपर्ने खाँचो समेत औंल्याएकी छन् ।

Post a Comment

 
Top